१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भ्रष्टलाई कारबाही गर्न सेवाग्राहीको माग

सुनसरी — बराहक्षेत्र नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा आइतबार स्थानीय सेवाग्राहीले भ्रष्ट कर्मचारीलाई नगरले कारबाही गर्नुपर्ने सुझाव दिएका छन् ।

भ्रष्टलाई कारबाही गर्न सेवाग्राहीको माग

उनीहरूले सेवाग्राहीको कामप्रति ढिलासुस्ती गर्ने र आर्थिक अनियमितता गर्ने कर्मचारीलाई नगरप्रमुख र उपप्रमुखले कारबाही गरेको हेर्न चाहेको बताएका थिए । कारबाही गर्न सुझाव दिए पनि ती कर्मचारीको नाम भने खुलाइएको थिएन ।

सेवाग्राहीले नगरका अधिकांश बजार क्षेत्र वर्षा लागेपछि डुबान हुने गरेकाले भौतिक संरचना निर्माण गर्दा ख्याल गर्नुपर्ने सुझाव पनि दिए । उनीहरूले नगरमा प्राविधिक कर्मचारीहरू कम भएकाले सुलभ तरिकाले सेवा लिन नसकेको र नगरबाट प्रवाह हुने सूचनामा जनताको सहज पहुँचका लागि हरेक तीन महिनामा स्वत: स्फूर्त सूचना प्रवाह गर्न सञ्चारकर्मीले नगरलाई सुझाए ।

सार्वजनिक सुनुवाइमा स्थानीय बुद्धिजीवीहरूले कृषि आधुनिकीकरणका लागि ठोस कार्यक्रम र योजनासहित औद्योगिक क्षेत्र स्थापना गर्न राय तथा सुझाव दिए । जवाफमा नगर प्रमुख निलम खनालले अहिलेसम्म कर्मचारीले भ्रष्टाचार गरेको, जनताको काममा गैरजिम्मेवार भएको कही कतैबाट गुनासो नआएको स्पष्ट पारे । उनले भने, ‘यदि कर्मचारीले भ्रष्टाचार गरेको पाइए प्रमाणसहित आउनुस्, आयोग निर्माण गरी विभागीय कारबाही गर्ने वा कानुनअनुसार आवश्यक कारबाही गरिने छ ।’ बराहक्षेत्र नगरपालिकाले वार्षिक रूपमा आफ्ना काम कारबाहीप्रति पारदर्शीता र सुसूचित गर्दै जनताका गुनासा सुन्न आयोजना गरिएको सुनुवाइमा नगर प्रमुख खनालले जन गुनासोलाई नगरको सम्पत्तिका रुपमा हेरेको बताए ।
सार्वजनिक सुनुवाइमा महिलाको क्षेत्रबाट गुनासो, रायसुझाव नआएपछि नगर उपप्रमुख कमला मगरले नगरका कामप्रति महिलाको बुझाइ कम भएको हो कि भन्ने शंका व्यक्त गरिन् । उनले आफू नगरको न्यायिक समितिको संयोजकसमेत रहेकाले नगरको न्याय प्रणालीका विषयमा स्थानीयले चासो राख्नुपर्ने बताइन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?