सडकमा केन्द्रित बजेट

एकै वडामा ५ करोडसम्म

धनकुटा — अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकता दिँदै बजेट केन्द्रीत गरेका छन् । मुकाम रहेका स्थानदेखि ग्रामीण बस्तीलाई जोड्न सडक बनाउने क्रम धमाधम छ ।

सडकमा केन्द्रित बजेट

महालक्ष्मी नगरपालिका ७ स्थित एउटै वडामा सडक निर्माणका लागि यस वर्ष ५ करोड बजेट विनियोजन गरिएको छ । कतिपय सिंगो स्थानीय तहमा सडक निर्माणको एउटै शीर्षकमा यति रकम विनियोजन गरिएको छैन ।

महालक्ष्मी नगरपालिकामा एउटै वडामा ५ करोड बजेटबाट सडक निर्माणको काम थालिएको छ । वडाअन्तर्गत ११ किलोमिटर दुरीको जीतपुर–आन्द्रुङ–लेगुवाखोला–दोभान सडक बनाउन बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । उनले अधिकांश वडामा सडक सञ्जालले नजोडिएकाले सडकलाई प्राथमिकतामा राखेको बताए ।

असार मसान्तसम्म बनाइसक्नुपर्ने सडकको ६० प्रतिशत काम सकिएको जनाइएको छ । ‘स्थानीयको पहिलो माग नै सडक रहेकाले यसलाई प्राथमिकतामा राखिएको हो,’ नेपालले भने, ‘केही वर्ष सडक सञ्जाललाई नै पहिलो रोजाइमा राख्ने अवस्था छ ।’ पाँचवटा उपभोक्ता समिति गठन गरेर वडामा बाटो निर्माण थालिएको छ ।असार मसान्तभित्र काम सक्न जुटेको उपभोक्ता समिति अध्यक्ष युवराज पौडेलले बताए । ‘समयसीमाभित्रै काम सक्ने गरी निर्माणमा जुटेको छौं,’ उनले भने । नगरपालिकाले सिंगो नगरमा सडक निर्माणका लागि यस वर्ष १६ करोड रुपैयाँ जुटाएको छ । डेनिस सरकारको उन्नति कार्यक्रमअन्तर्गत उक्त बजेट उपलब्ध भएको प्रमुख नेपालले जनाए । जीतपुर भन्ज्याङ रातमाटे, मारेक धर्मदेवी लेगुवा लगायतका सडक निर्माण कार्य धमाधम भइरहेको छ । निर्धारित समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न गर्न भने कठिनाइ हुने स्थानीयवासीको भनाइ छ । अघिल्लो महिना उन्नति कार्यक्रमसँग सम्झौता गरिएको र दुई महिनाको अवधिमा निर्माण सक्न कठिन हुने एक स्थानीयले बताए ।

पर्यटकीयस्थलको सडक जीर्ण
धार्मिक तथा पर्यटकीय दृष्टिले समेत चर्चित रहेका कतिपय स्थानमा अझै पनि स्तरीय सडक बन्न नसक्दा सास्ती खेप्नु परेको गुनासो चुलिएको । जिल्लाका सबै नगर तथा गाउँपालिकालाई सडक सञ्जालले जोडे पनि स्तरोन्नति नहुँदा अधिकांश स्थानमा बाह्रैमास यातायात तथा ढुवानी साधन सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा पछिल्लो समय करिब एक हजार किलोमिटर सडक निर्माण भइसकेको जिल्ला प्राविधिक कार्यालय स्रोतले जनाएको छ ।

स्तरोन्नति नहुँदा सामान्य वर्षा हुँदा समेत यातायात तथा ढुवानीका साधन चल्न कठिनाइ भएको छ । करिब एक हजार किमि सडकमध्ये मुस्किलले आधा मात्र सामान्य अवस्थामा यातायात सञ्चालन हुने अवस्थाको रहेको स्रोतले जनाएको छ । हिले उत्तरपानी छिन्ताङ, जोरपाटी चुलाचुली तांखुवा, भेडेटार राजारानी ६ नम्बर बुधबारे, लाप्से टोक्रुम्बा कुरुलेतेनुपा, सिधुवा जितपुर लेगुवा तथा पाख्रिबास सान्ने हात्तिखर्क जस्ता सडकमा जेनतेन ढुवानी तथा यातायात साधन चल्ने गरेको छ । यस्तै डाँडाबजार खुवाफोक याक्चना, हिले षडेश्वर मधुगंगा, पाख्रिबास फलाटे अधेरीघाट, विष्णुपादुका आहाले चिम्राहा, दारेगौडा मारेककटहरे चानुवा लेगुवा, विहिबारे ठोका भीरगाउँ सडकमा मुस्किलले मात्र सवारी साधन चल्न सक्छ । जिल्लामा करिब २० प्रतिशत सडक मात्र ग्राभेल भएको स्रोतले जनाएको छ । भेडेटार राजारानी २६ किमि र हिले उत्तरपानी छिन्ताङ २४ किमि गरी जम्मा ५० किमि सडक ग्राभेल छन् । तर ती सडकमा पनि वर्षाले प्रभावित पार्ने गरेका छन् । अधिकांश सडकमा प्रतिकिलोमिटर १० देखि ६० लाखसम्म लगानी हुने गरेको जनाइएको छ ।

तीन जिल्ला जोड्ने सडक
मुढेशनिश्चरे–डाँडागाउँ–चानुवा सडक निर्माण भएसँगै अब कोसी पहाडी तीन जिल्लालाई मध्यपहाडी लोकमार्गले सबैभन्दा छोटो दूरीमा जोड्ने भएको छ । धनकुटा, संखुवासभा र तेह्रथुमको मुख्य पर्यटकीय तथा कृषिको मुढेशनिश्चरेदेखि धनकुटाको लेगुवाघाटसम्म जोडिने १२ किलोमिटर सडक खण्ड सञ्चालनमा आएको हो ।

उक्त सडकले अब धनकुटा, संखुवासभा तथा तेह्रथुमलाई जोड्ने छ । ग्रामीण पुनर्निर्माण तथा पुन:स्थापना आयोजना अन्तर्गत १६ करोड ८२ लाखको लागतमा सडक निर्माण भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख प्रकाश चौधरीले जनाए । सडक निर्माण कार्य सुरु भएको ३० महिनापछि सञ्चालन अनुमति दिइएको चौधरीले बताए । निर्माण कार्यको करिब ९५ प्रतिशत कार्य सकिएसँगै यातायात अनुमति दिइएको हो । ‘ग्राभेल, टेवा पर्खाल, माटो काट्ने काम तथा मोढ सुधार लगायतका केही काम मात्र बाँकी छ’, चौधरीले भने, ‘अब सवारी साधन सञ्चालनको अनुमति दिइएको छ ।’ सडक सञ्चालनमा आएसँगै अब धनकुटाको महालक्ष्मी नगरपालिकाअन्तर्गत चानुवा डाँडागाउँ, जीतपुर, मारेककटहरे, लेगुवा लगायतका ग्रामीण क्षेत्रका बासिन्दा बढी लाभान्वित हुने छन् ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?