कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वैदेशिक रोजगारको छात्रवृत्ति अन्योलमा

खोटाङ — वैदेशिक रोजगारका क्रममा मृत्यु भएका वा पूर्ण रूपमा अंगभंग भएका व्यक्तिका सन्तानलाई उपलव्ध गराइने छात्रवृत्तिका बारे खोटाङका प्रधानाध्यापकहरू अलमलमा परेका छन् ।

वैदेशिक रोजगारको छात्रवृत्ति अन्योलमा

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट उपलब्ध गराइने वैदेशिक रोजगार छात्रवृत्तिबारे प्रधानाध्यापकहरू स्पष्ट नहुँदा कतिपय विद्यार्थीले रकम पाउन सकेका छैनन् ।


बोर्डबाट आएको रकम शिक्षा कार्यालयले सम्बन्धित विद्यार्थी अध्ययनरत विद्यालयको खातामा जम्मा गरिदिए पनि उक्त रकम किन आएको र कसलाई दिने भन्ने बारे प्रधानाध्यापक स्पष्ट नहुँदा समस्या आएको हो ।


कक्षा–१ देखि ८ सम्म वार्षिक ८ हजार र कक्षा–९ देखि १२ सम्म वार्षिक १२ हजार रुपैयाँ आएको रकम कसलाई दिने भन्ने उल्लेख नगरी खातामा जम्मा भएकाले समस्या भएको प्रधानध्यापकहरूको भनाइ छ ।


वैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाउने सरकारी तथा निजी विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति रकम बोर्डमार्फत आए पनि जिल्ला शिक्षा कार्यालय र सम्बन्धित विद्यार्थी अध्ययनरत विद्यालयबीच समन्वय नहुँदा उक्त सुविधाबाट विद्यार्थी वञ्चित भएको सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले बताइन् । उनका अनुसार छात्रवृत्ति बुझेको भर्पाइ विद्यालयमार्फत जिल्ला शिक्षा कार्यालय हुँदै बोर्डसम्म पुर्‍याउनुपर्ने व्यवस्था उल्लेख छ ।


केही विद्यार्थीले सूचना केन्द्रमार्फत छात्रवृत्ति रकम आएको थाहा पाएर लिए पनि कतिपयले हालसम्म पनि अघिल्लो वर्षको छात्रवृत्ति समेत लिएका छैनन् । अघिल्लो वर्ष खोटाङमा २२ जनाको छात्रवृत्ति स्वरूप वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जिल्ला शिक्षा कार्यालयमा एक लाख ८४ हजार रकम पठाइदिएको थियो । जिल्ला शिक्षा कार्यालय खोटाङले भने स्रोत व्यक्तिहरू मार्फत सम्बन्धित विद्यालयमा खबर पठाइएको जनाएको छ ।


नभएको विद्यालयको नाममा पनि रकम:

छात्रवृत्ति स्वरूप भन्दै जिल्लामा हुँदै नभएको विद्यालयको तीन जना विद्यार्थीको नाममा आइपुगेको रकम महिनौ बितिसक्दा पनि अलपत्र भएको छ । छात्रवृत्तिका लागि उल्लेख गरिएको खोटाङको चण्डी ब्राइट फयुचर नामको बोर्डिङ स्कुल जिल्लामै रहेको छैन ।


उक्त विद्यालयको कक्षा–१ मा अध्ययनरत कुमार बस्नेत, कक्षा–४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा–८ मा अध्ययनरत सरिता बस्नेतको नाममा उक्त रकम पठाइएको हो । तीन जना बालबालिकाका लागि जनही आठ हजारका दरले २४ हजार रकम पठाइएकोमा हालसम्म उक्त रकमका लागि कोही पनि नआएका कारण रकम जिल्ला शिक्षा कार्यालयकै खातामै छ ।


वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले गत असोज ८ गतेको मितिमा छात्रवृत्ति रकम पठाएको पत्र पठाएको हो । जिल्ला शिक्षा कार्यालयलाई पठाइएको पत्रमा उक्त रकम सम्बन्धित विद्यालयमार्फत विद्यार्थीलाई प्रदान गरी भर्पाइ पठाउनु भनी उल्लेख गरिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?