२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

अग्निपीडितले पाएनन् जग्गा

प्रदीप मेन्याङ्बो

सुनसरी — बराहक्षेत्र नगरपालिका–११ मधुवनका आगलागी पीडित ३६ घर परिवारमध्ये अधिकांशले नम्बरी जग्गा किन्ने तयारी गरेका छन् । उनीहरूले किनेको नम्बरी जग्गामा घर बनाइदिए भविष्य सुरक्षित हुने पीडितहरूले बताएका छन् ।

अग्निपीडितले पाएनन् जग्गा

सुनसरीको दक्षिणी भेगमा पर्ने साविक गाविस मधुवनमा गत चैत ३ गते बेलुका आगलागी भएको थियो । आगलागी भएपछि विचल्ली भएका प्रत्येक पीडित परिवारलाई बराहक्षेत्र नगरपालिका र गैरसरकारी संस्था ग्रामीण स्वावलम्बन विकास केन्द्रले घर बनाइदिने घोषणा गरेको थियो ।

लामो विवादपछि स्वावलम्बन केन्द्र र बराहक्षेत्र नगरपालिकाले उनीहरू बसेको आगलागी भएको ठाउँमा आधा परिवारलाई र बाँकी रहेको परिवारलाई नजिकै रहेको रामजानकी मन्दिरको नाममा रहको गुठीको जग्गामा आधालाई घर बनाइदिने निर्णय भएको थियो । तर पीडितहरूले गुठीको जग्गामा बस्न नमानी उनीहरूले नै किनेको नम्बरी जग्गामा घर बनाइदिन माग गरेका हुन् ।

वडाध्यक्ष केदार विष्टले भने, ‘पीडितहरूलाई ऐलानी जग्गामा घर बनाइदिन जग्गाको खोजी गरियो तर उक्त क्षेत्रमा धनिमानी हुनेखाने नम्बरी जग्गाधनीहरूले नै ऐलानी जग्गा ओगटेर बसे पनि आफ्नो जग्गा भनेर नदिएपछि विवाद भयो ।’ दाताले दिएको त्रिपालमा बसिरहेका आगलागी पीडितहरू वर्षायाम सुरु हुन लागेकाले सुरक्षित घर बनाएर बस्ने चाहना पूरा गरिदिन आफूहरू अझै प्रयासरत रहेको विष्टले बताए । ऐलानी र नम्बरी जग्गा छुट्याउनका लागि नापी गरिएको थियो । तर पटकपटक नापी गर्दा नम्बरी जग्गा भएकाहरूले आगलागी भएको मध्ये केही जग्गा आफ्नो भएको बताएपछि घर निर्माण कार्य ढिलाइ भएको स्वावलम्बन केन्द्रले खटाएका इन्जिनियर अनुप कार्कीले बताए ।

उनले भने, ‘जग्गा विवादका कारण पीडितहरूमध्ये अधिकांशकले नम्बरी जग्गा किन्ने तयारी गरेका छन् । उनीहरूले आफैंले किनेको नम्बरी जग्गामा घर बनाइदिन भनिरहेका छन् । केही नलागे त्यसै गर्नु पर्ला ।’ इन्जिनियर कार्कीले घर निर्माण योजनाअनुसार प्रतिघडेरी करिव छधुर जग्गामा अगाडि पाच फुटको बाटो, ग्रिनजोन (फूलबारी) समेत हुने गरी डिजाइन गरिएको घरले ८ सय ८२ वर्गफुट क्षेत्रफल ओगट्छ ।

पीडितका लागि जग्गा र पानीका लागि ट्युवेल कल नगरपालिकाले उपलव्ध गराउनुपर्ने, स्वावलम्बन केन्द्रले निर्माण सामग्री उपलव्ध गराउँदै निर्माण गरिदिने र लेवर पीडित परिवारबाटै उपलव्ध गराउने सम्झौता रहेको छ । पिल्लरसहितको घर डिजाइन गरे पनि टिनको छानो र शैचालय सहितको घर बनाउने कार्कीले बताए ।

गुठीको जग्गामा घर बनाउदा प्रतिमहिना तोकिएको भाडापीडित परिवारले तिर्नुपर्ने र छाडेर जाँदा अरूलाई बिक्री वितरण गर्न वा अंशमा दिन नपाइने र आफ्नो नाममा पनि सार्न नमिल्ने भएकाले त्यहाँ घर बनाउन नमानेको बताइएको छ । आगलागी पीडितका तर्फबाट गठित घर निर्माण समितिका संयोजक देवु सरदारले भने, ‘हामी स्थायी रूपमा बस्ने गरी घर निर्माण गर्न चाहन्छौं ।

नम्बरी जग्गा किन्न सक्ने पीडित परिवारलाई सोही जग्गामा र नसक्नेलाई पहिले आगलागी भएकै ठाउँमा चाँडो घर निर्माण गरिदिए हुन्छ ।’ पीडित ३६ जनामध्ये ककसले नम्बरी जग्गा किन्ने र कति जनालाई पहिलेकै स्थाना घर बनाउने मंगलबारसम्ममा निश्चित हुने उनले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?