कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पेट्रोलियम पदार्थमा कालोबजारी

धनकुटा — सरकारले गत बिहीबार मध्य रातिदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन गराए पनि जिल्लाका केही पेट्रोल पम्पमा निर्धारण गरिएभन्दा बढी मूल्यमा बिक्री वितरण भएको पाइएको छ ।

पेट्रोलियम पदार्थमा कालोबजारी

नेपाल आयल निगम लिमिटेडले समायोजन गराएको मूल्यबारे मातहतका निकायमा जानकारी गराए पनि मंगलबार बिहानसम्म कतिपय पेट्रोल पम्पमा बिक्री गर्नुपर्ने वास्तविक मूल्यभन्दा बढी मूल्यमा बिक्री गरिएको जनगुनासो चुलिएको छ । पेट्रोलियम डिलर्स एसोसिएसन विराटनगरले समेत पूर्वका मातहतका डिलर व्यवसायी तथा बिक्रेतालाई ढुवानी समेत कायम भई बिक्री गर्नुपर्ने मूल्यबारे जानकारी गराइसकेको जनाएको छ ।

तर त्यसको पर्वाहा नगरी बढी मूल्यमा बिक्री गरिएको ग्राहकको गुनासो छ । यसक्रममा छथर जोरपाटी गाउँ‘पालिकाको सिधुवास्थित काफ्ले सप्लायर्स प्रालिले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ २५ पैसा बढी मूल्यमा बिक्री गरेको छ । नेपाल आयल निगमको अधिकृत बिक्रेताका रूपमा रहेको उक्त सप्लायर्सले प्रतिलिटर १ सय १० रुपैयाँ ७५ पैसामा बिक्री गर्नुपर्ने पेट्रोल १ सय १२ रुपैयाँमा बिक्री गरेको छ ।यस्तै प्रतिलिटर ९२ रुपैयाँ ७५ पैसामा बिक्री गर्नुपर्ने डिजल ९४ रुपैयाँ २० पैसामा बिक्री गरेको पाइएको छ । सप्लायर्सका सञ्चालक चेतनाथ चापागाईले मूल्य समायोजन गरिएकोबारे आफूलाई ढिलो जानकारी भएकाले ‘भुलबस’ बढीमा बिक्री गरिएको दाबी गरे । ‘डिलर्स एसोसिएसनले ढिलो गरेर मात्र पत्राचार गर्दा यस्तो भएको हो’, उनले भने, ‘हामीले नियतबश बढी मूल्यमा बिक्री गरेका होइनौं ।’ उनले मंगलबार बिहानसम्म बढी मूल्यमा बिक्री भए पनि मध्याहनपछि निर्धारित मूल्यमा बिक्री गरिएको बताए ।

यसैगरी हिले बजारस्थित निशानदेवी फ्युल सेन्टरमा पनि निर्धारण गरिएभन्दा केही बढी मूल्यमा बिक्री भएको ग्राहकको गुनासो छ । पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ २५ पैसामा बिक्री गर्नुपर्नेमा ५५ पैसा बढी मूल्य लिइएको छ । यस्तै प्रतिलिटर ९२ रुपैयाँ २५ पैसामा बिक्री गर्नुपर्ने डिजेल ९३ मा बिक्री गरिएको छ । पम्पका सञ्चालक अनित अधिकारीले पनि मूल्य समायोजनबारे ढिलो गरेर मात्र पत्र प्राप्त भएकाले भुलबस बढी मूल्य भएको दाबी गरे । जिल्लाका चारमध्ये अन्य दुई पेट्रोल पम्पमा भने निर्धारण गरिएको मूल्यमा बिक्री गरिएको पाइएको छ । पेट्रोलियम डिलर्स एसोसिएसन विराटनगरको गत जेठ ३ गतेको बैठकले कोसी अञ्चलभरि उसका मातहतका निकायमा नयाँ मूल्य सूची पठाएको जनाएको छ । मातहतका सबै ११ डिलरलाई परिवर्तित मूल्य सूची फ्याक्स गरी पठाएको एसोसिएसनका कार्यवाहक अध्यक्ष अरविन्दकुमार शर्माले बताए । एसोसिएसनले पनि ढिलाइ गरेर गत आइतबार मात्र मूल्य सूची पठाएको छ । जसका कारण कतिपय बिक्रेताले समयमा मूल्य सूचीबारे जानकारी नपाउँदा बढी मूल्यमा बिक्री गर्नु परेको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?