१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपचारका क्रममा २ को मृत्यु

चिकित्सकको लापरबाही
देवनारायण साह

मोरङ — विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चिकित्सकको लापरबाहीले दुई जनाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

उपचारका क्रममा २ को मृत्यु

सुनबर्षी ८ का ३५ वर्षीय चैता मण्डलको शुक्रबार बिहान ५ बजे र झापाको बिर्तामोड १० की ३० वर्षीया सविता राईको बिहीबार साँझ ४ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

बिर्तामोड १० की गायत्री राईले देउरानी सविताको टाउको दुखेको र ज्वरो आएपछि उपचारका लागि बिहीबार बिहान ११ बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेको बताइन् । ‘अस्पतालमा भर्ना गराएपछि चिकित्सकले तत्काल दुईवटा सुई लगाउनुभयो जसमध्ये एउटा भाँचिएको थियो,’ उनले भनिन्, ‘सुई लगाएदेखि उनी छटपटाउन थालिन् । त्यो देखेर आफूले पटकपटक डाक्टरलाई बोलाउन त्यहाँ खटिएका नर्सलाई आग्रह गरेँ तर मान्नुभएन र एक स्वास्थ्यकर्मी दिदीले एउटा ट्याबलेट खुवाउन भन्नुभयो र त्यो खुवाएको एकछिनमा मृत्यु भयो तर डाक्टर बोलाइदिएनन् ।’

बिरामीको मृत्यु भइसके पनि अस्पताल प्रशासन बेखबर रहेको उनले सुनाइन् ।अस्पताल प्रशासनले वास्ता नगरेपछि प्रहरी बोलाएको उनले गुनासो पोखिन् । उनले यहाँ अध्ययनरत एमबीएसका विद्यार्थीको भरमा अस्पताल चलिरहेको र चिकित्सक भेट्न पनि घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको गुनासो पोखिन् । मृतकका पति वसन्त राई वैदेशिक रोजगारीमा ४ महिनाअघि कतार गएको र ४ वर्षीया छोरी निप्सुन रहेको उनले बताइन् । उनले अस्पताल प्रशासनले शुक्रबार बिहान ९ बजे घटनाबारे छलफलका लागि बस्ने भनेको तर पछि अस्पतालको आधिकारिक व्यक्ति नभएको भन्दै बस्न नमानेको बताइन् ।

आफूहरूले शव नबुझ्ने र न्याय प्राप्तिका लागि आन्दोलनमा उत्रिने उनले बताइन् । ‘देउरानी बित्नुभयो तर अरूको यस्तो लापरबाहीले मृत्यु नहोस् भन्ने चाहेका छौं,’ उनले भनिन् । उनले मेडिकल काउन्सिलमा उजुरी दिएर शनिबारदेखि आन्दोलन थाल्ने पनि बताइन् । मृतकका आफन्त दिलबहादुर राईले पत्रपत्रिका, रेडियो, टेलिभिजनमा राम्रो सुविधा भएको भन्दै प्रचार गरी बिरामी तान्ने र उपचारै नगरी मृत्युको मुखमा पुर्‍याउने यस्ता स्वास्थ्य संस्थालाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे ।

सुनबर्षी ८ का सुरजकुमार मण्डलले ठूलोबुबा चैतालाई पेट दुखेपछि उपचारका लागि भर्ना गराएका थिए ।

‘आन्द्रामा घाउ भएको भन्दै गत बिहीबार शल्यक्रिया गरियो तर डाक्टरले इन्फेक्सन भएको भन्दै बिहीबार फेरि अप्रेसन गरे,’ उनले भने, ‘२/२ पटक अप्रेसन गरे पनि ठूलोबुवालाई बचाउन सकेनन्, पहिलोपटक शल्यक्रिया गरेदेखि भेन्टिलेटरमै राखेर उपचार गरिरहँदा पनि कसरी इन्फेक्सन भयो होला ? बुझ्न सकेनौं ।’ उनका अनुसार पहिलोपटक अप्रेसन गरेपछि डाक्टरले सातु खुवाएको र त्यही कारण इन्फेक्सन भएको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारका क्रममा मृत्यु हुने बिरामी पहुँचवाला भएको अवस्थामा अस्पताल प्रशासनले केही रकम दिएर मिलाउने गरेको तर बोल्न नसक्ने सर्वसाधारण भएपछि भेट्नै नमान्ने स्थानीयको भनाइ छ । सुरजले आफूहरू शुक्रबार बिहान एकछिन होहल्ला गर्‍यौं तर अस्पताल प्रशासनका कोही पनि नभेटेपछि शव बुझेर फर्किन बाध्य भएको गुनासो पोखे ।

अस्पताल प्रशासनका नारायण दाहालले सुनबर्षीका बिरामीको शव बुझेर गइसकेको तर बिर्तामोडका बिरामीको शव अहिलेसम्म नबुझेको बताए । ‘मृतकका आफन्तसँग शुक्रबार बिहान एक चरण छलफल भयो तर कुरो मिल्न सकेन,’ उनले भने, ‘मृतककी छोरीको नाममा १५ लाखको अक्षय कोष स्थापना गर्ने माग अस्पतालले पूरा गर्न नसक्ने भनेपछि उनीहरू शव बुझन मानेनन् ।’

विराटनगरस्थित अधिकांश अस्पतालमा उपचारका क्रममा बिरामी मृत्यु भएपछि होहल्ला र आन्दोलन हुँदै आएको तर पैसा लिएर मिलापत्र हुने गरेको स्थानीय रामसेवक यादव बताउँछन् । ‘चिकित्सककै लापरबाहीले मृत्यु भए मेडिकल काउन्सिलमा उजुरी दिएर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने हो तर त्यस्तो आजसम्म कसैले गरेको छैन,’ उनले भने । अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आन्दोलन गरिदिने र सम्झौता पनि गर्ने समूह क्रियाशील रहेको स्थानीय मनोज खड्काको भनाइ छ । आन्दोलन गरी क्षतिपूर्ति दिलाएबापत उनीहरूले पीडित र अस्पताल दुवै पक्षबाट मोटो रकम असुल्दै आएको पनि उनले सुनाए ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?