सुनसरीमा फस्टाउँदै सूर्यमुखी खेती

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीका दक्षिणी भेगका किसानहरु सूर्यमुखी फूल खेतीमा आकर्षित हुन थालेका छन् । सुनसरीका बर्जु गाउँपालिका, बराहक्षेत्र नगरपालिकाको मधुवन (साविक मधुवन गाविस), कोशी गाउँपालिकामा किसानहरुले एकदशकदेखि सूर्यमुखी फूलको खेती गर्दै आएका छन् ।

फोटोः सुनसरीको मधुवन क्षेत्रमा किसानहरुले लगाएको सूर्यमुखी फूलको खेती । तस्बिर: प्रदीप/कान्तिपुर


सूर्यमुखी फूलको खेतीलाई नगदेबालीको रुपमा लिइन्छ। तराईमा दुईचार बिगाहा जमिन भएका अधिकांश किसानले सूर्यमुखी फूलको खेतीका लागि कम्तिमा २५ प्रतिशत जमिन छुट्याउने गरेका छन्।

प्राविधिक ज्ञान नभएपनि भारतीय बजारमा अत्यधिक माग भएकाले किसानहरु सूर्यमुखी फुलको खेतीप्रति आकर्षित भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए। व्यवस्थित तरिकाले खेती गर्दा प्रति हेक्टर ३० क्विन्टलसम्म उत्पादन गर्न सकिने भएकाले किसानहरु आकर्षित भएका हुन्।

उनले भने, ‘यतातिर सूर्यमुखीको खेती गर्न थालेको धेरै समय भएको छैन। सुनसरीमा सूर्यमुखीको खेती ०५२ सालदेखि सूरु भए पनि त्यसको एकदशक पछिमात्र नगदेबालीको रुपमा किसानहरुले खेती गर्न थालेको मानिन्छ। यसअघि किसानहरुले उखुको खेती खुब गर्ने गरेका थिए। तर उखु किसान वर्षेनी मारमा पर्न थालेपछि सूर्यमुखिको खेतीतिर आकर्षित भएका छन्।’

स्थानीय किसानहरुलाई सूर्यमुखी फुलको व्यवसायिक खेतीका लागि तालिमको व्यवस्थासँगै प्राविधिक सहयोग, बजार व्यवस्थापन, अनुदान लगायतको व्यवस्था गर्नसके सुनसरीमा सूर्यमुखी फुलको खेती प्रमुख नगदे बालीको रुपमा विकास गर्नसक्ने प्रशस्त सम्भावना रहेको अन्सारीले बताए।

फुलको १० किलो बियाँबाट ४ लिटर तेल निकाल्न सकिन्छ। जिल्ला कृषि कार्यालय सुनसरीको तथ्याङ्कमा मुलुकमै सबैभन्दा बढी सुनसरीका दक्षिणी भेगमा हजार हेक्टर क्षेत्रफलमा सूर्यमुखी फुलको खेती हुने गरेको छ। सूर्यमुखी फूलको बिउ किसानहरुले स्थानीय सिमावर्ती भारतीय बजारबाट ल्याउने गरेका छन्।

फूलको बियाँ मिलमा पेलेर खाने तेल निकालिन्छ। यो तेलहनबाली हो। खानेतेल निकालेर प्रयोग गरिने बाली मध्ये विश्वमा सूर्यमुखीको स्थान चौथोमा छ। कृषि मन्त्रालयका अनुसार नेपालमा १ हजार ५ सय ६० हेक्टर जग्गामा सूर्यमुखी फूलको खेती गरिन्छ। वार्षिक करिब १ हजार ९ सय २८ मेट्रिक टन सूर्यमुखीको बियाँ उत्पादन हुने गरेको छ।

सूर्यमुखीको तेलमा कोलेस्ट्रोलको मात्रा घटाउने तत्व हुने भएकाले स्वास्थका लागि उच्च कोटीको हुने र भिटामिन, प्रोटिन, खनिज पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले तेलको ब्राण्ड नै सूर्यमुखी भनेर उद्योगीहरुले उत्पादन र बिक्री गर्ने गरेका छन्। बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्द चौधरीले प्राविधिक र उन्नत खेती गर्ने तरिकाका अभावले स्थानीय किसानले व्यवसायिक रुपमा अझै खेती गर्न नसकेको बताए।

बराक्षेत्र नगरपालिका–११ मधुवनका वडाध्यक्ष केदार विष्टले सूर्यमुखीका लागि सुनसरीमै व्यवस्थित बजार, तेल प्रशोधन केन्द्र, किसानलाई फाइदा दिने तेल उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताए।

प्रकाशित : जेष्ठ ६, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्

धार्मिक सहिष्णुताको नमुना गाउँ ‘रुम्जाटार’

कुम्भराज राई

ओखलढुंगा — ‘रुम्जाटारको कोदाको पिठो निर्गुनको दाउन, धर्म र कर्म गुरुङले लगे छक् परे बाहुन् ।’  झण्डै एक सय ५० वर्ष पहिले महान सन्त योगी ज्ञानदिलदासले भनेको यो भनाई अझै चर्चित छ ।

पूर्वकै ऐतिहासिक, साँस्कृतिक र भौगोलिक रुपले सुन्दर गाउँ रुम्जाटार । फाइल तस्बिरहरु: कान्तिपुर ।

