तरकारी खेतीबाटै मनग्य

देवनारायण साह

मोरङ — जहदा गाउँपालिका ४ का देवानन्द साहले वर्षेनी ५ बिघामा तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाट वार्षिक न्यूनतम ७/८ लाख आम्दानी भइरहेको बताए ।

तरकारी खेतीबाटै मनग्य

‘वर्षमा तरकारी खेतीको २ सिजन हुन्छ, हिउँदे र बर्षे ।’ उनले भने, ‘हिउँदे तरकारीमा काउली, बन्दा काउली, टमाटर, आलु, खुर्सानी र बर्षेमा करेला, बोरी, भिन्डी, भण्टा, खुर्सानी खेती गर्दै आएको छु ।’ ६ बिघा जग्गामध्ये ५ बिघामा तरकारी बाली लगाउँदै आएको उनको भनाइ छ । ‘अहिले २ बिघामा टमाटर, करेला, भिन्डी, बोरी र खुर्सानी फलिरहेको छ,’ उनले भने, ‘खेतमा फलेको तरकारी अहिले दैनिक बजार पुर्‍याउन भ्याइनभ्याई छ र यस वर्ष असिना परेकोले तरकारी बालीमा असर गरेकाले केही कम आम्दानी हुने भएको छ ।’

उनले बर्षे तरकारी बालीबाट ३/४ लाख र हिउँदे तरकारीबाट ३/४ लाख आम्दानी हुने गरेको बताए । बुवाबाजेको पालादेखि नै तरकारी खेती हुँदै आएको र त्यसलाई नै आफूले पनि निरन्तरता दिएको उनले बताए । खेतमा फलेको तरकारी विराटनगरमा लगेर बिक्री गर्दै आएको उनले बताए । ‘जतिसुकै तरकारी उत्पादन भए पनि बजारको अभाव हुँदैन किनकि नजिकैको बजार विराटनगरमा लगेपछि सबै तरकारी बिक्री हुन्छ,’ उनले भने, ‘तरकारी महँगिएको समयमा व्यपारीहरू खेतमा नै खरिद गर्न आइपुग्ने गरेको छ ।’

तरकारी खेतीको आम्दानीले छोराछोरीलाई शिक्षा र जग्गा जोडेको उनी भन्छन् । ‘तरकारी खेतीले २ छोरी र २ छोरालाई राम्रो शिक्षा दिएको छु,’ उनले भने, ‘जेठी छोरी सोनी बीबीएस, छोरा देवराज कक्षा १२, अर्की छोरी लक्ष्मी कक्षा १० र अर्का छोरा सुभराज कक्षा ९ मा निजी विद्यालयमा पढदै छ ।’ चारै छोराछोरीलाई उच्च तहसम्मको शिक्षा दिन तरकारी खेती पुग्ने व्यवस्था गरेको उनले बताए । उनले तरकारी खेतीबाट भएको आम्दानीले गाउँमा केही जग्गा जोड्नुका साथै विराटनगरमा पनि घडेरी खरिद गरेको सुनाए । वर्षौंदेखि तरकारी खेती गर्दै आए पनि यहाँ समस्या धेरै भएको उनी भन्छन् । सिँचाइ, कृषि मल, गुणस्तरीय उन्नत जातको बीउ अभाव र खेतमा फलेको तरकारी बजार पुर्‍याउन बाटोको असहजता रहेको उनले गुनासो पोखे । लोहन्द्रा खोलामा पुल नभएर निकै तरकारी विराटनगर पुर्‍याउन निकै सास्ती
व्यहोर्दै आएको उनले बताए ।

स्थानीय लक्ष्मण प्रसाद सिंहले पनि वर्षेनी १ बिघा जग्गामा तरकारी खेती गर्दै आएको बताए । ‘अहिले भण्टा, बोडी, करेला र टमाटर फलिरहेको छ,’ उनले भने, ‘बिहानदेखि बेलुकासम्म एकछिनको फुर्सद हुँदैन, खेतमा तरकारी टिप्ने र बजार पुर्‍याउने मै समय बित्ने गरेको छ ।’ अहिलेको बर्षे तरकारी बालीबाट २ लाख जति र हिउँदे तरकारीबाट पनि २ लाख गरी ४ लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । उनले खेतीबाट नै छोरी र २ छोराको लालनपालन, शिक्षादिक्षा दिनुका साथै परिवार पाल्दै आएको बताए । स्थानीय पतुङ सिंहले यहाँका १ हजार बढी घर परिवार किसान तराकारी खेती गर्दै आएको बताए । प्रत्येक किसानले हिउँदे र बर्षे गरी दुर्ए पटक तरकारी बाली लगाएर मनग्यै आम्दानी गरिरहेको उनको भनाइ थियो ।

जहदा गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँ तरकारी ब्लक बनाएर सहयोग गरिरहेको उनले सुनाए । गाउँपालिकाका कृषि संयोजक रामदेव सिंहले वडा ३ र ४ किसानहरूलाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि ब्लक निर्माण गरेर काम थालेको बताए ।

‘यहाँका किसानहरूले राम्रो तरिकाले तरकारी बाली गर्दै आएकोले अझै वैज्ञानिक तरिकाले व्यावसायिक रूपमा खेती गर्न सहयोग पुर्‍याउने दृष्टिकोणले १ सय हेक्टरमा खेती गर्ने लक्ष्यका साथ तरकारी ब्लक निर्माण गरेका छौं,’ उनले भने, ‘तरकारी ब्लकका लागि गाउँपालिकाले परियोजनाअन्तर्गत आएको बजेटमध्ये १७ लाख ३० बजेट उपलब्ध गराइएको छ ।’ तरकारी ब्लकले किसानहरूलाई खेती गर्न सहज हुनुका साथै सुविधा पनि हुने उनले सुनाए ।

तरकारी ब्लकका अध्यक्ष धर्मचन्द मण्डलले तरकारी ब्लक घोषणा भएपछि गाउँपालिकाले बजेट पनि उपलब्ध गराइदिएको र जसबाट किसानहरूलाई विभिन्न कृषि औजार बितरण गरेको बताए । ब्लकका सचिव तराचन्द राजबंशीले सिँचाइका लागि १० वटा बोडिङ, २५ थान पानी तान्ने विद्युतीय मोटर, १० थान पम्पसेट, स्पेयर ३५, विद्युतीय काँटा १० वटा किसानहरूलाई वितरण गरिएको बताए ।

जहदा गाउँपालिका अध्यक्ष कैलासप्रसाद मण्डलले यहाँ १ सय ५० विघाभन्दा बढी जग्गामा किसानहरूले तरकारी खेती गर्दै आएको बताए । ‘तरकारी खेतीलाई व्यवस्थित गरेर गाउँपालिकाको पहिचान नै तरकारीबाट गराउने गरी काम सुरु गरेका छौं,’ उनले भने, ‘किसानलाई वैज्ञानिक तरिकाले व्यावसायिक खेतीका लागि यस वर्ष कृषिमा ८८ लाख ७९ हजार, पुशपक्षीमा १३ लाख ८४ हजार बजेट विनियोजन गरेर काम भइरहेको छ ।’ उनले आउँदो आर्थिक वर्षमा कृषिलाई नै पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाको नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?