१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जेटबोट सञ्चालनमा कठिनाइ

सुनसरी — कोसी नदीले तीव्र प्रवाहका साथ रूखका मुढा बगाएर ल्याउन थालेकाले सातायता जेटबोट सञ्चालन कठिन बनेको छ । नदीमा पानीको सतह घटेको र केही संलिएको संकेत पाएवित्तिकै जेटबोट सञ्चालन गर्ने गरिएको छ ।

जेटबोट सञ्चालनमा कठिनाइ

अनियमित रूपमा जेटबोट चल्ने गरेकाले यात्रुहरू मारमा परेका छन् । २५ देखि ३५ जना यात्रु बोकेर शनिबारको दिन आठ खेप र अरू दिन पाँच खेप गर्दैआएको जेटबोटले नदीले बगाउने रूखका कारण मंगलबार बिहान एकपटकमात्र यात्रु ओसार्न पाएको थियो । चैत १९ गतेदेखि कोसीमा व्यावसायिक रूपमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले जेटबोट सञ्चालन गरेको हो । वर्षायाम सुरु भएयता कोसीले ठूलाठूला रूखै बगाएर ल्याउन थालेकाले यात्रुको सुरक्षाका कारण जेटबोट सञ्चालन गर्न चुनौती थपिएको हो ।

नदीको अवस्था हेरेर जेटबोट सञ्चालन गर्ने गरेको बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सदस्य अमित भगतले बताए । यात्रुको मागअनुसार अरुण र दूधकोसीमा जेटबोट सञ्चालन गर्दै आएको छ । व्यावसायिक रूपमा जेटबोट सञ्चालन गरेपछि दूधकोसीतर्फ भोजपुरको हतुवागडी, चुहार, आमचोकसम्म र अरुण नदीतर्फ धनकुटाको सहिदभूमि गाउँपालिकाको सिम्लेसम्म जेटबोट सञ्चालन हुँदै आएको छ ।

जेटबोट सञ्चालनले भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराह क्षेत्रसँग जोडेको छ । कोसी किनारको अक्करे भीरसँगै उकालो ओरालो गोरेटोमा घण्टौं पैदल हिँड्नुपर्ने दूरीलाई जेटबोटको जलयात्राले २० देखि ३० मिनेटमा पुर्‍याउने गरेको अवस्था छ ।बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सदस्य अमित भगतले भने, ‘वर्षायाम सुरु भएसँगै केही दिनअघिदेखि कोसी नदीको सतह साविकभन्दा बढेको छ । वर्षाका कारण बाढी र पहिरो खस्ने र किनारा छेउछाउका रूखसमेत बगाएर ल्याउन थालेकाले जलयात्रा अनियमित भएको हो ।’

उनले जेटबोट सञ्चालन गर्न कोसी नदीमा अन्य निकै बाधाव्यवधान भए पनि वर्षाको मौसम भने प्राकृतिक रूपमै बाधक बनेको बताए । उनले धेरै वर्षा भएमा तीन महिनाका लागि जेटबोट सञ्चालन स्थगित गर्ने बताए । असोजदेखि थप अर्को जेटबोट पनि सञ्चालन गर्ने तयारी गरेको भगतले बताए ।

सातवटा नदी मिलेर बनेको कोसी नदी मुलुककै सबैभन्दा ठूलो नदी हो । कोसीले रूख बगाएर नल्याउने हो भने जुनसुकै बेला जेटबोट चल्न सक्ने बताए । केही वर्षअघि जेटबोटका क्याप्टेन वृच्छासिं दनुवारले दोलालघाटसम्म पुर्‍याएका थिए । दोलालघाटसम्म जेटबोट पुर्‍याउन धेरै अवरोधहरू पार गर्नुपर्छ ।

नदीले बगाउने रूखका मुढालगायत प्राकृतिक अवरोधबाहेक अरुणतिर जाँदा सिम्ले र अखुवाटारको बीचमा पर्ने छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म पुग्न सकिने हाल भसुवासम्म पुगिरहेको जेटबोट दूधकोसी (सुनकोसी) को बाधा पन्छाउने हो भने बेलका– ७ र भोजपुर हतुवागढी ९ को लाम्पातेसम्म पुग्न सकिने क्याप्टेन दनुवारले बताए ।

दूधकोसीमा व्यवस्थित, सुरक्षित रूपमा सरकारले जलयात्राको नीति तयार गरेर नदीका ती अवरोध हटाएमा भोजपुरको पावला, दुङमाना, पाङा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोक, खोटाङका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय प्रत्यक्ष लाभान्वित हुने जेटबोट सञ्चालक कवि राईले बताए । यस्तै अरुणको अवरोध हटाउन सकेमा संखुवासभाको तुम्लिङटार फेदीसम्म यात्रुलाई एक घण्टामा पुर्‍याउन सकिने राईले बताए ।

अरुण र दूधकोसी त्रिवेणीमा मिल्छन् । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले प्रकृतिलाई नियन्त्रण गर्न नसके पनि अरुण र दूधकोसी नदीमा रहेका ठूला चट्टानलाई फुटाएर जलमार्ग प्रसस्त गर्न स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग कुरा राख्ने बताए । उनले भने, ‘नदीको अवरोध हटाउने कुरा स्थानीय सरकारको बलबुताभन्दा बाहिरको भएकाले सामान्य व्यवधान मात्र हटाउन सकिन्छ । ठूला र प्राविधिक काम संघीय सरकारको स्तरबाट काम हुन जरुरी छ ।’

कोसीमा मिसिने अरुण र दूधकोसीमा जेटबोटबाट जलयात्रा गर्न सकिने सम्भावनालाई अढाई महिनाको अभ्यास र अनुभवले स्पस्ट पारिसकेको छ । स्थानीय यात्रुहरूको सुविधासँगै बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने देखिएकाले सरकारले जलयात्रा सञ्चालनका लागि निजी क्षेत्रसँग साझेदारी नीति बनाउनु जरुरी रहेको कोसी रिभर ट्रान्सपोर्टका सञ्चालक अनिल सुब्बाले बताए । कोसी रिभर ट्रान्सपोर्टले पनि कोसीमा जेटबोट सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?