१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पर्खाल पनि बिक्री

विराटनगर जुट मिल्स
देवनारायण साह

मोरङ — मुलुकको जेठो उद्योग विराटनगर जुट मिल्स लिमिटेडको पूर्वतर्फको पर्खाल र पर्खालसँग जोडिएको संरचनासमेत यसअघिका सञ्चालक समितिले बिक्री गरेको पाइएको छ ।

पर्खाल पनि बिक्री

तत्कालीन सञ्चालक समितिका अध्यक्ष निलहरि काफ्लेको पालामा पूर्वतर्फको पर्खाल बिक्री भएको मिल्सका कर्मचारीले बताए ।

कार्यकारी अधिकारसम्पन्न अध्यक्ष काफ्लेले २०७२/०७३ मा टेन्डर गरेर पर्खाल बिक्री गरेको मिल्सका प्रशासन प्रमुख तारानाथ तिम्सिनाले बताए । ‘पर्खालको टेन्डर विराटनगर २० का शम्भु साहले ४५ लाखमा स्वीकार गरेर भ्याटसहित ५० लाख ८५ हजार मिल्सको खातामा बुझाइसकेको थियो,’ उनले भने, ‘तत्कालीन विराटनगर उपमहानगरपालिकाले रोडशष चोक–रानी सडक बिस्तार गर्न उक्त उर्खाल
भत्काउनुपर्ने अवस्थामा सञ्चालक समितिले टेन्डर गरेर बिक्री नै गरेको थियो ।’

उपमहानगरपालिकाले सडक बिस्तार गर्न टेन्डर प्रक्रिया लम्बिएपछि तत्काल पर्खाल भत्काउनुपर्ने अवस्था नदेखेपछि ठेक्केदार साहसँग गरेर तत्काल पर्खाल नभत्काउने मौखिक सहमति गरेको तिम्सिनाले बताए । ‘पर्खाल हुँदा मिल्सभित्रबाट बहुमूल्य सामग्रीहरू चोरी भइरहेको अवस्थामा पर्खाल भत्काएर नाङ्गो बनाएपछि झन मिलका सामानहरू चोरी हुने अवस्थामा ठेक्केदारसँग सहमति गर्न बाध्य भएका थियौं,’ उनले भने, ‘ठेक्केदारले पटकपटक पर्खाललगायतका संरचना भत्काउन आउने गरेको तर आफूहरूले अहिलेसम्म रोकेर राखेका छौं ।’

ठेकेदारले रकम बुझाएको लामो समय भइसकेकाले समस्या भइरहेको उनी भन्छन् । ‘मिल्सले तत्काल पर्खाल लगाउन नसक्ने अवस्था रहेको र पर्खाल लगाउन इँटा आवश्यक हुन्छ,’ उनले भने, ‘पर्खाल भत्काएर बिक्री गर्नुभन्दा पनि त्यही इँटाबाट अर्को पर्खाल निर्माण गर्नु आवश्यक रहेको छ ।’निलहरी काफ्ले मिल्सको सञ्चालक समिति अध्यक्ष भएपछि एकपटक मिल्सको रूख र अर्कोपटक पर्खाल बिक्री गरे भने बाँकी मिल्सका बहुमूल्य पार्टपुर्जा कोटेशन प्रक्रिया पूरा गरेर मनोमानी ढंगले
बिक्री गरेर खाएको मिल्सका कर्मचारीहरू बताउँछन् ।

काफ्लेले आफू २०७२ साउनमा अध्यक्ष भएपछि मिल्सको बैंक खातामा ६५ हजार रकम मात्रै रहेकोले दैनिक कार्य सञ्चालनसमेत कठिन भएको बताए । ‘दैनिक कार्य सञ्चालनका लागि मिल्सका काम नलाग्ने सामग्री बिक्री गरेर कार्यालय सञ्चालन गर्‍यौं,’ उनले भने, ‘मिल्सको आफ्नो नीति नियम र कम्पनी ऐनअनुसार सञ्चालक समिति सर्वेसर्बा भएकाले मिल्सको कुनै सम्पति उपयोग गर्ने बारे कसलाई सोध्नु ? यसबारे सञ्चालक समितिको हैसियतमा आफूले कानून सम्मत ढंगले बिक्री गरेको छु ।’ उनले पर्खाल भत्काउनुपर्ने अवस्था आएको र मिल्समा रकमको अभाव भएकाले टेन्डर गरेर बिक्री गरेको उनले स्विकारे ।

उनले मिल्समा पैसा भएपछि पुन: पर्खाल लगाउन सकिने अवस्था भएकोले नै पर्खाललगायतका संरचना बिक्री गरेको सुनाए । काफ्ले मिल्सका अहिले कार्यकारी निर्देशक हुन् । उनले मिल्सको १० करोड बढीको मेसिन तथा मेसिनरी पार्टपुर्जा र सालको काठ अबैध रूपमा बिक्री गरेको कर्मचारीहरूको भनाइ छ ।मिल्सका अध्यक्ष वसन्त बनले आफूभन्दा अघिका अध्यक्षले पर्खाल बिक्री गरेको तर पर्खाल बिक्री गर्नुको कुनै औचित्य नभएको बताए । ‘मिल्सलाई पर्खाल आवश्यक भएकाले ठेकेदारलाई रकम फिर्ता गर्ने सहमति गरेका छौं,’ उनले भने, ‘ठेकेदारलाई अहिलेको चलनचल्तिको मूल्यांकन गरेर बढी रकम फिर्ता गर्नुपर्ने अबस्था आएकोले मिल्समाथि झन व्ययभार बढेको छ ।’ ठेकेदारले पर्खाल नभत्काए पनि उनले बुझाएको रकम पूर्ण रूपमा तत्कालीन समितिले खर्च गरिसकेकाले समस्या भएको अध्यक्ष बनले बताए । उनले अन्य स्रोत खोजेर कानुनी प्रक्रिया मिलाएर ठेकेदारलाई रकम फिर्ता दिनुपर्ने अवस्थाको सृजना भएको गुनासो पोखे ।

तत्कालीन अध्यक्ष काफ्लेले मिल्समा गरेको अनियमितताका बारेमा सम्पूर्ण फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेर छानबिन गरिरहेको छ ।


मिल्सको विराटनगरस्थित ६७ बिघा र दमकलगायतको ठाउँमा गरी कुल ६८ बिघा जग्गा रहेको छ । नयाँ र पुरानो गरी दुई वटा मिल र संसारमा तीनवटा मात्रै रहेको दुर्लभ जेनेरेटर मिल्सको पाबर हाउसमा छ । मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर छ ।मिल्सको हाल ५ अर्ब बढी रूपैयाँको दायित्व तिर्न बाँकी रहेको छ । तर मिल्स सञ्चालकले औद्योगिक प्रतिष्ठानको मोडेलमा मिल्स सञ्चालनको प्रयास गरिरहेका छन् । मिल्स सञ्चालन गर्ने पक्षमा सरकार पनि देखिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शनिबार मिल्सको निरीक्षण गरेका हुन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?