कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बेतना सिमसारमा पर्यटक बढ्दै

देवनारायण साह

मोरङ — बेतना सिमसारमा फुर्सदको समय व्यतीत गर्न आन्तरिक पर्यटक संख्या वृद्धि हुँदै गएको छ । सिमसार घुम्न आउनेको दैनिक भीड लाग्ने गरेको छ । बिदाको दिन सिमसार क्षेत्र भरिभराउ हुन्छ । सिमसारमा घुम्न आएका पोखरा लेखनाथ महानगरपालिका १३ का अशोक क्षेत्रीले यहाँको प्राकृतिक रूपमा राम्रो भएको बताए ।

बेतना सिमसारमा पर्यटक बढ्दै

‘अति रमणीय, सफा, स्वच्छ र प्राकृतिक वातावरणले जोसुकैको मन लोभ्याउने ठाउँ रहेको छ,’ उनले भने, ‘जुन किसिमको आकर्षक ठाउँ छ त्यो किसिमको प्रचार प्रसार हुन सकेको छैन ।’ राम्ररी प्रचार प्रसार गर्न सकियो भने लाखौं पर्यटक भित्र्याउन सफल हुने अवस्था रहेको क्षेत्रीले बताए ।

रमाइलो बहुमुखी क्याम्पस कानेपोखरीमा कक्षा १२ मा अध्ययनरत अनु मगरले सिमसार क्षेत्रको प्राकृतिक रमणीय वातावरण लोभलाग्दो रहेको बताइन् । ‘सिमसार क्षेत्रभित्र संरक्षण गरेर राखेका विभिन्न किसिमका जंगली जनावर, चरा, माचा, कछुवालगायतको जैविक विविधतायुक्त छ,’ उनले भनिन्, ‘विद्यार्थीहरूका लागि अध्ययनको दृष्टिकोणले पनि सिमसार एकपटक घुम्नैपर्ने छ ।’ सुन्दरहरैंचा ८ की सिजासु पराजुलीले प्राकृतिक हरियाली, शान्त र सुन्दर जंगल क्षेत्र भएको यहाँ घुम्दा, बस्दा शान्तिको अनुभूति हुने गरेको बताइन् । ‘सधैंको कोलाहलपूर्ण सहरीया जीवनबाट वाक्क भएकाहरूका लागि यहाँ समय व्यति गर्दा शान्तिको अनुभूति हुन्छ,’ उनले भनिन्, ‘यहाँको प्राकृतिक हावा, जलविहार, विभिन्न किसिमका ज्ञान वद्र्धक प्राणी, चरालगायतको जैविक विविधताले पर्यटक तान्न सफल देखियो ।’ उनले यहाँ ठूलो कमिलाको प्रतिमा पनि आकर्षणको केन्द्र भएको बताइन् । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले आन्तरिक पर्यटक
आउने क्रम बढ्दो रहेको बताए । ‘गत वर्ष २ लाख १७ हजार जना सिमसार क्षेत्रमा घुम्न आएका थिए,’ उनले भने, ‘यस वर्ष दैनिक ६/७ सय जना घुम्न आउने गरेको छ । मेचीदेखि महाकालीसम्मका र हिमालदेखि तराई मधेस तथा भारतको विहारलगायतका प्रदेशबाट पर्यटकहरू घुम्न आउने गरेका छन् ।’

गत वर्ष ८६ लाख बढी आमदानी भएको उनले बताए । सिमसारमा १० वर्षमुनिका बालबालिका बाहेकलाई प्रति व्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क, पिक्निक खान आउनेलाई ६ सय र प्रतिव्यक्ति १० रुपैयाँ, जल विहारका लागि प्रति बोट २ सय र १ सय ५० शुल्क तोकेर सञ्चालन गर्दै आएको उनले सुनाए । उनले सिमसार क्षेत्रमा रूखबिरुवा काट्न नपाइने व्यवस्था गरेको बताए । उनले सिमसारलाई थप व्यवस्थित बनाउन अब ४८ करोडको गुरुयोजना बनाएर यसै वर्षबाट काम सुरु गर्ने योजना रहेको बताए ।

‘१ सय ७४ दशमलव ९१ हेक्टरमा फैलिएको सिमसारको पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणको क्षेत्रलाई मानव प्रयोग क्षेत्र, राजमार्गभन्दा उत्तर ६२ हेक्टरमा चिडियाखाना, कछुवा र गोहीको प्रजनन केन्द्रका साथै चरा संरक्षण क्षेत्र र त्यसभन्दा माथि ९८ हेक्टर जंगल क्षेत्रलाई जंगली जनावरको सुरक्षित बासस्थानका रूपमा निर्माण गर्छौं,’ उनले भने, ‘मानव प्रयोग क्षेत्रमा बोटिङ, पिक्निक स्पोर्ट, स्विमिङ पुल, चिल्ड्रेन पार्क, संग्रहालय लगायतको संरचना निर्माण हुन्छ ।’

प्रकाशित : जेष्ठ ९, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?