२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

परबल खेतीबाट मनग्य कमाइ

देवनारायण साह

देवानगन्ज (सुनसरी) — देवानगन्ज गाउँपालिका ४ का किसान देवानन्द मेहता शास्त्रीले १८ कठ्ठामा परबल खेती गर्दै आएको छ । उनले परबल खेतीबाट धेरै आम्दानी भइरहेको बताए ।

परबल खेतीबाट मनग्य कमाइ

उनले परबल खेती छोराछोरीलाई उच्च शिक्षा दिनुका साथै घरजग्गा जोड्न समेत सफल भएको बताए ।

यस्तै, वडा ६ का अर्का किसान देवनारायण मेहताले पनि ५ कठ्ठामा परबल खेती गर्दै आएको बताए । परबल खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइ खर्च र जीवनयापन गर्न पुग्दै आएको उनले बताए ।

स्थानीय किसान विद्यानन्द मेहताले परबल खेती कात्तिक/मंसिरबाट सुरु हुने गरेको बताए । ‘परबलको लहरा नै रोप्ने गरिन्छ,’ उनले भने, ‘रोपेको लहरालाई माघबाट गोडमेल गर्दै कृषि मल, सिँचाइ गर्न सुरु गरेपछि चैत अन्तिम साताबाट परबल टिप्न सुरु भइहाल्छ ।’ परबल बहुवर्षे तरकारी बाली हो र यो हप्तामा एकपटकमात्रै किसानले टिपेर बेच्छन् । परबल खेतीमा अत्यधिक आम्दानी हुने गरेकाले किसानहरू वर्षेनी कति हुन्छ भन्न अप्ठ्यारो मान्ने गरेको पाइयो ।

परबल खेतीमा प्रतिकठ्ठा लागत कटाएर न्यूनतम १ लाख ५० हजार अधिकतम २ लाख ५० हजारसम्म कमाइ हुने महतोले बताए । ‘परबल दुई तरिकाले लगाइन्छ,’ उनले भने, ‘खेतमा पराल, पातपतिङ्गर ओछ्याएर त्यसैमाथि भुइँमै परबलको लहरा फैलिन दिने र अर्को थाङ्ग्रामाथि लहरा चढाएर खेती गरिन्छ ।’ थाङ्ग्रामाथि लहरा चढाएर खेती गर्नुभन्दा जमिनमा पराल वा पातपतिङगर ओछ्याएर लहरा फैलँदा परबल बढी सप्रिने गरेको उनको भनाइ छ ।

‘जमिनमा फैलिएको परबलको लहराको प्रत्येक पातमा २ देखि ४ वटा परबल फल्छ र किसानलाई बढी फाइदा हुन्छ,’ उनले भने, ‘परबलको लहरा जमिनमा परालमाथि फैलँदा प्रत्येक पात उम्रेको ठाउँबाट जरा पलाएर जमिनसम्म फैलिन्छ र बढी फल्छ तर थाङ्ग्रामाथि चढाएपछि जरो पलाउन पाउँदैन त्यसैले कम फल्छ ।’ दुई कठ्ठामा परबल खेतीबाट ६ लाख आम्दानी गरेको उनले बताए ।


अर्का किसान बैजनाथ मेहताले जमिनमा लहरा फलिएको परबल खेतीमा प्रत्येक हप्ता प्रतिकठ्ठा ६ मनसम्म फल्ने गरेको बताए । उनले पनि ४ कठ्ठामा परबल खेती गरेको बताए । हप्तामा २० देखि २४ मनसम्म परबल बेच्दै आएको उनको भनाइ छ ।‘परबल बिक्रीका लागि बजारको पनि आफूहरूलाई अभाव छैन,’ उनले भने, ‘देवानगन्ज गाउँपालिकाभरि भइरहेको परबल खरिद गर्नका लागि व्यापारीहरू काठमाडौं, जनकपुर, सर्लाही, सिरहा, लहान, राजविराज, विराटनगर, भारतको फारबिसगन्जबाट खेतमै आउने गरेका छन् ।’

देवानगन्ज गाउँपालिकाका कृषि संयोजक रमेशकुमार यादवले यहाँ महतो जातिको बाहुल्यता रहेकाले सबैले तरकारी खेती गर्दै आएको बताए । तरकारी खेतीका लागि गाउँपालिकाले किसानलाई प्रोत्साहित हुने गरी योजना र बजेट ल्याएको उनले बताए । गाउँभर करिब २ सय बिघामा परबल खेती हुने गरेको उनले बताए ।

देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले यहाँका अधिकांश किसानले न्यूनतम २/४ कठ्ठादेखि २/४ बिघासम्म परबल खेती गर्दै आएको बताए । ‘परबललगायत तरकारी खेतीका लागि कृषियन्त्र, सिँचाइ र कृषि मलको समयमा व्यवस्था गर्न योजनाबद्ध तरिकाले काम सुरु गरेका छौं,’ उनले भने, ‘प्रांगारिक मल उत्पादनका लागि बजेट विनियोजन गरेको त्यसको काम भइरहेकाले अब किसानलाई कृषि मलको अभाव हुँदैन ।’ उनले कृषिमा यस वर्ष ७१ करोड १६ लाख बजेट
विनियोजन गरेर किसान लक्षित योजना छनोट गरेर काम भइरहेको बताए ।

‘आउँदो आर्थिक वर्षमा किसानको समस्यालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छौं,’ उनले भने, ‘भारतीय सीमासँग जोडिएको यस गाउँपालिकाको प्रमुख आयस्रोत भनेको कृषि नै भएकाले मुलुकमै कृषिमा नमुना गाविस बनाउने लक्ष्यसाथ काम अघि बढाएका छौं ।’

प्रकाशित : जेष्ठ १३, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?