कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैविक विविधता जोगाउन संरक्षण सुरु

विश्वमै दुर्लभ काँडेभ्याकुर, रेडपान्डा मासिने चिन्ता
विप्लव भट्टराई

इलाम — नेपालमात्र पाइने काँडे भ्याकुरलगायत दर्जनौं प्रजातिका चराहरू र दुर्लभ रेडपान्डासमेत पाइने सन्दकपुर ५ जमुनास्थित हाँगेथाम क्षेत्रको संरक्षण थालिएको छ ।

जैविक विविधता जोगाउन संरक्षण सुरु

यस क्षेत्रको जैविक विषेशतालाई जोगाउँदै पर्यटकीय विकासका लागि स्थानीयवासी र गाउँपालिकाले अभियान थालेका हुन् ।

पछिल्लो समय यहाँ रहेका प्राकृतिक पोखरीको संरक्षण गर्दै विश्रामस्थल, बगैंचा निर्माणलगायतका काम भएका छन् । वडाबाट छुट्टिएको रकमसहित स्थानीय जनश्रमदानबाट संरक्षण कार्यलाई अघि बढाइएको हो । वडा कार्यालयले विनियोजन गरेको ५ लाख रपैयाँबाट करिब अढाई किलिमिटर टाढाबाट पानी ल्याएर त्यहाँका पाँचवटा पोखरीमा हालिएको छ ।

पोखरी क्षेत्रमासमेत ड्याम निर्माण गरेर पानीलाई हिउँद र बर्खा याममा नै जम्ने व्यवस्था मिलाइएको वडाध्यक्ष जितबहादुर साँवाले बताए । ‘संरक्षणको अभावमा यहाँको जैविक विविधता नासिँदै गएको पाइएपछि वडा कार्यालयले विषेश चासो बढाएको हो,’ उनले भने, ‘३ किलोमिटर तलको ढापपोखरीसहित आशपासका चोयाटार, जौवारी, नुनथला, कैयाकट्टा, पिप्लेलगायत स्थानको करिब बीच भागमा पर्ने भएकाले हाँगेथामले सिङ्गो गाउँको पर्यटकीय उचाइ बढाउन सहयोग गर्नेछ ।’
महाँगेथाममा ट्युरा, कालेज, खोयाहाँस, पहाडी व्युकुयो, सदल चील, काकाकुल, हिमाली भद्राई, श्येनबाज, लामपुच्छ्रे, मारूनी चरी, कल्चौडे, चाँचर, झ्याप्सी, चिचलकोटे, फिस्टा, सिविया, बुङ्गेचरा, चुइयाँ, डाँफे मुनाल आदि चराहरू यो जंगलमा पाइने नेपाल पक्षी संरक्षण संघको २०६४ को सर्वेक्षणमा उल्लेख छ ।

यहाँका पाँचवटा पोखरी सुकेससँगै पानीको अभावकै कारण चराहरूको संख्या घटदै गएको स्थानीयवासी बताउँछन् । यो स्थानमा कालापोखरी, जालेपोखरी, आलपोखरी, सिद्ध पोखरीलगायतका पाँच पोखरी छन् । वर्षायाममा केही पोखरी अस्तित्वमा रहे पनि अन्य पोखरी सुकेका थिए । कालपोखरीलाई स्थानीय प्रयासमा पानीको स्रोत व्यवस्था गरी संरक्षण थालिएको छ । स्थानीय महिला समूहले पोखरीको संरक्षण गर्दै सानो पार्क समेत बनाएका छन् । रेडपान्डा नेटवर्कको सहयोगमा स्थानीय श्रमसमेत परिचालन गरेर कालपोखरीलाई भरिभराउ बनाइएको स्थानीय पासाङ शेर्पाले बताए ।

डेढ दशकअघिसम्म अस्तित्वमा रहेका पोखरी चरिचरन र संरक्षण अभावमा सुकेका थिए । पानी सुकेसँगै कोणधारी वनस्पतीले वन क्षेत्र भरिएकाले चरा संकटमा परेको विज्ञको भनाइ छ । यहाँका सबै पोखरी भरिए पुन चराचुरुङ्गी र जनावारको चहलपहल बढ्ने स्थानीयको अपेक्षा छ । यो क्षेत्र पर्यटकीय दृटिले पनि महत्त्वपूर्ण छ । विभिन्न प्रकारका जडिबुटी, पशुपक्षी र लालीगुराँस र उच्च स्थानमा समतल परेको भूभाग भएकाले यसको संरक्षण र विकास गर्नुपर्ने आवश्यकता उत्तिकै रहेको छ । प्रशस्त सम्भावना बोकेर पनि प्रचार र पूर्वाधार विकास हुन नसक्दा यहाँको विषेशता हराउँदै गएको हो ।

पूर्वकै पर्यटकीय क्षेत्र सन्दकपुरसम्म पुग्न सदरमुकामबाट हाँगेथाम हँुदै सन्दकपुरसम्म पुग्ने मोटर सकडकको व्यवस्था हुन सके यो क्षेत्रले पर्यटकीय गति लिने स्थानीयको आशा छ । ‘ढिलै भए पनि प्रयास थालिएकाले पर्यटकीय विकास हुने आशा पलाएको छ,’ स्थानीय देउमान गुरुङले भने, ‘दुई दशकअघिसम्म चरा र जनवारको अध्ययनकै लागि बाक्लो गरी पश्चिमा पर्यटक यस क्षेत्रमा आउने गरेका थिए ।’

ठूलो भूभागमा फैलिएको समतल जमिन भएकाले वनभोज स्थलका रूपमा पनि यसलाई विकास गर्न सकिने उनको भनाइ छ । अगन्तुकलाई खानबस्न व्यवस्था मिलाउन सामान्य ढंगका होमस्टे सञ्चालनमा छन् । यसलाई व्यवस्थित बनाउने कार्य भइरहेको छ ।यस क्षेत्रका सबै पर्यटकीय स्थलमा पुग्ने आगन्तुकलाई घरबासको व्यवस्था गर्न मेची पहाडी क्षेत्र पर्यटन पूर्वाधार विकास समितिसँगको सहकार्यमा चन्द्रपाल थेवे ढापसिमसार संरक्षण तथा पर्यटन विकास समितिले जेठको दोस्रो साता होमस्टे व्यवस्थापन तालिमको आयोजना गरेको छ ।

सदरमुकामबाट २५ किलोमिटर उत्तरमा रहेको हाँगेथाम क्षेत्रमा रेडपान्डालाई बस्न र खानाका लागि आवश्यक पर्ने भालुचिण्डे र मालिङ्गो पर्याप्त रहेको छ । अन्य चराचुरुङ्गीका लागि पनि उपयुक्त वातावरण छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?