‘घुमिफिरि रुम्जाटार’ नसुन्ने नेपाली कमै छन् । ऐतिहासिक र साँस्कृतिक रुपले मात्र नभएर भौगोलिक रुपले समेत अति सुन्दर मानिने रुम्जाटार धार्मिक सहिष्णुताको लागि पनि नमुना गाउँ हो ।

सँधैजसो अखण्ड हरिकिर्तन गाईरहेको अवस्थामा भेटिने रामकुमारी गुरुङ तमु ल्होछारको दिन पनि फुरुङ्गै भेटिन्छन् । उनी आफ्नो लागि सबै धर्म उस्तै भएको बताउँछिन् । ‘प्रभु येशु भनेपनि, शिवजी भनेपनि, गौतम बुद्ध भनेपनि आखिर भगवान एउटै हुन्’ रामकुमारी भन्छिन्, ‘सबै धर्मको सार भनेको सत्य बोल्नु र पाप काम नगर्नु नै हो ।’

रामकुमारी मात्रै होइनन् । रुम्जाटार धार्मिक सहिष्णुताको सम्भवत: देशकै त्यस्तो नमुना गाउँ हुनसक्छ, जहाँ रामनवमी होस् या कृष्ण अष्टमी । दशैँ तिहार होस् या क्रिसमस । सबै पर्वमा रमाउने गाउँलेहरु प्रशस्तै छन् । नेपालको संघीय संविधानले धर्मनिरपेक्ष राष्ट्र अंगिकार गरेपछि झनै यसले सहअस्तित्व र शान्तिको सन्देश दिएको छ ।
‘जसले जुन धर्म मानेपनि कसैको करकाप छैन । स्वेच्छाले धर्म मान्ने हो’ स्थानीय अगुवा थमनसिंह गुरुङले भने, ‘तर एउटाले अर्कोको धर्म र संस्कारप्रति उत्तिकै सद्भाव राख्नुपर्छ ।’ यहाँ ८० प्रतिशत गुरुङहरुको बसोबास छ । नेपाल एकीकरणको क्रममा सेनाको रुपमा पश्चिमबाट आएका गुरुङहरु रुम्जाटारमा बसेपछि उनीहरु पूर्वेली बनेका हुन् ।
शुरुमा भेडा चराउने, राडीपाखी बुन्ने र फिरन्ते जस्तै जीवनयापन भएका उनीहरुमा धार्मिक चेतना थिएन । तर जब वि.सं. १९३५ सालतिर जोसमनी धर्मका प्रवर्तक महान सन्त योगी ज्ञानदिलदास यहाँ आए त्यसपछि धार्मिक चेतना प्रवेश गरेको मानिन्छ । ज्ञानदिलदास रुम्जाटारमा प्रवेश गरेपछि धार्मिक आस्थाको विकास हुँदै गयो । स्थानीय ज्योतिदास गुरुङ ज्ञानदिलदासको अनुयायी भएको पुराना बुढापाकाहरु बताउँछन् ।
ज्ञानदिलदासका साख्य नाति तथा रुम्जाटार माविका पूर्व प्रधानअध्यापक दिलराम लामिछानेले तत्कालीन समयमा ज्ञानदिलदासले टुंगना भजनमार्फत गुरुङहरुलाई धर्मतर्फ आकर्षित गरेको बताए । वि.सं. १९०० को अन्ततिरबाट रुम्जाटारका गुरुङहरु दरबार निकट हुँदै गएपछि हिन्दु धर्मको प्रभाव बढ्दै गयो । राजा वीरेन्द्रदेखि अन्य राजपरिवारका विभिन्न सदस्यहरुको धाईआमाको रुपमा रुम्जाटारका गुरुङ महिलाहरु थिए ।
धार्मिक र साँस्कृतिक विविधताले उर्वर बन्दै गएपछि आपसमा एकताको भावना जाग्ने सर्वसाधारणको भनाई छ । ‘एउटै धर्म भित्र पनि अनेकन संस्कृति हुन्छन् । एउटै संस्कृतिमा पनि धेरै धर्म मान्नेहरु रमाउन सक्छन् ।’ स्थायी ठेगाना रुम्जाटार भई चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति समेत रहेका डा. गणेश गुरुङले भने, ‘रुम्जाटार त्यो सबै मिसिएको असहिष्णुताको विरोध गर्ने ठाउँ हो ।’
यहाँ शिव मन्दिर, कृष्ण मन्दिर, चर्च छन् । पहिचान खोज्ने क्रममा गुरुङहरुले गुम्बा निर्माणको अभियान शुरु गरेका छन् । जन्म र मरणमा लामा पढाउन थालेका छन् । गुम्बा निर्माणका लागि बुद्ध फाउण्डेशन नामक संस्था स्थापना गरेका छन् । ११ रोपनी क्षेत्रफलमा कम्तिमा सात करोड लागतमा गुम्बा बनाउन आर्थिक संकलन भईरहेको छ ।

क्रिस्चियन धर्मको प्रभाव उत्तिकै छ । चर्च बनिसकेको छ । प्रत्येक साता चर्चमा संगीतका लागि जानेको संख्या देखिन्छ । जुनसुकै धर्म मानेपनि सामाजिक क्रियाकलाप र आपसी सम्बन्ध राम्रो छ । संसारमा धर्मकै कारणले ठूलठूला युद्ध भईरहँदा रुम्जाटारले नेपालमा मात्रै नभएर समग्र विश्वमै धार्मिक सहिष्णुताको सन्देश दिनसक्छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्