कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति

संखुवासभा — आइतबार तीन महिने शिशुको उपचारका क्रममा मृत्यु भयो । खाँदबारी नगरपालिका ८ बस्दै आएका चन्द्र तामाङको छोरा राचनको मृत्यु भएको हो । शिशुको मृत्युपछि उनका आफन्तले अस्पतालको लापरबाही भन्दै शव बुझ्न मानेनन् ।

पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति

खाँदबारी अस्पतालले उपचार सम्भव नहुने भन्दै रिफर गरेको केही समयमा उनको मृत्यु भएको थियो । उनलाई थप उपचारका लागि धरान ल्याउने क्रममा मृत्यु भएको थियो । चैत १ गते लगाएको खोपका कारण राचनको मृत्यु भएको उनका बाबु चन्द्रले आरोप लगाए । आफन्तले शिशुको मृत शरीर अस्पतालमा ल्याएपछि सोमबार र मंगलबार दिनभर तनावग्रस्त भयो ।

बच्चालाई खोप लगाएपछि त्यहाँबाट रगत बग्न नरोकिएको उनले बताए । त्यसपछि स्वास्थ्यका कर्मचारीले आइसले सेक्न सल्लाह दिएको सम्भँmदै चन्द्र भन्छन्, ‘चिकित्सकको सल्लाहअनुसार गरिए पनि खोप दिइएको स्थानमा सुन्निएर घाउ भयो ।’ उनले छोराको मृत्युको कारण अस्पतालले दिनुपर्ने माग गरे । शिशुमा सुधार नआएपछि दुई दिनपछि बच्चालाई जाँचका लागि अस्पताल ल्याइएको थियो ।

शिशुको मृत्युपछि अस्पताल तीन दिनसम्म तनावग्रस्त बन्यो । मंगलबार साँझ दुई पक्षबीच सहमति भएपछि अस्पतालको विवाद समाधान भयो । अस्पतालले मृतकका परिवारलाई नगद ५ लाख क्षतिपूर्ति दिलाउन स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरिएको छ । शिशुको दाहसंस्कारका लागि अस्पताल विकास समितिले नगद २५ हजार सहयोग गरेको छ । बुधबार उनको अन्तिम संस्कार गरिएको छ । बच्चालाई जेठ १ गते स्वास्थ्यमा डिपीटी र पिसीभीको खोप लगाइएको थियो । अस्पताल र स्वास्थ्यका कर्मचारीबीचमा मनमुटाव हुँदा यस्ता घटना पटकपटक भइरहेको छ ।

कर्मचारी बीच आन्तरिक द्वन्द्व भएकाले उनीहरूबीच पटकपटक हात हालाहाल भएर झगडासमेत हुने गरेको छ । अस्पताल र जिल्ला स्वास्थ्यमा स्थानीय कर्मचारीको हाबी छ ।एकले अर्कोलाई नटेर्ने कारण समस्याले ठूलो रुप लिंदै गएको हो । स्थानीय कर्मचारी विभिन्न दलको आडमा काम गर्न खोज्ने स्वास्थ्यका एक कर्मचारीले बताए । उनीहरूकै कारण कार्यालय ४ महिनादेखि स्वास्थ्य प्रमुखविहीन बनेको छ । बाहिर जिल्लाबाट आएका ती कर्मचारी सधैं स्थानीयको दबाबमा बस्नुपरेको गुनासो गर्छन् । यो जिल्ला घर भएका कर्मचारीले भनेको नमाने लफडामा हामीलाई नै फसाइदिन्छन्, उनले भने, ‘उनीहरूले जे भन्यो त्यही मान्नुपर्छ, नभए विना कारण फसिन्छ । आफू सिनियर भए पनि यहाँका जुनियर कर्मचारीले भनेको नमाने कुटाइसम्म खानुपरेको घटना सम्भँmदै उनले गुनासो गरे ।

तल्लो स्तरका कर्मचारीले भनेको नमान्दा डाक्टरलाई समेत फसाइदिएको घटना धेरै भएको उनले बताए । स्थानीय कर्मचारीको दबदबा धेरै भएकाले आफ्नो नाममा आएको तालिम गोष्ठी उनीहरूले नै लिने गरेको गुनासो उनले गरे । कार्यालय प्रमुखले मिलाएर लैजान पटकपटक सुझाब दिए पनि स्थानीय कर्मचारीले राजनीतिक दलको आडमा नेताहरू लगाएर धम्की दिने गरेको समेत खुलासा गरे । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य स्थानीय कर्मचारीलाई तह नलगाएसम्म अस्पताल र स्वास्थ्यमा सुधार नहुने बताउँछन् । त्यहाँ सधैंको झगडा र कलह छ । उनले भने, ‘केही स्थानीय कर्मचारीलाई उनीहरूको दरबन्दीमा नपठाएसम्म यस्तै हो ।’

प्रकाशित : जेष्ठ १०, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?