२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हिमाली गाउँका विद्यार्थीलाई छात्रावासको समस्या

आनन्द गौतम

लेलेप (ताप्लेजुङ) — लेलेपमा अध्ययनरत विद्यार्थीलाई छात्रावासको समस्या भएको छ । विद्यालयसँग भएको भवनमा नअटाएपछि व्यवस्थापनमा कठिनाइ भएको हो ।

हिमाली गाउँका विद्यार्थीलाई छात्रावासको समस्या

सानो ठाउँमा छात्रहरू पनि बस्नुपर्ने भएकाले बाहिरबाट आएका अधिकांश छात्राहरूले छात्रावासमा बस्न निवेदन दिएका छन् । २० जनाको क्षमता रहेको छात्रावास भवनमा बस्न ९५ जनाको आवेदन परेको विद्यालय प्रशासनले जनाएको छ ।

यहाँ अध्ययन गर्ने ३५ जना छात्राहरूलाई सरकारले हिमाली छात्रावासको सुविधा दिएको छ । २० बाट बढाएर यो वर्ष ३५ जना पुर्‍याएको हो । उनीहरूले मासिक तीन हजार नगद पाउँछन् । सरकारले आवासीय सुविधा पनि उपलब्ध गराउने बताएको थियो ।

विद्यार्थी संख्या बढी हुँदा विद्यालयले सबै छात्राहरूलाई मिलाएर राख्ने र छात्रवृत्तिको रकम पनि बराबरी दिने गरेको थियो । यहाँ २० जनाको कोटामा ३२ जना छात्राहरू बस्ने गरेका थिए । विद्यालयसँग अरू भवन नभएको र गाउँमा पनि एकै ठाउँमा राख्न सक्नेगरी भौतिक संरचना नभएकाले समस्या भएको प्रधानाध्यापक राम तामाङ बताउँछन् ।

अभिभावकले छात्रावास पाउने आसमा ल्याएकाले विद्यार्थी व्यवस्थापन विद्यालयका लागि चुनौती बनेको हो । फक्तालुङ गाउँपालिका ६ लेलेपको यो विद्यालयमा ओलाङचुङगोला, लेलेपको घुन्सा, फले, ग्याब्ला, तापेथोक, इखावु, खेजेनिम, लिंखिमदेखिका विद्यार्थी जाने गरेका छन् । तामाङका अनुसार यो वर्ष चार सय सात जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो वर्षको तुलनामा ३५ जना विद्यार्थी थपिएको उनले बताए । भौगोलिक हिसावले जिल्लाकै ठूलो वडा फक्तालुङ ६, ७ र छिमेकी ५ नम्बर वडा तापेथोकमा पनि माध्यमिक विद्यालय नभएकाले यहाँ विद्यार्थीको चाप बढेको हो । सरकारले पनि उच्च हिमाली क्षेत्रका विद्यार्थीले शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यकासाथ विशेष छात्रावृत्ति उपलब्ध गराएको हो । यो विद्यालयमा अध्ययनका लागि डेढ दिनको पैदल दूरीबाट विद्यार्थी आउने विद्यालयले जनाएको छ । यो सदरमुकाम फुङलिङबाट एक दिनको पैदलमा रहेको छ ।

हालको छात्रावास भवन कञ्चनजंघा संरक्षण क्षेत्र, तत्कालीन लेले गाविस, स्थानीय संघसंस्था लगायतको सहयोगमा निर्माण गरिएको हो । छ वटा कोठा रहेको भवनमा एउटामा सात/आठ जनासम्म बस्छन् । उनीहरूले नजिकको जंगलबाट झिक्रा संकलन गर्ने र आफैं पकाएर खाने गरेका छन् । यहाँ पहिला छात्रवास भवन समेत रहेको थियो । २०६८ सालको भूकम्पले भवन भत्काएपछि छात्रहरू गाउँमा बस्ने गरेका छन् ।

सुरक्षालाई दृष्टिगत गरी विद्यालयले छात्राहरूका लागि भवन निर्माण गरेको हो । समस्याका विषयमा गाउँपालिका र दातृ संस्थालाई समेत अनुरोध गरेको प्रधानाध्यापक तामाङ बताउँछन् । निर्माणका लागि आश्वासन भने कसैले दिएका छैनन् । यसै क्षेत्रमा काम गर्दै आएको संस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालका प्रबन्धक राजेन्द्र पन्त डोनरसँग कुरा गरेको तर प्रस्ट भइनसकेको बताउँछन् ।

प्रकाशित : जेष्ठ ११, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?