कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुरुकुलमा संस्कृत पढ्दै दलित विद्यार्थी

अर्जुन राजवंशी

दमक — दलित विद्यार्थीलाई भर्ना नलिएपछि झापाको भद्रपुरस्थित कृष्ण द्रैपायन गुरुकुल वेद विद्याश्रममा तालाबन्दी गरिएको छ ।

गुरुकुलमा संस्कृत पढ्दै दलित विद्यार्थी

दलित अगुवाहरू जातीय विभेद गरेको भन्दै दबाबमूलक संघर्षमा छन् । गुरुकुल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईले संस्थाको विधानअनुसार अघि बढ्नुपर्ने भएकाले दलित विद्यार्थीलाई भर्ना लिन नसकेको जिकिर गरेका छन् ।

तर, मोरङको पथरीशनिश्चरे नगरपालिका २ देवीगञ्जस्थित विश्वनाथ संस्कृत विद्यालयमा ब्राह्मण, क्षत्री, दलित र आदिवासी जनजाति समुदायका विद्यार्थीले सँगै बसेर संस्कृत पढ्ने गरेका छन् । ०६८ सालमा स्थापित उक्त विद्यालयमा एक सय विद्यार्थी अध्ययनरत छन् । गुरुकुलमा कक्षा ६ सम्म अध्ययन हुन्छ । गुरुकुलमा दलित समुदायबाट कक्षा १ मा जंगबहादुर शिवा, विशाल रसाइली, राजुबाबा परियार, कक्षा ३ मा दीपराज विक, टेकनाथ रसाइली र सुवास खाती अध्ययनरत छन् ।

गुरुकुलका प्रधानाध्यापक उमाकान्त न्यौपानका अनुसार कक्षा १ मा शिवानी उराउ, कक्षा २ मा शिखा तामाङ, रोहन तामाङ, निशा तामाङ र कक्षा ६ मा सोसाङ भुजेल पनि अध्ययनरत छन् । मुठी दानबाट सञ्चालन हुँदै आएको गुरुकुलमा १८ जना छात्राले पनि संस्कृत अध्ययन गर्दै आएका छन् ।

‘शिक्षा सबैको साझा विषय हो । यसमा विभेद हुनुहँदैन भन्ने हाम्रो सोच हो,’ प्रअ न्यौपानेले भने, ‘त्यसैले हामीले स्थापनाकालदेखि नै सबै समुदायका विद्यार्थीलाई भर्ना लिएर संस्कृत शिक्षा प्रदान गर्दै आएका छौं ।’ उनको प्रश्न छ, ‘शिक्षामा पनि जातीय विभेद भयो भने समाज परिवर्तन कसरी गर्ने ?’ कक्षा ३ मा अध्ययनरत सुवास खातीका आमा पवित्रा खातीले आफ्नो छोराले गुरुकुलमा संस्कृत पढ्दा गर्व महसुस भएको बताइन् ।

उनले गुरुकुलका गुरुहरूसँगको सल्लाहमै छोरालाई संस्कृत विद्यालयमा भर्ना गरिदिएको बताइन् । ‘छोराले गुरुकुलमा संस्कृत पढ्दा खुसी लागेको छ । छोरालाई गुरुकुलमा पढ्न कुनै समस्या छैन,’ खातीले भनिन्, ‘अन्यत्र जातीय विभेदको कुरा सुनिने गरे पनि हाम्रो यहाँ त्यस्तो कुनै विभेद छैन ।’

अभिभावक राजेन्द्र परियारले पनि आफ्नो इच्छाअनुसार छोरालाई संस्कृत पढाउन पाएकोमा खुसी व्यक्त गरे । उनले जातीय विभेदका कारण दलित समुदायका छोराछोरीले चाहेर पनि संस्कृत पढ्नबाट वञ्चित हुनु दु:ख भएको बताए । ‘धन्न हाम्रो यहाँको समाज त्यस्तो भएन । छोरालाई नजिकैको गुरुकुलमा संस्कृत पढाउन पाएको छु,’ उनले भने ।

वडा सदस्य अग्निप्रसाद गुरुङले गुरुकुलले सबै जातजातिका छोराछोरीलाई सँगै राखेर संस्कृत पढाएर समाजका लागि उदाहरणीय कार्य गरेको बताए । उनले कानुनी रूपमा जातीय विभेद अन्त्य भए पनि व्यावहारिक रूपमा हुन नसकेको स्थान र व्यक्तिका लागि आफ्नो वडाको गुरुकुल ठूलो उदाहरण भएको बताए । गुरुकुल व्यवस्थापन समिति अध्यक्ष भवानी तिम्सिनाले स्थानीयको साथ र सहयोगले सबै जातजातिका विद्यार्थीलाई संस्कृत पढाउन पाएको बताए ।

उनले शिक्षित व्यक्तिहरू नै जातीय विभेदबाट मुक्त हुन नसके समाज परिवर्तन गर्न गाह्रो रहेकाले आफ्नो गुरुकुलमा कुनै विभेद नगरी समावेशी रूपमा सबै जात, धर्मका छोराछोरीलाई संस्कृत पढाउने गरेको बताए । गुरुकुलकी शिक्षिका धनमाया न्यौपानेले गुरुकुलमा दलितका छोराछोरीलाई पढ्नबाट रोक्नु उचित निर्णय नभएको बताइन् । उनले झापामा घटेको घटनाले आफूहरूलाई दुखी तुल्याएको बताइन् । ‘हामीले दलित, उराउ, तामाङ, भुजेल सबै जातिका छोराछोरीलाई सँगै राखेर संस्कृत पढाइरहेका छौं । आजसम्म कुनै समस्या छैन,’ उनले भनिन् । गुरुकुलमा ६ जना शिक्षक कार्यरत छन् । तर, उनीहरू कसैको पनि सरकारी दरबन्दी छैन ।

‘मुठी दान, विभिन्न सहयोगी दाता र कहिलेकाहीँ लगाउने गरेको पुराणबाट बचत भएको पैसाले शिक्षकहरूलाई तलब खुवाउँदै आएका छौं,’ प्रअ न्यौपानेले बताए । गुरुकुलमा झापाका ५, नारायणघाटका १ र आसपासका विद्यार्थी अध्ययनरत छन् । आवास गृह नभएकाले टाढाबाट आएका विद्यार्थीलाई भर्ना लिन नसकेको प्रअ न्यौपानेले बताए । गुरुकुलमा संस्कृत र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुन्छ ।

‘संस्कृत र अंग्रेजी दुवै भाषामा पोख्त भयो भने त्यो विद्यार्थीको पढाइ आजको दिनमा खेर जादैन,’ प्रअ न्यौपानेले भने । उनले तर, आर्थिक अभावमा गुरुकुलमा कम्प्युटरबाट शिक्षा दिन नसकेको दुखेसो पोखे । गुरुकुलमा हनुमान चालिसा, गीता, चण्डी, रुद्री, वेद, अग्निस्थापना, चाणक्यनीति संस्कृत रचनालगायत पुस्तकको पढाइ हुन्छ । अंग्रेजी माध्यमबाट पनि संस्कृत पढाइ हुने भएकाले यस वर्ष थप १७ जना नयाँ विद्यार्थी भर्ना भएको प्रअ न्यौपानेले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?