१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फेरिँदै ग्रामीण बजार

अर्जुन राजवंशी

दमक — गौरादह नगरपालिकाले नगरको मुख्य बजार ‘गौरादह’ लाई व्यवस्थित र आकर्षक बनाउने भएको छ । यसका लागि नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाएर बजार निर्माणको काम थालेको छ ।

फेरिँदै ग्रामीण बजार

वडा नं. १ मा रहेको गौरादह बजार जिल्लाको पुरानो बजार हो । बढ्दो जनघनत्वसँगै बजार क्षेत्र अव्यवस्थित र साँघुरो बनेको छ । बाटो काटेर १३ कट्ठा जमिनमा बजार लाग्दै आएको छ । बजार साप्ताहिक रूपमा आइतबार र बिहीबार लाग्ने गरेको छ ।

बजारमा व्यवस्थित टहराका ब्लक, ड्रेन, पार्क, आकर्षक पानीका फोहोरा, गार्डेन, पार्किङलगायतका भौतिक संरचना निर्माण गर्ने गरी डीपीआर तयार पारेको नगरपालिकाका सब इन्जिनियर प्रेम बास्कोटाले जनाए । उनले डीपीआर अनुसार बजार निर्माणमा कुल दुई करोड ११ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने छ । बजारमा व्यापारीका लागि पसल राख्न व्यवस्थित १३ वटा टहराका ब्लक निर्माण गरिने छ । टहरा निर्माणमा एक करोड ४४ लाख १७ हजार २ सय ७१ रुपैयाँ लाग्ने बाँस्कोटले जानकारी दिए ।

बजार क्षेत्रको चारैतिर ढल व्यवस्थापन हुने गरी ड्रेन निर्माण गरिने छ । ड्रेनका लागि ३२ लाख ३९ हजार ५ सय २० रुपैयाँको स्टिमेट गरेको बाँस्कोटाले बताए । बजार निर्माणका लागि माटो पुरेर ब्रिक्स सोलिङ गरिने डीपीआरमा उल्लेख छ । डीपीआरअनुसार बजार क्षेत्रमा माटो पुर्न १९ लाख ६८ हजार ३ सय रुपैयाँ बजेट लाग्नेछ । डीपीआरअनुसार थोक बजार, खुद्रा बजार, मासु, माछा, फेन्सी बजारलाई व्यवस्थित गरिनेछ । बजार निर्माणका लागि गौरादह बजार व्यवस्थापन समितिले केही समयअघि बजार क्षेत्रमा रहेका रुखहरू काटेको थियो । बजार निर्माणको काम सुरु गरेको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।

बजार निर्माणमा लाग्ने बजेटको व्यवस्था नगरपालिका र प्रदेश सरकारबाट गरिने भण्डारीले बताए । ‘नगरपालिकाको ३० लाख बजेटबाट हामीले बजार निर्माणको काम थालेका छौं’ भण्डारीले भने, ‘बाँकी बजेट प्रदेश सरकारसँग अनुरोध गरेर ल्याउने तयारी गरेका छौं ।’

गौरादह जिल्लाको दक्षिण पश्चिम क्षेत्रहरू गौरादह, बैगुन्धुरा, महारानीझोडा, कोहबरा, जुरोपानी, कोरोबारीको मुख्य बजार हो । उद्योग वाणिज्य संघका अध्यक्ष जीवन राईका अनुसार गौरादहमा दर्ता भएका दुई हजार ४ सय व्यवसायी छन् । ‘बर्खाको समयमा पसल थाप्न निकै सकस हुने गरेको छ’ राईले भने,‘बजार निर्माणपछि व्यापारीले बाह्रै महिना सहज रूपमा व्यापार व्यवसाय गर्न सक्छन् ।’ उनले बजारलाई पर्यटकीय हिसाबले पनि निर्माण गर्ने गरी डिजाइन गरेकाले आगामी दिनमा गौरादहको व्यापारले फड्को मार्नेमा विश्वस्त रहेको बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?