कम्प्युटर चलाउन नजान्ने सचिवका कारण सेवाग्राही प्रभावित

प्रदीप मेन्याङ्बो

सुनसरी — मुलुकमै पहिलो पटक कम्प्युटर प्रणालीबाट सेवाग्राहीलाई सेवा दिने ठाउँमा कम्प्युटर चलाउन नजान्ने सचिव सरुवा भएर आएपछि धरान–६ पाचकन्या  (साविक पाचकन्या गाविस) वडा समितिको कार्यालयको कामकाज ठप्प भएको छ । 

कम्प्युटर चलाउन नजान्ने सचिवका कारण सेवाग्राही प्रभावित

धरानमा गाभिएको पाचकन्यामा ०४९ सालदेखि मुलुकमै पहिलो पटक कम्युटर प्रणालीबाट सेवा सुरु गर्ने गाविस मानिन्थ्यो । धरान उपमहानगरपालिकाले आफ्ना सबै २० वटै वडामा कम्प्युटर र डिजिटल प्रविधिमा लैजाने जनाएपनि कर्मचारीहरुले प्राविधिक ज्ञान नजान्दा सेवाग्राही प्रभावित भएका हुन् ।


वडाध्यक्ष भुवनसिं बस्नेतले भने, ‘वडा कार्यालयमा सचिव त आए तर कम्प्युटर चलाउन नजानेपछि वडामा रहेका ९ हजार सेवाग्राहीले विहीबारदेखि सेवा लिनबाट बञ्चित भएका छन् ।’


वडा सचिव नारायण श्रेष्ठ धरान–१३ बाट सरुवा भएर गएका हुन् । वडा कार्यालयमा दैनिक जसो जन्म दर्ता, विभिन्न सिफारिस, मृत्यु दर्ता, जग्गाको नामसारी जस्ता काम लिएर आउने सेवाग्राही वडा समितिको सेवा अवरुद्ध भएपछि त्यसै फर्किएको वडाध्यक्ष बस्नेतले बताए ।


दुई महिनाको अवधिमा उक्त वडामा तीनजना सचिव परिवर्तन भएका छन् । पछिल्लो पटक सरुवा भएर आएका सचिव नारायण श्रेष्ठलाई कम्प्युटर प्रणालीबाट सेवा दिन नआएपछि सेवाग्राहीको काम हुन नसकेको वडाध्यक्ष भुवनसिंह बस्नेतले बताए ।


सचिव परिवर्तन भइरहँदा पनि सेवाग्राही प्रभावित भएका थिए । बल्ल बल्ल अएका नयाँ सचिवले कम्प्युटर चलाउन नजानेपछि सेवाग्राही झन् मारमा परेको बस्नेतले बताए । वडा सचिव फेरबदल हुँदा वडा समितिको कामकाजमा समेत समस्या हुन थालेको वडाध्यक्ष बस्नेतले बताए ।


उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले सचिव फेरबदल भएकाले सेवाग्राहीहरुलाई केही असुविधा भएको र चाडै समस्या हल गरिने बताए ।

प्रकाशित : जेष्ठ १७, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?