कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किसानलाई काँक्रो बजार पुर्‍याउन भ्याइनभ्याइ

देवनारायण साह

देवानगन्ज (सुनसरी) — देबानगन्ज गाउँपालिका ६ का साधुलाल मेहताले काँक्रो खेती गरेर गुजारा गर्दै आएका छन् । उनलाई यति बेला काँक्रो टिपेर बजार पुर्‍याउन भ्याइनभ्याइ छ ।

किसानलाई काँक्रो बजार पुर्‍याउन भ्याइनभ्याइ

बिहानैदेखि परिवारका अन्य सदस्यसाथ काँक्रो टिपेर बजार पुर्‍याउँछन् । ‘काँक्रो खेतीबाटै छोरी, छोराबुहारी, नातिनातिना गरी १० जनाको परिवार पाल्दै आएको छु,’ उनले भने, ‘हिउँदे र बर्षे काँक्रो खेती गर्दै आएको उनले वर्षमा खर्च कटाएर २ लाखसम्म आम्दानी भइरहेको छ ।’

महतोले आफ्नो २ कठ्ठा जग्गा मात्रै भएकाले रामजानकी मन्दिरको १८ कठ्ठा जग्गा भाडामा लिएर खेती सुरु गरेको बताए । खेती सुरु गरेदेखि नै ४ कठ्ठामा काँक्रो खेती गर्दै आएको उनले सुनाए । ‘प्रतिकिलो १५ रुपैयाँका दरमा अहिले काँक्रो बिक्री भइरहेको छ,’ उनले भने, ‘१ देखि २ क्विन्टल काँक्रो दैनिक टिपेर बजार पुर्‍याइरहेको छु ।’ उनलाई काँक्रो बिक्री गर्न धेरै टाढाको बजार पनि लग्नुपर्दैन । दैनिक लाग्ने देवानगन्ज हटियामा उनले व्यापारीलाई काँक्रो बेच्दै आएको बताए ।

व्यापारीहरू खेतमा पनि काँक्रो खरिदका लागि आउने गरेको उनी भन्छन् । ‘काँक्रो खेतीले खान लगाउन, छोराछोरी र नातिनातिनीलाई सामान्य शिक्षा दिन पुगेको छ,’ उनले भने, ‘खेतीमा परिवारका अन्य सदस्यले पनि साथ दिँदै आएको छ ।’ काँक्रो खेतीको आम्दानीले नै ३ छोरीको विवाह पनि गर्न सफल भएको उनको भनाइ थियो । ‘खेतीले जग्गाजमिन जोड्न नसकेपछि छोरालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाएको छु,’ उनले भने, ‘काँक्रो खेती गर्दा नै छोरालाई मलेसिया पठाउन साहुसँग ऋण खोज्नु परेन ।’

यस्तै, स्थानीय रामजनम महतोले पनि आफ्नो ५ कठ्ठामा काँक्रो खेती गर्दै आएको बताए । उनले काँक्रो फल्न सुरु भएदेखि नै व्यापारीको लाम लाग्ने गरेको सुनाए । ‘काँक्रो खेतीमा कुनै जोखिम पनि नभएको र बजारको पनि समस्या नहुने गरेकाले राम्रो आम्दानीको माध्यम भएको छ,’ उनले भने, ‘५० रुपैयाँ प्रतिकिलोबाट बिक्री गर्न सुरु गरेको काँक्रो अहिले १५ रुपैयाँमा बिक्री भइरहेको छ ।’

काँक्रो खेतीले जीवन यापन सहज भएको उनी भन्छन् । उनले बुवाबाजेले नै सुरु गरेको काँक्रो खेती अहिलेसम्म हुँदै आएको बताए । ‘तरकारी खेती आफूहरूको पुख्र्यौली पेसा हो,’ उनले भने, ‘बुवाबाजेले गर्दै आएको ज्ञान सीपका आधारमा आफूहरूले पनि खेती गर्दै आएको छु तर अहिलेको यान्त्रिक युगमा परम्परागत ज्ञानले हुँदैन । यसका लागि आधुनिक र व्यावसायिक ज्ञान आवश्यक छ ।’ खेती प्रणाली बारेमा आफूहरूलाई यान्त्रीकीकरण, वैज्ञानिक तरिकाले व्यावसायिक खेती गर्ने बारे सहयोग आवश्यक भएको उनको भनाइ छ ।

‘परम्परागत तरिकाले खेती गर्दा लागत बढी लाग्दै आएको छ, त्यसैले वैज्ञानिक तरिकाले कृषि यन्त्रको प्रयोग गरेर व्यावसायिक तरिकाले खेती गर्ने हो भने अहिलेभन्दा दोब्बर नाफा हुने उनले सुनाए । उनले गाउँपालिकालाई वैज्ञानिक तरिकाले व्यावसायिक खेती गर्न सहयोग जुटाइदिन माग गरे । देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस वर्ष ७१ लाख १६ हजार बजेट विनियोजन गरेर कार्यक्रम भइरहेको बताए । आउँदो आर्थिक वर्षबाट कृषि क्षेत्रमा किसानहरूका लागि वेज्ञानिक तरिकाले व्यावसायिक खेतीको विकास गर्न योजनाबद्ध रूपमा सुरुवात गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?