दूध बिक्री नहुँदा ‘मिल्क होली डे’

देवनारायण साह

मोरङ — विराटनगर दूध वितरण आयोजनाअन्तर्गतको पाउडर दूध प्लान्ट पूर्ण क्षमतामा सञ्चालन नहुँदा ‘मिल्क होली डे’ सुरु भएको छ । किसानले उत्पादन गरेको दूध आयोजनाले खरिद नगरिदिँदा यस्तो अवस्था भएको हो ।

होक्लाबारीका किसान बालकृष्ण पौडेलले आफूहरू किसानले उत्पादन गरेको दूध आयोजनाले खरिद नगरिदिएको गुनासो पोखे । ‘यहाँ उत्पादन गरेको दूध गाउँमा फालाफाल भएको छ,’ उनले भने, ‘किसानले दु:ख गरेर उत्पादन गरेको दूध आयोजनाले खरिद नगरिदिँदा मार्कामा परेका छौं ।’ मोरङ, झापा, सुनसरी, सप्तरी, सिरहाको गरी १२ वटा दूध सहकारी संस्थाको आयोजनाले दूध खरिद नगरेको किसानहरूले गुनासो पोखे ।

आयोजनाले यसअघि दुग्ध विकास संस्थानअन्तर्गत धनुषाको ढल्केबर, हेटौंडा, पोखरा र लुम्बिनीस्थित दूध आयोजनाको स्थानीय बजारमा खपत नभएको १५ हजार लिटरभन्दा बढी दैनिक यहाँ ल्याएर पाउडर बनाउँदै आएको दूध अहिले लिन छोडेको छ । पोखरास्थित निजी सुजल डेरीको पाउडर दूध प्लान्टमा उक्त दूधको पाउडर बनाउँदा प्रतिलिटर २ रुपैयाँ बढी लागत बढेको आयोजनाका कर्मचारीहरूले बताए ।

आयोजनाअन्तर्गत २०५२ सालमा डेनमार्क सरकारको सहयोगमा प्रतिदिन ३० हजार लिटर क्षमताको स्थापना भएको पाउडर दूध प्लान्टको ११ करोड लागतमा प्रतिदिन ७० हजार लिटर दूधको पाउडर बनाउने क्षमता वृद्धि गरे पनि सञ्चालनमा आउन सकेको छैन । क्षमता बिस्तारका लागि दुग्ध विकास संस्थानले ३ करोड र सरकारले ८ करोड लगानी गरे पनि प्रतिफल आउन सकेको छैन । सर्वसाधारण किसानको दूध खरिद गर्ने सर्तमा सरकारले क्षमता बिस्तारका लागि लगानी गरेको हो ।

यस्तै, पाउडर दूध प्लान्टपछि स्थापना भएको भुस बोइलरले उडाएको खरानीले स्थानीयवासी हैरान भएको छ । बोइलरको धूलो र आयोजनाको दुर्गन्धले स्थानीयवासी सास्ती व्यहोर्न बाध्य छन् । आयोजनाको पश्चिमपट्टिको बस्तीमा धूलो र दुर्गन्धले एकछिन कोठा बाहिर बस्न नसकिने भएको स्थानीय मञ्जु खड्काले गुनासो पोखिन् ।

विराटनगर दूध परियोजना प्रमुख निलकण्ड गौतमले यहाँ दैनिक ८० हजार लिटर दूध उत्पादन भइरहेको तर त्यति धेरै दूध खरिद गर्न नसकेको स्विकारे । ‘इलामको कुटीडाँडा, फिक्कल, तीनघरे, लक्ष्मिपुर, बिबल्याँटे, पुवाखोला, शान्तिडाँडामा चिलिङ भ्याट राखेर करिब २९ हजार ५ सय लिटर दूध किसानबाट दैनिक खरिद गर्दै आएका छौं,’ प्रमुख गौतमले भने, ‘धनकुटाको हिले, तेह्रथुमको चित्रे र पाँचथरको देउरालीमा चिलिङ भ्याट राखेर किसानबाट १७ हजार ५ सय लिटर र झापा, मोरङ, सुनसरी र सप्तरीको सहकारीबाट ५ हजार लिटर गरी कुल ४७ हजार लिटर दूध खरिद गर्दै आएका छौं ।’ दैनिक खरिद गरेको दूधमध्ये १० हजार लिटरको प्रशोधित दूध तथा दूधजन्य पदार्थ विराटनगर, इटहरी, धरान र इनर्बाको उपभोक्ताका लागि बिक्री वितरण र बाँकी ३७ हजार लिटरको पाउडर बनाउँदै आएको उनले बताए ।

