१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

उत्तर–दक्षिण लोकमार्ग निर्माणमा अवरोध

आनन्द गौतम

ताप्लेजुङ — तीव्र गतिमा बढेको उत्तर–दक्षिण लोकमार्ग निर्माणको काम चार दिनदेखि रोकिएको छ । फक्तालुङ गाउँपालिका ६ लेलेपका स्थानीयको अवरोधका कारण मंगलबारदेखि काम रोकिएको हो ।

उत्तर–दक्षिण लोकमार्ग निर्माणमा अवरोध

स्थानीयले लेलेपको बस्ती घुमाएर मात्रै लानुपर्ने भन्दै काममा अवरोध पुर्‍याएका हुन् । यसअघि कतिपय घरको उठिबास हुने भन्दै उनीहरूले नै सडक कार्यालयमा निवेदन दिएका थिए । दायाँपट्टिबाट गएको सडक बस्तीको माथिल्लो भाग गुम्बाडाँडा पुगेपछि स्थानीयले अवरोध गरेका हुन् ।

सडक बिस्तारको काम गर्दै आएको एलाइट कम्पनीका प्रतिनिधि राजीव लामिछानेले स्थानीय केही व्यक्तिले अगाडि नबढाउनु भनेपछि मेसिन रोकिएको बताए । यो क्षेत्रमा तीनवटा मेसिन र तेल बोक्ने टयाक्टर रहेको उनले बताए । पहिलोले ट्रयाक खोल्ने, दोस्रोले सडक चौडा बाउने र तेस्रोले अन्तिम रूप दिने काम गरिरहेका थिए । १० मिटर चौडाको सडक खनिरहेको उनले बताए । लोकमार्ग आयोजनाका प्रमुख कुवेर नेपालीले समुदायसँग समन्वयको प्रयास भइरहेको बताए । ‘उहाहरूसँग भएका सबै कागजात हामीसँग छन, यथासक्य समुदायसँग सहमतिको प्रयास गर्छाैं, यदी नभए प्रशासनको सहयोगमा विस्तार गर्छौं,’ नेपालीले भने, ‘राष्ट्रिय गौरवको आयोजना भएकाले सानातिना विवादले सडकको काम रोकिँदैन ।’ फक्तालुङ गाउँपालिका ६ लेलेपका वडाध्यक्ष छोवाङ शेर्पाले समुदायसँग पटकपटक छलफल गरेको र अहिले पनि प्रयास भइरहेको बताए । बस्ीतमा बाटो लाने कि नलाने भन्ने विषयमा समुदाय नै विभाजित रहेका छन् । गाउँपालिका अध्यक्ष सरोज एभेङले सहजीकरणका लागि दुई दिनको समय मागेका छन् ।

एभेङ सहमति जुटाउन बिहीबार लेलेप पुगेका छन् । सकेसम्म समुदायसँगको सहकार्यका आधारमा अगाडि बढ्ने प्रयास गरिएको एभेङले बताए । सडक विस्तारको काम अगाडि बढेकाले अब बस्ीतमा प्रवेश गराउने सम्भावना भने कम रहेको प्राविधिकको भनाइ छ । यो सडकको प्रमुख जिल्ला अधिकारी मोहन जिसी, प्रहरी प्रमुखको टोलीले अघिल्लो साता अनुगमन गरेको थियो । तापेथोकबाट ओलाङचुङगोलासम्मको ट्रयाक खोल्ने जिम्मेवारी पाएको एलाइटले ओलाङचुङगोला तर्फबाट दुइटा मेसिन लगाउने तयारी गरिरहेका बेला स्थानीयले अवरोध पुर्‍याएका हुन् । बहुवर्षीय ठेक्काअन्तर्गत ३६ करोडमा ठेक्का पारेको कम्पनीले निर्धारित समयअघि नै काम सक्नेगरी काम बढाएको लामिछानेले बताए । अवरोध नभए अब पनि चाँडै काम सक्ने उनको दाबी रहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?