धरानमा ४ वर्ष यताकै बढी तापक्रम मापन

प्रदीप मेन्याङ्बो

काठमाडौँ — सुनसरी पूर्वी तराई र भित्री मधेशमा मंगलबार र बुधबार तापक्रम बढेसँगै गर्मी बढेको छ । सामान्यतया धरानको हावापानी मध्यमस्तरको मानिएपनि धरानस्थित क्षेत्रीय हावापानी कार्यालयका अनुसार साढे ४ वर्ष यता कै सबैभन्दा बढी तापक्रम गत मंगलबार मापन भएको जनाएको छ ।

धरानमा ४ वर्ष यताकै बढी तापक्रम मापन

मंगलबार धरानको तापक्रम ३६ दशमलव ३ डिग्री सेल्सीयस मापन भएको छ भने बुधबारको तापक्रम ३५ दशमल ५ डिग्री सेल्सीयस मापन गरिएको छ ।


हावापानी कार्यालयका प्राविधिक धनप्रसाद गुप्ताका अनुसार बुधबार विराटनरको तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सीयस मापन गरिएको छ । पहाडी जिल्ला धनकुटामा बुधबारको तापक्रम ३० दशमलव १ डिग्री सेल्सीयस मापन गरिएको छ ।


विराटनगर तराईमा पर्छ भने धरान तराई र पहाडको संगमस्थलमा पर्छ । धनकुटा पूर्णरुपमा पहाडी इलाका हो । विराटनगर, धरान र धनकुटा कोशी कारिडोरका एउटै लाइनमा पर्छन् ।


पछिल्लो समयमा एकाएक तापक्रम वृद्धि हुनुमा वातावरणीय असरका कारण भएको बताइएको छ ।


प्राविधिक गुप्ताले भने, ‘पूर्वको मौसमी विवरण अनुसार यसवर्ष यहाँका विभिन्न भागमा वर्षा भएपनि धरानमा पानी नपर्दा तापक्रम वृद्धि भएको हो ।’ विगतका वर्षहरुमा पूर्वको मौसम मापन हेर्ने हो भने सन् २०१३को अप्रिल १२ तारिख धरानमा ३८ दशमलव ८ डिग्री सेल्सीयस सबैभन्दा गर्मी मापन गरिएको थियो ।

हावापानी कार्यालयका अनुसार सन् २००३ मे २९ मा ओखलढुंगाको ३० दशमलव ५ डिग्री सेल्सीयस, सन् २०१६ अगस्ट १७ मा ताप्लेजुङको २९ दशमलव ४ डिग्रि सेल्सीयस, सन् २०१६ अप्रिल ९ तारिखमा विराटनगरको तापक्रम ४० दशमलव ५ डिग्रिसम्म पुगेको थियो ।

सन् २०१२ मे १७ मा धनकुटामा ३३ दशमलव ७ डिग्रि सेल्सिययस मापन गरिएको रेर्कड क्षेत्रिय हावापानी कार्यालयले जनाएको छ ।


अत्यधिक गर्मीका कारण पूर्वको जनजीवन कष्टकर बनेको छ । यहाँका मुख्य शहरी क्षेत्रमा हाटबजारका लागि निस्कने सर्वसधारणको उपस्थिति पातलिएको छ । तापक्रम बढेसँगै तातो हावा चल्ने गरेकाले सर्वसाधारणलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ ।


अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वैशाख–जेठमा अत्याधिक गर्मीबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको समयमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?