३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खण्डहर बन्यो आदिवासी संग्रहालय

डम्बरसिं राई

खोटाङ — आठ वर्षअघि निर्माण सुरु भएको आदिवासी जनजाति भवन सम्पन्न नहुँदै खण्डहर बनेको छ । दल संलग्न उपभोक्ता समितिले आर्थिक अनियमितता गरेपछि भवन सम्पन्न नहुँदै खण्डहर बनेको हो ।

खण्डहर बन्यो आदिवासी संग्रहालय

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ अल्छेढुंगास्थित आदिवासी जनजाति संग्रहालय निर्माणमा तत्कालीन जिल्ला विकास समितिको आदिवासी जनजाति अन्तर्गत विनियोजन गरिएको १३ लाख ८३ हजार रुपैयाँ सर्वदलीय उपभोक्ता समितिका पदाधिकारीहरूले हिनामिना गरेपछि भवन निर्माण अलपत्र परेको हो ।

आदिवासी जनजाति संग्रहालय निर्मााण उपभोक्ता समितिका अध्यक्ष जयबहादर राई र कोषाध्यक्ष रामकुमारी राईको हस्ताक्षर किर्ते गरी बैंकबाट रकम निकासा गरिएको भन्दै कोषाध्यक्ष राईले जिल्ला प्रशासनमार्फत अख्तियारमा उजुरी दिएकी थिइन् । कोषाध्यक्ष राईका अनुसार राष्ट्रिय वाणिज्य बैंक शाखा दिक्तेलमा रहेको चल्ती हिसाव नम्बर २५८३ को रकम पटक–पटक गरी १३ लाख ८३ हजार रुपैयाँ निकालिएको हो ।

राईले गुणस्तरहीन भवन निर्माण गरिएकाले आफूले रकम निकासा गर्न नमानेकाले किर्ते हस्ताक्षर गरेर निकासा गरेको बताइन् । उनले जनाएअनुसार २०६७ साल ३१ गते दुई लाख ५० हजार, असोज २१ गते तीन लाख, चैत १ गते एक लाख ८० हजार र २० गते ८३ हजार रुपैयाँ किर्ते हस्ताक्षरबाट निकालिएको छ । यसबारे सबै विवरण खुलाएर जिल्ला प्रशासनमार्फत अख्तियार आयोगमा उजुरी दिएको राईले सुनाइन् ।

उपभोक्ता समितिमा कांग्रेस, तत्कालीन एमाले र माओवादी संलग्न पदाधिकारीहरू संलग्न थिए । निर्माणमा संलग्न विष्णुराज राई लगायतको संलग्नतामा किर्ते गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । यसमध्ये निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई र निर्माणमा संलग्न भक्तकर्ण राईको मृत्यु भइसकेको छ ।

दल संलग्न उपभोक्ता समितिले निर्माण थालेको आदिवासी जनजाति भवन खण्डहर बनेपछि चौतर्फी विरोध भएको छ । उपभोक्ता समिति अध्यक्षमा कांग्रेसका जयबहादुर राई, उपाध्यक्ष तत्कालीन एमालेका सुरेन्द्रकुमार राई, सचिवमा तत्कालीन माओवादीका दीपेन्द्र राई, कोषाध्यक्षमा कांग्रेसकी रामकुमारी राई थिइन् । सदस्यहरूमा अन्य दलका पनि संलग्न थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले उक्त भवन निर्माण अनियमिततापछि अख्तियारमा परेको उजुरी समेत अलपत्र परेको बताए ।

प्रकाशित : जेष्ठ ११, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?