१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘अन्तर्राष्ट्रिय’ बनाउन पहल

विराटनगर विमानस्थल
देवनारायण साह

मोरङ — विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ । विराटनगर विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउनेबारे सरोकारवालाबीच छलफल भएको छ ।

‘अन्तर्राष्ट्रिय’ बनाउन पहल

यस्तै विराटनगरबाट पोखरा र माउन्टेन फ्लाइट सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित वायुसेवा कम्पनीहरूको सेवा तथा विमानस्थल सञ्चालनका भावी योजना विषयक अन्तक्र्रियामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने बताएका हुन् ।

‘विराटनगर विमानस्थलको रनवे ३ हजार मिटर लामो निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न तत्काल मन्त्रिपरिषदबाट निर्णय गरेर प्रधानमन्त्री र संघीय सरकारको सम्बन्धित मन्त्रालयमा पठाएर पहल थाल्छौं,’ उनले भने, ‘प्रदेश १ को आर्थिक समृद्धिको मूल आधारमध्येको विमानस्थलको सेवा सुविधालाई चुस्तदुरुस्त राख्नुपर्छ र यसको खाली रहेको जग्गालाई उपयोगमा ल्याई आम्दानी वृद्धि गर्नुपर्छ ।’

मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न छोटो समयको योजना बनाएर अघि बढ्न निर्देशन दिए । उनले ५ वर्षे र २० वर्षे योजनामा नगई सोझै अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने योजना बनाएर काम सुरु गर्नुको विकल्प नभएको सुनाए । विराटनगर नागरिक उड्डयन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले विमानस्थलमा अहिले १५ सय मिटरको रनवे रहेको बताए । ‘विराटनगर विमानस्थल स्तरोन्नतिको ५ वर्षे र २० वर्षे योजना निर्माण भइरहेकाले सरोकारवालासँग छलफल आयोजना गरियो,’ उनले भने, ‘विमानस्थलमा २४ सय मिटरको रनवे बनाउने कि ३ हजार मिटरको रनवे बनाउनेबारे छलफल आवश्यक छ ।’'

२४ सय मिटरको रनवेले आउँदो ५० वर्षसम्म धान्न सक्छ र ३ हजार मिटरको रनवेले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल हुने उनले जानकारी गराएका थिए । ‘विमानस्थलमा १ वर्षसम्ममा थप दुई वटा लिंक ट्याक्सी वे र ६ वटा जहाज पार्किङस्थल निर्माण हुन्छ,’ उनले भने, ‘विमानस्थलमा अहिले १५ सय मिटर रनवे, एउटा लिंक ट्याक्सी वे र ३ वटा जहाज पार्किङ गर्ने स्थल मात्रै रहेको छ ।’ विमानस्लथलमा दैनिक ८ सय आउने र ८ सय आउने गरी कुल १६ सय यात्रुले सेवा पाइरहेको उनको भनाइ थियो । विमानस्थलमा यात्रुको चाप बढ्दै गएकाले टर्मिनल भवन, भीआईपी कक्ष समेत साँघुरो भएको सिटौलाले सुनाए । पर्यटन व्यवसायी पुण्य भट्टराईले विराटनगर विमानस्थलबाट प्रदेश १ भरिको सम्पूर्ण विमानस्थल र माउन्टेन फ्लाइट सञ्चालन गर्न माग गरेका थिए । पर्यटन व्यवसायी भवेश श्रेष्ठले भीआईपी कक्ष सुधार गर्नुपर्ने र विजनेश क्लासका यात्रुका लागि जिनेश कक्ष निर्माण गर्न माग गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वायुसेवा सञ्चालन महाशाखा प्रमुख सुरेश आचार्यले विराटनगर विमानस्थलको योजना निर्माणका लागि कन्सल्टेन्ट नियुक्त गरेर काम अघि बढाउनुपूर्व सरोकारवालासँग छलफल आयोजना गरेर राय सुझाव संकलन गरेको बताए । उनले अब चाँडै यहाँबाट पोखरा र माउन्टेन फ्लाइट सुरु गर्ने बताए । विमानस्थलको योजना निर्माण गर्ने कन्सल्टेन्टले ३ हजार मिटरको रनवे निर्माणका लागि विराटनगर रिङ रोड पारिसम्मको ६० बिघा जग्गा र प्राशासनिक भवन र पार्किङस्थलका लागि १० बिघा गरी कुल ७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने बताए ।

अहिले नागरिक उडड्यन प्राधिकरणले विराटनगर विमानस्थलको पूर्वतर्फको साढे ४ बिघा जग्गा ६९ करोड लागतमा अधिग्रहण प्रक्रिया सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?