विराटनगर दूध वितरण आयोजनाले प्रशोधित दूध, दही, घिउ, मख्खन, पनिर, आइस्क्रिम, रसभरि र लालमोहन उत्पादन गर्दै आएको छ । प्रमुख गौतमले संस्थानले किसानको दूध खरिद गर्दा गाईको दूधमा फ्याट हेरेर सरदर ४०/४२ र भैंसीको दूध ५०/५५ रुपैयाँ प्रतिलिटरका दरमा खरिद गर्दै आएको बताए । आयोजनाले प्रतिलिटर ८६ र ७० रुपैयाँको दुई किसिमको प्रशोधित दूध, १ सय १० रुपैयाँ प्रतिकिलो दही, ५ सय ८० रुपैयाँ प्रतिकिलो पनिर उपभोक्तालाई बिक्री गर्दै आएको उनले बताए ।

‘पाउडर प्लान्टको क्षमता बिस्तार गरे पनि पाश्चराइजर र बरफ बनाउने मेसिनको क्षमता बिस्तार गरिएको छैन,’ उनले भने, ‘अहिले पाश्चराइजर मेसिन प्रतिघण्टा ५ हजार लिटरको मात्रै भएको र त्यसलाई पनि दैनिक १६ घण्टासम्म चलाउँदा साढे ४ घण्टा सफा गर्नमा नै समय बित्ने गरेको र २०३० सालको पुरानो बरफ बनाउने मेसिन भएकाले पटकपटक बिग्रिने गरेकाले समस्या हुँदै आएको छ ।’ आइतबार बरफ बनाउने मेसिन बिग्रेपछि सोमबार किसानको दूध खरिद गर्न नसकेको उनले सुनाए ।

उनले मंगलबार मर्मत गरेर बरफ उत्पादन सुरु गरेको बताए । आउँदो साउनमा आयोजना सञ्चालन भएको ५० वर्ष पुग्दै छ । ५० वर्षको अवधिमा सधैं अनुभवी डेरी समूहका कर्मचारी प्रमुख भएर काम गर्दै आएका थिए तर अहिले दुग्ध संस्थानले इञ्जिनियरिङ समूहका गौतमलाई आयोजना प्रमुख बनाएर पठाएकाले दूध संकलन, दूधजन्य पदार्थ उत्पादन र बिक्री वितरणमा समेत गिरावट आएको कर्मचारीहरूले गुनासो पोखे । गौतमलाई डेरीसम्बन्धी ज्ञान नभएकाले यससम्बन्धी समस्या पनि बुझाउन गाह्रो भइरहेको कर्मचारीहरूको गुनासो छ ।

हालै आयोजनाको अनुगमनमा आएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका सचिव युवकध्वज जिसीलगायतको टोलीले दुग्ध विकास संस्थानले यस आयोजनाको सुधारमा ध्यान नपुर्‍याए सरकार सोच्न बाध्य हुने भन्दै चताबनी दिएका थिए ।

