कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतीय पर्यटकलाई ‘चुले निम्तो’

बिहार (भारत) — धरानका पर्यटन व्यवसायी बासुदेव वराल भारतका विभिन्न राज्यमा पूर्वको पर्यटकीय गन्तव्य चिनाउँदै हिंडिरहेका छन् । जेठ २४ देखि २६ गतेसम्म धरानमा आयोजना हुने ‘इस्ट टुरिजम मार्ट’ मा आउन भारतीय पर्यटकलाई ‘चुलै निम्तो’ बाँड्दै छन् ।

भारतीय पर्यटकलाई ‘चुले निम्तो’

मेची र कोशीका दुई दर्जन वढी पर्यटन तथा होटल व्यवसायीहरू यतिवेला वरालझै भारतको विहार, बंगाल र सिक्किमका नागरिकलाई भ्रमणको निम्तो दिइरहेका छन् । नेपाल पर्यटन वोर्डले नेतृत्व गरेको अभियानको नाम ‘सेल्स मिसन’ छ । खासमा प्रदेश १ का पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्ने हेतुले धरानमा पहिलो पटक आयोजना हुँदै छ इस्ट टुरिजम मार्ट । यो कार्यक्रम मुलत: भारतीय पर्यटक लक्षित हो ।

सीमावाट डेढ दुई सय किलोमिटर आसपासका सीमावर्ती भारतीय सहरलाई लक्षित गरी यो अभियान शुरु गरिएको हो । इष्ट टुरिजम मार्टको पूर्व सन्ध्यामा नेपाली पर्यटन व्यवसायीहरूले विहारको कटिहार, पूर्णिया र किसनगञ्ज, पश्चिम वंगालको सिलिगुडी र जयगाउँ तथा सिक्किमको गान्तोकमा यहाँका व्यवसायी, राजनीतिक दलका अगुवा र संचारकर्मीहरूसंग अन्तरक्रिया मात्रै गरेनन्, घुम्न आउनका लागि निम्तो नै वाँडे । नेपाल पर्यटन वोर्डका अधिकृत कुन्दन मिश्रले प्रदेश १ का धार्मिक, ऐतिहासिक, भौगोलिक, सांस्कृति सम्पदाका हिसावले प्रदेश १ समृद्ध रहेको बताउँदै ती कुराहरूलाई पर्यटनको रुपमा विक्रि गर्न सक्दा थप समृद्धि हासिल गर्न सकिने बताए ।

मिश्रका अनुसार पूर्वमा विश्वकै सर्वोच्च हिमाल सगरमाथादेखि नेपालकै होचो भूभाग कचनकवलसम्म छ । पाथिभरा, पिण्डेश्वरी, मनकामना, वराह क्षेत्र, बुढासुव्वा, अर्जुनधारा आदि धार्मिक गन्तव्यहरू पनि प्रशस्तै छन् । इलामको कन्याम, श्रीअन्तु, कोशी टप्पु, भेडेटार, तेह्रथुमको लालीगुरास, पाँचथरको साधुटार ताल, संखुवासभाको सभापोखरी आदि पर्यटकीय गन्तव्यमा पर्यटकलाई घुमाउन सक्दा प्रशस्त आर्थिक आर्जन गर्न सकिने सम्भावना छ । यिनै पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनका लागि इष्ट टुरिजम मार्ट आयोजना गर्न लागिएको मिश्रले बताए । कार्यक्रमलाई सफल पार्न सीमा क्षेत्रका केही महत्वपूर्ण सहरहरूलाई लक्षित गरी प्रचार प्रसार शुरु गरिएको मिश्रले बताए । ‘विहार, बंगाल र सिक्किमसहित भुटानवाट पनि पर्यटकहरू आउन सक्ने सम्भावना देखिएको छ’, मिश्रले भने, ‘अझै प्रचार अभियानलाई तीव्रता दिन जरुरी छ ।’

भारतका सीमावर्ती सहरहरूवाट केही घन्टाको यात्रा तय गर्दा नै पुग्न सकिने पूर्वमा कैयौ पर्यकटीय गन्तव्यहरू छन् । पश्चिम बंगालसंग सीमा जोडिने झापा, इलामका पर्यटकीय क्षेत्र र विहारवाट प्रवेश गर्न सकिने मोरङ, सुनसरी, धनकुटा आदि जिल्लामा पर्यटकीय गन्तव्यहरू छन् ।भारतीय क्षेत्रमा प्रचार प्रसार गर्न नसक्दा उचित प्रवद्र्धन हुन सकेको पर्यटन व्यवसायी तथा इष्ट मार्ट आयोजक समितिका संयोजक भविस श्रेष्ठले बताए । श्रेष्ठले भारतका पर्यटकलाई नेपाल पठाउने र नेपालीलाई भारततिर ल्याउने अवस्था वनाउन जरुरी रहेको औंल्याए ।

इन्डो–नेपाल जर्नालिष्ट एसोसिएसनका अध्यक्ष पंकज रन्जितले पर्यटनको माध्यमवाट नेपाल र भारतवीचको सम्वन्धलाई थप मजबुद पार्न सकिने बताए । ‘नेपाल र भारतबीचको सम्वन्ध रोटीवेटीमा मात्रै सिमित पार्न हुन्न,’ उनले भने,‘पर्यटनसंग पनि जोड्नुपर्छ ।’होटल एसोसिएसन अफ कटिहारका अध्यक्ष प्रदीप कचौरीयाले भारतीयहरूलाई नेपालका पर्यटकीय गन्तव्यबारे कम जानकारी भएको बताउँदै भने, ‘काठमाडौ र पोखराबाहेक घुम्ने ठाउँ नै छैन भन्ने भ्रम छ ।’ उनले भारतका प्रमुख सहरहरूमा नेपालका मुख्य पर्यटकीय गन्तव्यहरूको होडिङ बोर्डहरू राख्न सुझाए ।कटिहारका संचारकर्मी विकास कुमारले भारतीय सवारीका लागि परमिट सुविधा व्यवस्थित गर्न सक्दा भारतीय पर्यटकहरूको घुइँचो लाग्ने बताए । सवारी परमिटकै लागि लामो समय लाग्ने, अनावश्यक ट्याक्स उठाउने कारणले नेपाल छिर्न भारतीयहरू दिग्दार मान्ने गरेको अनुभव उनले सुनाए ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?