मापदण्डविपरीत सडक

दमक — गौरादह–बैगुन्धुरा–कोरोबारी सडक ठेकेदारले मापदण्डविपरीत निर्माण गरिरहेको पाइएको छ । ठेकेदार कम्पनीले मापदण्डअनुसार सब बेस नै नगरी उक्त सडक निर्माण गरिरहेको पाइएको हो ।

मापदण्डविपरीत सडक

डिभिजन सडक कार्यालय दमकका इन्जिनियर बिपीन ढुंगानाका अनुसार उक्त सडकमा ६ इन्च सब बेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, निर्माण कम्पनीले २–३ इन्च मात्रै सब बेस गरेर सडक निर्माण गरिरहेको पाइएको इन्जिनियरसहितको अनुगमन समितिले पुष्टि गरेको छ ।

सडक मापदण्ड विपरीत निर्माण भएको गुनासो आएपछि मंगलबार सडक डिभिजनका इन्जिनियर, गौरादह नगरपालिका १ का वडाध्यक्ष, वडासदस्य, स्थानीयसहितको संयुक्त टोलीले सडक निर्माणको स्थलगत अनुगमन गरेको थियो । गौरादह–बैगुन्धुरा–कोरोबारी सडक खण्डको ७ किलोमिटर ६ सय मिटर सडक कालोपत्रे गर्ने ठेक्का इलामको नागार्जुन–विष्णु जेभीले लिएको छ । उसले पाँच करोड ७२ लाख ४२ हजार ८८७ रुपैयाँमा ठेक्का पाएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । ०७४ वैशाख २५ गते ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको काम २२ महिनाभित्र सक्नुपर्ने कार्यालयले जनाएको छ । सम्झौताअनुसार डीपुचोकदेखि गौरादहको बजार क्षेत्रभित्र पर्ने गरी ८ सय मिटर सडक ७ मिटर चौडाइ तथा बाँकी ६ हजार ८ सय ७१ मिटर सडकमा ५ मिटर चौडाइको कालोपत्रे गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

वडाध्यक्ष नगेन्द्र भण्डारीले अनुगमनका क्रममा ९० प्रतिशत सडक खण्डमा मापदण्ड विपरीत काम गरेको पाइएको बताए । उनले ठेकेदारले न्यूनतम् मापदण्डसमेत पूरा नगरेकाले पुन: सडक निर्माण गर्नुपर्ने माग गरे । अनुगमनमा सहभागी वडा सदस्य कोमल ढुंगानाले डीपुचोकदेखि किस्नेखोलासम्मको ३२ सय मिटर सडक खण्डमा पूरै मापदण्ड विपरीत काम भएको दाबी गरे ।

उनले छिटफुट केही ठाउँमा बाहेक सबै ठाउँमा ३ इन्चसम्म मात्रै सब बेस गरेको बताए । ‘अनुगमनका क्रममा हामीले अधिकांश ठाउँमा गैतीले खनेर हेर्‍यौं । काही पनि मापदण्डअनुसारको माल पाएनौं’ उनले भने, ‘सडक पूरै मापदण्डविपरीत निर्माण गरिएकाले पुन: जिरोबाट काम गर्नुपर्छ ।’वडा सदस्य ढुंगानाले ठेकेदारले सम्झौताअनुसार निर्माण सामग्री नहाल्नुका साथै पुरानो कालोपत्रे माथि नै गिटी, बालुवा झारेको समेत बताए । उनले भने,‘आवश्यक मात्रामा गिटी, बालुवा पनि हालेको छैन । त्यसमाथि पुरानो कालोपत्रे नभत्काई माथिबाट गिटी, बालुवा हाल्ने काम भएको छ ।’

ढुंगानाले मापदण्डविपरीत काम भएकाले सम्बन्धित निकायले ठेकेदार कम्पनीलाई दबाब दिएर पुन: जिरो लेभलबाट काम गर्न लगाउनुपर्ने माग गरे । इन्जिनियर बिपीन ढुंगानाले पनि ठेकेदार कम्पनीले सम्झौता अनुसार काम नगरेको पुष्टि गरे । ठेकेदार कम्पनीले ३२ सय मिटर सडकको अधिकांश ठाउँमा सम्झौता अनुसार निर्माण सामग्री नहालेको पाइएको इन्जिनियर ढुंगानाले बताए । ‘स्थानीयको चर्को गुनासो र हामीले गरेको स्थलगत अनुगमनका क्रममा पनि मापदण्डअनुसार काम गरेको नपाएपछि ठेकेदारलाई पुन: सुरुदेखि नै काम गर्न निर्देशन दिएका छौं,’ उनले भने ।

उनले सडक निर्माणका क्रममा जान्दा जान्दै पनि ६ इन्च सब बेस नगर्नु र पुरानो कालोपत्रे नभत्काउनु ठेकेदारको ठूलो लापरबाही भएको बताए । निर्माण कम्पनीका सुरेन्द्र प्रधानले सडक निर्माणमा गल्ती भएको स्वीकार गरे । उनले प्रचार गरिएजस्तो पूरै सडकमा मापदण्डअनुसार निर्माण सामग्री नभएको कुरा गलत भएको बताए ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?