चरन घटेपछि भेडापालक समस्यामा

चन्द्र कार्की

तेह्रथुम — चरन क्षेत्र अभावमा पूर्वी पहाडमा भेडा पालन व्यवसाय हराउँदै गएको छ । पछिल्लो समय चरन समस्या भएपछि किसानले भेडा पालन व्यवसाय छोडेका हुन् ।

चरन घटेपछि भेडापालक समस्यामा

भेडापालन गरी राडीपाखी उत्पादन गर्दै आएका किसानले व्यवसायबाट हात झिकेका छन् ।

तेह्रथुमसहित संखुवासभा र ताप्लेजुङका उच्च पहाडी तथा कछाड क्षेत्रमा पुस्तौंदेखि व्यावसायिक रूपमा पालिएका भेडालाई बढ्दो सामुदायिक वन र घट्दो चरिचरनका कारण चरन क्षेत्र अभाव भएको किसानको भनाइ छ ।

चरन क्षेत्र साँघुरिएकाले पुराना भेडापालक किसानहरू समेत यो व्यवसाय छोडेर अर्को व्यवसायमा लाग्न थालेको धर्मदेवी नगरपालिका संखुवासभा तामाफोकका भेडापालक किसान रामकाजी गुरुङले बताए । पूर्वी पहाडमा ओखलढुंगाको रुम्जाटारपछि भेडापालनका लागि प्रख्यात मानिएका यी जिल्लामा दस वर्षअघिको तुलनामा अहिले भेडा पालन गर्ने कृषकको संख्या ९० प्रतिशतले घटेको पशु सेवा कार्यालयका प्रमुख शिवजीप्रसाद दासले बताए ।दशकअघिसम्म साना र ठूला गरी यी तीन जिल्लामा ९ सयको संख्यामा रहेका भेडीगोठको संख्या घटेर अहिले १ सय ५० को हाराहारीमा झरेका छन् । कृषक गुरुङका भनाइमा यी बाँकी रहेका भेडीगोठमा पनि भेडाको संख्या थोरै छ ।

पुस्तौंदेखि भेडा चराउँदै आएका पुराना चौर र खर्कहरू सामुदायिक वनमा परिणत भएपछि भेडा चराउन खर्कको अभाव भएको हो । जिल्ला वन कार्यालयले प्राकृतिक रूपमा रहेको वनलाई स्थानीय जनतालाई संरक्षण गरी उपभोग गर्ने सम्मको अधिकार दिएर सामुदायिक वनका रूपमा समूहलाई जिम्मा दिएपछि बाँकी रहेका यी भेडी गोठका भेडालाई कहाँ लगेर चराउने भन्ने चिन्ता कृषकलाई परेको छ ।वन कार्यालयले समुदायलाई हस्तान्तरण गरेका जिल्लाका ३ सय ६० बढी सामुदायिक वनमा उपभोक्ता समितिले भेडा चराउन दिँदैनन् । पहिले भेडी गोठालाले तालुकदार वा जमिनदारलाई निश्चित कर बुझाएपछि लामो समयसम्म भेडा चराउन पाउथे । चरन क्षेत्रमा पुर्‍याकएका भेडालाई सामुदायिक वन, स्थानीय क्लव, विद्यालय लगायतले चन्दा मागेर हैरान पार्ने गरेको संखुवासभा मादी नगरपालिकाका चौकीका किसान सुरेशकुमार पाठकले बताए ।

जिल्ला वन अधिकृत देवीचन्न्द्र पोखरेलले सामुदायिक वन समूहले पशु चरनका लागि अलग्गै व्यवस्था गर्न नसक्दा भेडापालक किसानलाई असर परेको बताए । भेडालाई अनिवार्य जंगल, नागी र चौर क्षेत्रमा चराउनु पर्छ । भेडा पालनका लागि प्रसिद्ध मानिएका संखुवासभाका नुनढाकी, सिद्धकाली, सिद्धपोखरी, जलजला, नुम, हटिया, चेपुवा, सभापोखरी, तामाफोक, बाह्रविसे तेह्रथुमका श्रीजुङ, मोराहाङ, सुङनाम र सोल्मा गाविसका माथिल्लो क्षेत्र तथा ताप्लेजुङका हाङपाङ, चाँगे, ढुंगेसाँघु, निगुरादिन, फाकुम्बा, थिङलावु लगायतका क्षेत्रमा पनि भेडा पालन गर्नेको संख्या घटिरहेको छ । श्रीजुङका पुराना भेडापालक कृषक बमबहादुर गुरुङ भेडाका लागि चरन क्षेत्र नै मासिएपछि बाध्य भएर भेडा मास्नु परेको पीडा सुनाउँछन् ।

चरन क्षेत्रको अभावमा दिनदिनै ओरालो लागेको भेडापालन व्यवसायमा हालसम्म कुनै उन्नत प्रविधि भित्रिएको छैन । भेडालाई समय समयमा लाग्ने विभिन्न रोग, महामारी, जुका, नाम्लेजस्ता आन्तरिक तथा बाह्य परजीवीका बारेमा समेत भेडीगोठालालाई कुनै जानकारी छैन । भेडापालक किसानहरू परम्परागत औषधिमूलोबाटै भेडाको उपचार गर्दै आएका छन् ।भेडा चराउने स्थान र आसपासका इलाकाहरूमा पशु स्वास्थ्य कार्यालयहरू अहिले सम्म स्थापना भएका छैनन् । जसले गर्दा भेडामा कुनै रोग लागेमा वा महामारी फैलिएमा भेडापालक कृषकले ठूलो क्षति व्यहोर्नुपर्ने बाध्यता रहेको संखुवासभा मावादिनका भेडापालक कृषक सुरेन्द्र घिसिङले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?