२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

म्याराथनमा भविष्य खोज्दै नीरकला

कुम्भराज राई

ओखलढुंगा — महाकुलुङ ४, सोलुखुम्बुकी नीरकला कुलुङ २८ वर्षकी भइन् । घरको चार छोरीमध्येकी जेठी नीरकलाले कक्षा सातभन्दा माथि पढ्न सकिनन् ।

म्याराथनमा भविष्य खोज्दै नीरकला

सानै उमेरमा कमाउनुपर्ने बाध्यताले गाउँमा चलेको चलनअनुसार घर छाडेर खुम्बुक्षेत्रको होटलमा काम गर्न थालिन् ।

उनले त्यतिखेरै म्याराथन दौड प्रतियोगिताबारे थाहा पाइन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उनले बिनाअभ्यास केही प्रतियोगितामा प्रतिस्पर्धा गरिन् । सात वर्षअघि २०६९ मा गाउँकै हिमचुली युवा एकता क्लव बुङले आयोजना गरेको २३.९६ किमि दौड प्रतियोगितामा सहभागी भइन् । उनले दोस्रो स्थान पाइन् ।

त्यसपछिका थुप्रै प्रतियोगितामा उनले सोचेजस्तो परिणाम पाइनन् । पहिलोपटक ४२ किलोमिटर लामो एभरेस्ट म्याराथनमा सातौँ स्थानमा चित्त बुझाउनुपर्‍यो । २०७१ सालको ‘फिफ लेक्स एडभेन्चर म्याराथन’ मा प्रथम भइन् । गाउँकै वाकु भिजन नेपालले आयोजना गरेको १५ किलोमिटर दौड प्रतियोगितामा उपविजेता बनिन् ।

सन् २०१५ को एभरेस्ट म्याराथनमा तृतीय स्थान हासिल गरिन् । यो नतिजा उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो । ‘राम्रा प्रतियोगिताहरूमा कतै सोचेजस्तो नतिजा पाइरहेको थिइनँ ।’ उनले भनिन्, ‘जब एभरेस्ट म्याराथनको महिलातर्फ थर्ड भएँ । त्यसपछि अझै दौडिने हौसला जाग्यो ।’

अल्ट्रा एभरेस्ट म्याराथन २०१५ मा उपविजेता भइन् । उक्त प्रतियोगिता ५ हजार १ सय ४० मिटर अग्लो स्थान गोरक्सेपबाट सुरु भई नाम्चेमा आएर टुंगिन्छ । उनको अथक प्रयासले एभरेस्ट म्याराथन ४२ किलोमिटर दौडतर्फ सन् २०१६ मा उपविजेता बनेरै छाडिन् । उनले अन्नपूर्ण मण्डला ट्रेलमा ७ किलो भारीसहित दौडिइन् । तीन किलोमिटर काठमाडौं भर्टिकल रेस जितिन् । ३२ किलोमिटर सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय ट्रेल रेसको उपाधि हात पारिन् । अन्तत: २०१७ को एभरेस्ट म्यारथनमा ४२ किमि दूरी ४ घण्टा ५१ मिनेट ३३ सेकेन्डमा पार गर्दै दोस्रोपटक विजेता बनिन् । ०१७ मै आयोजित एभरेस्ट अस्ट्रा म्याराथनको उपाधि पनि हात पारिन् ।

भर्खरै सम्पन्न टान इन्टरनेसनल ‘लाङटाङ म्याराथन’ को उपाधि पनि नीरकलाले जितेकी छन् । अहिले उनी लगातार धाबिका बनेरै देशलाई चिनाउने लक्ष्यका साथ मिहिनेत गरिरहेकी छन् । अवसर पाएमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि प्रतिस्पर्धा गर्ने उनको धोको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?