कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सेल्फीले चिनाउँदै पर्यटकीय गन्तव्य

विप्लव भट्टराई

इलाम — ‘सेल्फी’ नबुझ्ने कमै होलान् । मोबाइल सेटको प्रतिस्पर्धाबीच प्रयोग नगर्ने पनि भेट्न मुस्किल छ । बच्चादेखि पाकासम्मले समाजिक सञ्जालमा पोस्ट गर्नकै लागि भए पनि सेल्फी मारेकै हुन्छन् । त्यसमा पनि अग्रपंक्तिमा छ तन्नेरी जमात ।

सेल्फीले चिनाउँदै पर्यटकीय गन्तव्य

प्रविधिको विकास र मोबाइलको बढ्दो मोहसँगै छोटो अवधिमा चुलिएको सेल्फी क्रेजकै कारण कतिपय स्थान विशेष नै सेल्फीको नामबाट परिचित बनेका छन् ।


सिन्धुली खुर्कोट सडक खुलेसँगै पूर्वेलीको मनमस्तिष्कमा पसेको स्थान हो सिन्धुली बजार र सिन्धुलीगढीबीचको सेल्फी पोइन्ट । सेल्फी खिचेर फेसबुकमा पोस्ट्याएकै कारण यो स्थान चर्चामा मात्र छैन यहाँ पुगेर फोटो खिच्नेको भीडले चटपटे पसलदेखि होटल व्यवसायसम्म चलेको छ ।


सेल्फी क्रेज चुलिंदै जाँदा झेल्केघामले सबेरै स्पर्श गर्ने इलामको अन्तुमा चियाबारीबीचको पोखरीलाई सौन्दर्यकरण गरियो । पोखरीको एक कुनामा पानी बीच थुम्को बनाइयो अनि त्यसमाथि पार्क ।


अन्तु घुम्न तँछाडमँछाड गर्दै पुग्नेहरूको रोजाइमा झुल्केघामको दृश्यावलोकन, चियाबारीको हरियालीमा घुमघाम, लेप्चा संस्कृति र पुरातात्त्विक वस्तुको अवलोकन, पोखरीमा डुङ्गा सवारसँगै पानीबीचको डाँडाले भिड बटुल्छ ।


‘तालतालका सेल्फी हान्न पाएपछि गज्जब रमाइलो हुने रहेछ,’ विराटनगरबाट कलेजको टिमसँगै घुम्न आएकी जुनु शर्माले भनिन्, ‘क्यामेरामेन पनि नचाइने चियाबारीबीचको पोखरीमा सेल्फी हान्नको मजा नै बेग्लै ।’


सेल्फी क्रान्तिसँगै बनेको यो डाँडा चाहर्नेहरूले यसको नामनै सेल्फी पार्क राखिदिएका छन् । पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको ढापपोखरीमा पनि अन्तु पोखरीसँग नै मिल्दोजुल्दो गरी पानी बीचमा थुम्को बनाइएको छ ।


वरिपरिबाट डुङ्गा चल्ने गरेको डाँडालाई पोखरीसँगै आसपासका रमणीय सन्दकपुर, गैरीवास, जौवारी, मावुथामलगायत थुप्रै स्थान देख्न अनि फोटोमा कैद गर्न सकिने गरी बनाउने स्थानीयको लक्ष्य छ । थुम्काको निर्माण हुँदै गर्दा पुग्नेहरूले त्यसलाई पनि सेल्फी डाँडाको उपनाम दिइहाले ।


‘यहाँ घुम्न आउने अधिकांशले पानीबीचको यो डाँडाबारे सोध खोज गर्छन्,’ चन्द्रपाल थेवे ढाप सिमसार पर्यटन प्रवद्र्धन विकास समिति सदस्य दिलीप गुरुङले भने, ‘बजेट अभावमा पार्क र पुल बनाउन सकिएको छैन तर कहिले बन्ने र सेल्फी खिच्न पाउने भन्ने जिज्ञासा अधिकांशको हुन्छ ।’


मुलुककै पुरानो चिया बगानका कारण चियावारीको गाउँ बुझिने सदरमुकाम क्षेत्र पर्यटकीय हिसाबले चर्चामा छ । चियासँगै ‘छ अ’ ले कहिलिएका कृषिका विभिन्न उपज र मनोरम दृश्यका कारण चर्चा कमाएको सदरमुकाममा नै पछिल्लो पटक पर्यटकको ताँती लाग्ने स्थान हो भालुढुंगा । हराभरा जंगल, गुफासँगै दृश्यावलोकन र वनभोजका लागि पनि अब्बल ठानिदै गएको भालुढुंगामा पनि पर्यटकको मन तान्न सेल्फीकै सहारा लिइएको छ ।


यस क्षेत्रको मुख्य जमघट हुने स्थानमा नि:शुल्क वाईफाईको व्यवस्था छ । अब भालुढुङ्गा पुग्नेले सेल्फी फ्रेममा बेरिएर आसपासको रमणीय दृश्यसहित आफ्नै फोटो नि:शुल्क वाईफाई मार्फत भाइरल बनाउन पाउनेछन् । ‘यहाँ आउने अधिकांशले सेल्फी नहान्ने कुरै भएन,’ भालुढुंगा सामुदायिक पर्यटन विकास संस्थाका अध्यक्ष हरि गुरुङले भने, ‘सेल्फीप्रेमीको जमातलाई नै बुझेर फ्रेमको निर्माण गरेका हौं ।’


सरकारी निकाय र अन्य सरोकारवाला निकायको खासै प्राथमिकतामा पर्न नसकेको अवस्थामा स्थानीय केही जागरुक युवाहरूको मरिहत्तेले परिचय बनाउँदै गएको हात्तीढुंगा सजाउने क्रममा मलेसियामा बस्ने इलामेहरूको योगदान उच्च छ ।


आगन्तुक बस्ने बेन्चदेखि सजावटका विभिन्न काममा सहयोग गर्दै आएको प्रवासी इलामेली जनसम्पर्क मञ्चले सेल्फी फ्रेम बनाउन पनि सहयोग जुटाएको छ । करिबव ५० हजार सहयोग उनीहरूले गरेपछि यो नौलो संरचना निर्माण भएको हो । ।

प्रकाशित : जेष्ठ २१, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?