कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रामीण सडकका दु:ख: ठेल्दै, तान्दै चल्छन् गाडी

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको थर्पुदेखि ताप्लेजुङको तेल्लोक जन्ती लिएर हिँडेको मे१ख १८०० नम्बरको बसमा यात्रा गर्ने जन्तीले बिहेको रमझममा उति रमाउन पाएनन् । गाडी ठेल्दा र तान्दाको हैरानी भने निकै खप्नुपर्‍यो ।

ग्रामीण सडकका दु:ख: ठेल्दै, तान्दै चल्छन् गाडी

सरासर यात्रा गर्न पाए दुई घण्टामा पुगिने गन्तव्यमा पूरै साढे सात घण्टा विताउनु परेको गुनासो जन्तीले गरे । ठेल्नु र तान्नुपर्दा सुरुमा उत्साह भए पनि दिन ढल्कदै जाँदा थकित जन्तीलाई बसबाट ओरालेर ठेल्न लगाउन बस चालकलाई पनि गाह्रै भयो ।

पैदल यात्रा गर्दा पाँच घण्टामा दुलहीकोमा पुगेर दुलहाकोमा फर्कन सकिन्थ्यो । तर घरै छेउको सडक उपयोग गर्न बस रोजेका दुलहा थप समय र गाडी खर्च समेत सम्झदा धिक्कार भएको गुनासो सुनाउँदै थिए । आफ्ना पाहुनालाई गन्तव्यमा पुर्‍याउनुपर्ने भएकाले दसौंपटक उनी आफू पनि ओर्लिए र बस ठेले ।

यही रुटमा चल्ने तेल्लोक टाइगर पनि थकित छ । नाम राखे पनि उसले टाइगरको भूमिका भने निर्वाह गर्न सकेको छैन । तेल्लोकदेखि मेदीबुङ थर्पुसम्म पुग्दा सयौं ठाउँमा यात्रु ओराल्नुपर्छ अनि ठेल्न र तान्न लगाउनुपर्छ । ‘टिकट काटेर पनि ढुक्कले बस्न नपाएका यात्रुले दिने गाली गाडीका स्टाफका लागि निकै कठिनको हुन्छ, तैपनि ओर्लेर ठेलौं है साथीहो... नभन्दा सम्म गन्तव्यमा पुग्नै सकिँदैन,’ बसका सहयोगी दिनेश लिम्बूले भने, ‘कच्ची सडकमा सुख कम दु:ख धेरै हुन्छ ।’

ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ सिनाममा विवाहको बस रोकिएपछि उपाय खोज्दै जन्तीहरू

सिमसिमे वर्षासँगै जिल्लाका कच्ची सडकमा गाडी ठेल्दै, तान्दै यात्रा गर्नेक्रम सुरु भएको छ । हिउँदमा भत्काइएका सडकको निर्माण कार्य पूरा नहुने, कतिपय ठाउँका ढिस्कनोहरू भत्कने र हिलाम्मे सडकका कारण यात्रा कठिन हुने गरेको हो । थोरै पक्की र धेरै कच्ची सडक भएको जिल्लाका अधिकांश सडकको यो दुर्दशा नै छ ।

सुकेटारदेखि पाथीभरा भालुगौंडेसम्मको नौ किलोमिटरमा यात्रा गर्ने यात्रुले मुस्किलले तीन/चार किलोमिटर गाडीमै बसेर यात्रा गर्न पाउँछन् । बाँकी ठाउँमा हिँडदै, ठेल्दै र तान्दै गर्नुपर्छ । ‘गाडीमा चड्यो अलि पर्तेर पुगेपछि ओर्लेर बाटोमा माटो हाल्न थालिहाल्नुपर्छ, त्यहाँ माटो हालेर चड्यो फेरि गाडी दायाँबायाँ बटारिन थाल्छ र ओर्लनुपर्छ, ठेलेर अलि पर्तिर पुर्‍यायो हिलोमा भासिन्छ र डोरी लगाएर तान्नुपर्छ,’ पाथीभराबाट फर्किएका झापा गौरादहका पुण्यप्रसाद सिग्देलले थपे, अलिअलि पानी परेपछि त बिचित्रको यात्रा गर्नुपर्ने रहेछ ।’ ठूलाका लागि खासै समस्या नभए पनि यस्तो सडकमा बालबालिका र महिलाका लागि निकै कठिन हुने उनले सुनाए ।

पाँचथरको थर्पु मेदिबुङदेखि ताप्लेजुङको तेल्लोक जोड्ने बसलाई गन्तव्यमा पुर्‍याउन ठेल्दै यात्रुहरू

ताप्लेजुङमा जम्मा ३१ किलोमिटर मात्रै कालोपत्रे सडक छ । जिल्लाभरि करिब पाँच सय किलोमिटर सडक कच्ची छ । सुकेटारदेखि कावेलीसम्मको कालोपत्रे सडक पनि बेलाबेला पहिरोले अवरुद्ध हुन्छ । सिमसिमे वर्षामा नरोकिने कच्ची सडक त कुनै पनि छैन । सबैभन्दा पुरानो पाँचथरदेखि ताप्लेजुङ जोड्ने मेदिवुङ–तेल्लोक, बाहानन्दे–दोभान सडक पनि अवरुद्ध हुने गरेका छन् ।

लामो समयसम्म रोकिँदा गाउँलेहरूले झम्पल, काँटा, कोदालो लिएर निस्किएर पनि सहयोग गर्नुपरेको गाउँलेहरू सुनाउँछन् । जनताको चाहनाअनुसार पहिला ट्रयाक खोल्ने काम धेरै भएको तर स्तरोन्नतिमा कम लगानी भएकाले यस्तो भएको जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन बताउँछन् । अब स्तरोन्नतिको कामलाई पनि सँगै लैजाने योजना रहेको उनले सुनाए । यसका लागि विकासे कार्यालय र गाउँ तथा नगरपालिकासँग समन्वय भएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?