३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अलैंची खेती रोज्छन् महिला

ताप्लेजुङ — महिला र पुरुषका लागी समान पारिश्रमिक हुने भएकाले श्रमिक महिलाको पहिलो रोजाइ अलैंची खेतीमा हुने गरेको छ । कानुनमा समान ज्यालाको व्यवस्था भएपनि सबैतिर लागू भएको छैन ।

अलैंची खेती रोज्छन् महिला

फुङलिङ नगरपालिका १० फुरुम्वुकी रुपा लिम्वूले भनिन, ‘मैले समान ज्याला त अलैंचीमा काम गर्दा मात्रै पाएको छु, मकै गोडा, धान रोप्ता, उठाउदा वा अरु काम गर्दा कहिल्यै पाएको छैन ।’ दिनभरी सँगै ढुङगा कुटेर डोकामा बोक्तापनि नपाएको उनले दुखेसो गरिन ।

तर धुंवारहित चुल्हो बनाउँदा भने पुरुषको तुलनामा बढी पारिश्रमिक लिएको पनि सुनाइन् । ‘एकैदिनमा दुई हजारसम्म लिएकी छु तर त्यो महिला भएकाले नभएर मेरो विशेष दक्षताले पाएकी हुँ ।’ चुलो बनाउने दक्षता नभएको भए पाउने अवस्था नहुने उनले बताइन् ।

उन्नति समावेसी कार्यक्रम अन्तर्गत नेपाल महिला उद्यमी संघले आयोजना गरेको ‘समान कामका का लागी समान ज्याला’ कार्यक्रममा महिला उद्यमी संघका अध्यक्ष लिलादेवी वोखिमले महिलाहरूले आवाज उठाउन सक्नुपर्नेमा जोड दिएकी थिइन् ।

यस्को कानुनी प्रक्रियाका विषयमा वडाका महिलाहरूलाइ यसअघि तीन पटक अनुशिक्षण गरिएको थियो । टोल टोल छुट्याएर दक्ष प्रशिक्षक मार्फत जानकारी गराइएको उद्यमी संघका कार्यक्रम निर्देशक किरण पौडेलले बताए ।

‘हामीले नगरपालिकाका प्रमुखदेखि वडा सदस्य र महिला संघसंगठनका प्रतिनिधिसम्मलाई बुझाएका छौं,’ वोखिमले भनिन्, ‘श्रम गर्ने श्रमिक महिलालाई पनि जानकारी गराएका छौं, अव जागरुक हुने पालो श्रमिक महिला आफ्नै हो ।’ आफूहरूले पनि सहयोग गर्ने उनले बताइन् । रुद्रकला लिम्वूले भने पुरै श्रम गर्ने र श्रममा लगाउने नभएकाले यस्तो विभेद भएको बताइन् । ‘म पनि अर्काको मेला जान्छु र मेरोमा पनि काम गर्न बोलाउँछु । आफुले वरावरी लिंदा अरुलाई पनि तेसरी नै दिनुपर्छ, त्यसैले पनि आवाज उठाउने कोही नभएको हो,’ रुद्रकलाले भनिन्, ‘खै अब पनि कस्ले बराबरी गर्छ होला र ?’ फुरुम्वू मात्रै नभएर तेल्लोक लगायत जिल्लाभरीको अवस्था यस्तै रहेको छ । महिला संघले यसअघि तेल्लोकमा गरेको कार्यक्रममा पनि यस्तै गुनासो गरेका थिए ।

अलैंची टिप्ता, छोडाउदा, भट्टी लगाउदा भने महिला पुरुषले समान ज्याला पाउने गरेका छन् । टिप्दा आठ सयदेखि एक हजार, छोडाउदा र भट्टी लगाउदा समान पाँच सय रुपैयाँ दिने गरिएको छ । अलैंची ओसार्नेले भने किलोको आधारमा पाउने गरेका छन् । मकै गोड्दा, धान रोप्ता वा अरु काम गर्दा भने दोब्बर बढी अन्तर रहेको छ । पुरुषले पाँच सय रुपैयाँ पाउँदा महिलाले ठाउँअनुसार दुईदेखि तीन सय रुपैयाँ मात्रै पाउने गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?