आयोजना प्रमुख गौतमले दूध संकलनमा ३५ देखि ४३, दूधजन्य पदार्थ उत्पादनमा १८ देखि ६१ र बिक्री वितरणमा ३० देखि ६० प्रतिशत गिरावट आएको स्विकारे । ‘हालै मन्त्री खनाललगायतको टोलीले अनुगमन गरेपछि आयोजनाको सुधार तथा स्तरोन्नतिका लागि १२ करोड ९९ लाखको लागत अनुमानसहितको खाका पेस गरेको बताए । आयोजनामा रहेको पाश्चराइजर मेसिनको ५ हजारबाट १० हजार प्रतिघण्टामा क्षमता अभिवृद्धिलगायत ५० वर्ष पुराना मेसिनहरू प्रतिस्थापनको प्रस्ताव पेस गरेका छौं ।’

उनले पाउडर दूध प्लान्टको विस्तार भएको क्षमतामा उत्पादन गर्न सकियो भने यस क्षेत्रमा मिल्क होली डेको समस्या ५/७ वर्षका लागि समाप्त हुने बताए । उनले यहाँको पाउडर दूध उत्पादनले संस्थानले वर्षेनी विदेशबाट आयात गर्दै आएको परिमाणमा अत्यधिक न्यूनीकरण हुने र मुलुक दूधमा आत्मनिर्भर हुने सुनाए । दुग्ध संस्थानले विदेशबाट वर्षेनी ५ हजार मेट्रिक टन पाउडर दूध खरिद गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

दूधमा युरिया र नुनसमेत

कृषिमन्त्री भन्छन्– ‘यस्तो पनि राज्य हुन्छ ? देशै होइनजस्तो भएको छ’
सुरज कुँवर

काठमाडौँ — खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो ।

काठमाडौं–


काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो । नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकार्बाेनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कार्बाेनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ । ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने ।


दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि सोमबार राजधानीका ४ डेरीमा छापा मारिएको थियो ।


कृषिमन्त्री चक्रपाणि खनालले दूध उत्पादनमा उपभोक्ताको स्वास्थ्यको ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए । ‘सबै मापदण्ड ठीक भएका कुनै पनि दूध देखिएनन्,’ उनले भने, ‘म नयाँ मापदण्ड बनाउँदै छु । के–के गर्नुपर्ने हो, निर्देशन दिइसकेको छु । अब त्यसै छाडिँदैन ।’ उनले उद्योग मन्त्रालयसँग मिलेर नयाँ मापदण्ड बनाइरहेको र अब अनुमतिपत्र रद्द गरेरै कारबाही गरिने बताए । दूधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनले बताए । ‘यस्तो पनि राज्य हुन्छ, देशै होइनजस्तो भएको छ मलाई,’ मन्त्री खनालले भने ।


राजधानीको एक ठूलो डेरी उद्योगको प्रयोगशाला प्राविधिकका अनुसार दूध संकलन हुने चिस्यान केन्द्र, सहकारीका संकलक, ठेकदार र प्रशोधन उद्योगहरूले दूधको अम्लीयपन घटाउन अल्कलाइन रसायनका रूपमा यी तत्त्व प्रयोग गर्दै आएका छन् । ‘सहकारीका व्यवस्थापकले टाढा–टाढाबाट दूध संकलन गर्छन् । एकैपटक ढुवानी गर्न नसकिने भएकाले दूध फाट्नबाट जोगाउन कास्टिक सोडाका रूपमा रासायनिक तत्त्व मिसाउने गरेको पाइन्छ,’ ती प्राविधिकले भने ।


उनका अनुसार काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरिया पनि मिसावट भएको देखिन्छ । पशुले खाने दानामार्फत युरिया दूधमा देखिने गरेको छ । रसायनबाहेक दूधबाट सर्ने रोग क्षयरोगका जीवाणु, कोलिफर्म, इकोलाई आदि पनि भेटिने गरेको उनले बताए । खाद्य प्रविधि विभागको फुड स्ट्यान्डर्ड निर्देशिकाले दूधमा पानी पनि मिसाउन रोक लगाएको छ ।


उपभोक्ता संरक्षण ऐनले मिसावट भएको कमसल उपभोग्य वस्तुबाट मानव स्वास्थ्यलाई नै खतरा पुग्ने देखिएमा १४ वर्षसम्म कैद र ५ लाख जरिवाना तोकेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्