सशस्त्रको गाडीमा काठ तस्करी घटना छानबिन गर्न समिति

रमेशचन्द्र अधिकारी

धनकुटा — सशस्त्र प्रहरी बलको अरुण गुल्म, संखुवासभा चैनपुरको सवारी साधनमा लाखौं मुल्य पर्ने सखुवाको काठ तस्करी प्रकरण थप रहस्यमय बन्दै गएको छ । संखुवासभा, तेह्रथुम र धनकुटासम्म पुग्दा कयौं स्थानमा रहेका प्रहरीका चेक पोष्ट पार गर्नुले घटनामा अन्य पक्षको पनि संलग्नता रहेको आशंका चुलिएको छ ।

सशस्त्रको गाडीमा काठ तस्करी घटना छानबिन गर्न समिति

गत सोमबार राति चैनपुरस्थित सशस्त्र प्रहरी बलको बा.१ झ १६६९ नम्बरको ट्रकमा राखेर धनकुटा हुँदै विराटनगरतर्फ करिब सात लाख मुल्य पर्ने एक सय क्वूबीक फीट बढी सखुवाका काठ तस्करी गरिएको थियो ।


अन्य जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मको मुलघाटस्थित चेक पोष्टले नियन्त्रणमा लिएको थियो । संखुवासभादेखि कयौं स्थानमा सुरक्षा निकायको चेक पोष्ट पार गर्दै धनकुटासम्म पुग्दा तस्करीमा प्रयोग गरिएको सवारी साधन कसरी उम्कियो भन्ने रहस्य अझै खुल्न सकेको छैन ।


सखुवाको काठसहित आफ्नै बलको सवारी साधन सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले नियन्त्रणमा लिएका थिए । उनले नियन्त्रणमा लिएकोबारे सशस्त्रको पकलीस्थित बाहिनीलाई तत्काल जानकारी गराएपछि मध्य राति नै बाहिनीबाट डीएसपी डम्बर विष्टको नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ । विष्टको टोलीले बरामद गरिएका काठ मुलघाटमा छोडेर तस्करीमा प्रयोग गरिएको सवारी साधन लिएर सशस्त्रको बाहिनी गएको स्रोतले जनाएको छ ।

घटनामा संलग्न ‘मुख्य व्यक्ति’ भनिएका सशस्त्र चैनपुरका डिएसपी रामप्रसाद भण्डारीले आफूले खराब नियतले उक्त कार्य नगरेको दाबी गरे । ‘मैले गलत मनशायले यस्तो कार्य गरेको होइन,’ उनले भने, ‘आफ्नो डिपार्टको काम भनेर सामान्य ठान्दा यस्तो अवस्था भयो ।’ उनले चैनपुरको सिस्ने सामुदायिक वनले सशस्त्रको टहरा बनाउन ती काठ उपलब्ध गराएको बताए ।


सशस्त्रले प्रयोग गर्ने सवारी साधनमा राखेर फर्निचर बनाउन ती काठ विराटनगर पठाएको उनले स्वीकार गरे ।

घटनामा नेपाल प्रहरीको संलग्नता रहेकोबारे समेत आशंका उब्जिएको स्रोतको दाबी छ । यसैबीच जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले हिले प्रहरी चौकीमा दुई घन्टा तस्करीमा प्रयोग गरिएको सवारी साधन नियन्त्रणमा लिएर छोडेको बताए । उनले सशस्त्र चैनपुरका डिएसपी भण्डारीले भाइवरमा काठ ढुवानी गरिएकोबारे पत्र पठाइदिएपछि छोडेको दाबी गरे । तर प्रतिबन्धित काठ हचुवाको भरमा छोडिनुले घटना रहस्यमय बनाएको हो ।

उता घटनाबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले जानकारी दिए । कुनै पनि काठ तथा वन्य जन्तु वा वनस्पति नियन्त्रण तथा बरामद हुँदा वन कार्यालयलाई जानकारी दिनुपर्ने उनको तर्क छ । यस्तै सामुदायिक वन उपभोक्ता महासंघका धनकुटा अध्यक्ष राजेन्द्र खड्काले संखुवासभाबाट काठ अवैध रुपमा ल्याइएकोले बरामद गरिएको क्षेत्राधिकार भित्रको वन कार्यालय मार्फत छानबिन हुनुपर्ने बताए ।


छानबिन समिति गठन

सशस्त्र प्रहरी बल अरुण गुल्मको सवारी साधनमा अवैध रुपमा सखुवाको काठ तस्करी गरिएकोबारे सशस्त्र प्रहरी बल पकलीस्थित बाहिनीका एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिले घटनाबारे गहिराईमा पुगेर अनुसन्धान गरिने बाहिनीका डिआइजी मन्दिप श्रेष्ठले दाबी गरे । ‘शुक्रबारसम्ममा घटनाबारे सत्यतथ्य सार्वजनिक गरिने छ,’ उनले भने, ‘जिम्मेवार व्यक्तिहरु छानबिन समितिमा रहेकोले क–कस्को संलग्नता रहेको हो, भन्नेबारे सबै कुरा बाहिर आउनेमा ढुक्क छु ।’


घटनाबारे सत्यता पत्ता लगाउन अरुण गुल्ममा पुगेको संयोजक खनालले बताए । छानबिन समितिको सदस्यमा डिएसपी गमबहादुर कुँवर र निरिक्षक भोला खत्री पनि गुल्म पुगेका छन् ।


प्रकाशित : जेष्ठ २४, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?