कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब मुलुकमा राजनीतिक अस्थिरता हुँदैन : दाहाल

'वर्तमान सरकार पाँच वर्ष टसमस हुँदैन'
विनोद भण्डारीे

विरटनगर — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अस्थिर राजनीतिको अन्त्य भइसकेको उल्लेख गर्दै वर्तमान सरकार पाँच वर्ष ग्यारेन्टीका साथ टिक्ने बताएका छन् ।

अब मुलुकमा राजनीतिक अस्थिरता हुँदैन : दाहाल

‘अब राजनीतिक अस्थिरता हुँदैन,’ उद्योग संगठन मोरङको ४६ औं वार्षिक साधारणसभामा बोल्दै दाहालले भने, ‘सरकार पुरा अवधी टसमस हुँदैन । सरकारको पाँच वर्षिय कार्यकालले वामपन्थीको आगामी ग्राउण्ड कस्तो हुने निरक्यौल गर्छ ।’


राजनीतिक स्थिरता, शान्ति स्थापना, संविधान लेखन र सुशासनकालागि आफ्नो झण्डै चार दशक बितेको स्मरण गर्दै दाहालले अबको आफ्नो एक दशक विकास र समृद्धिमा खर्चिने बताए । मुलुकको आर्थिक विकासकालागि निजी क्षेत्रसँगको सहकार्य बिना सम्भव नहुने दाहालको भनाई थियो ।


आयात प्रतिस्थापन गर्ने उद्योग स्थापना गरी कृषिलाई आधुनिकीकरण गर्नमा आफ्नो आगामी दशक केन्द्रीत रहने उनले यहाँका उद्योगी व्यवसायीलाई आश्वासन दिए । १ नं प्रदेशको समृद्धिकालागि आफ्नो तर्फबाट विराटनगर किमाथाङका सडक निर्माण गरी त्रिदेशीय व्यापार र आर्थिक साझेदारी विस्तारको प्रयास हुने दाहालको भनाई थियो ।


विराटनगर विमानस्थलको स्तरोन्नती, कृषिको आधुनिकीकरण र औद्योगीकरणलाई वर्तमान सरकारले उच्च प्राथामिकता दिने दाहालको आश्वासन थियो । दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले आगामी वर्षको बजेट भोट बटुल्ने र चकाचक गर्ने नभई मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा राख्ने गरी ल्याएको दावी गरे । बजेट मुलुकको वास्तविक अर्थतन्त्रमा केन्द्रित रहेको उल्लेख गर्दै दाहालले भने सरकारलाई काल्पनिक बजेट ल्याएर क्षणीक पपुलर बन्नु छैन ।


यसअघि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले कृषिको आधुनिकीकरण बिना मुलुकमा समृद्धिको सम्भव नभएको उल्लेख गर्दै जग्गाको चक्लाबन्दी गरिनुपर्ने बताएका थिए । प्रधानले विराटनगर किमाथाङका मार्ग निमार्ण हुँदा मुलुक सार्क क्षेत्रको व्यापारको ट्रान्जीट प्वाइन्ट हुने दावी गरेका थिए ।


त्यसैगरी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले वर्तमान सरकारले महानगरपालिकालाई उपमहानगरपालिकाको भन्दापनि न्यून बजेट विनियोजन गरेर विराटनगरको राजनीतिक र आर्थिक इतिहासको खिल्ली उडाएको आरोप लगाए । ‘आगामी वर्षको बजेटले विराटनगर महानगरपालिकालाई ७८ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । जबकी मकवानपुर उपमहानगरपालिकालाई ८४ करोड ७७ लाख रुपैयाँ छुट्याएको छ,’ पराजुलीले भने, ‘यो आंकडा हेर्दा सरकारले १ नं प्रदेशको राजधानी विराटनगरलाई सौतेनी व्यवहार गर्‍यो ।’



प्रकाशित : जेष्ठ २७, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?