२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मध्यपहाडीमा यातायात प्रभावित

धनकुटा — मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा वैकल्पिक मार्ग व्यवस्थित नगरिँदा घण्टौंसम्म यातायात अवरुद्ध बन्दै आएको छ । सडक खन्दा निस्किएका माटो समेत व्यवस्थित नगरिँदा यातायात साधनसहित पैदल यात्रुसमेत मारमा परेका छन् ।

मध्यपहाडीमा यातायात प्रभावित

हिलेदेखि पाख्रिबास लगायत लेगुवा हुँदै भोजपुर तथा संखुवासभातर्फ चल्ने सवारी साधन प्रभावित बन्ने गरेका छन् । हिलेदेखि पाख्रिबाससम्मको करिब ७ किलोमिटर सडक वर्षातका कारण हिलाम्य हुने र सवारी साधन भासिने गर्दा दैनिक दर्जनौं सवारी साधन घण्टौंसम्म रोकिने गरेको स्थानीयले बताए ।

सडकमा पक्की पुल निर्माण गरिएको केही स्थानमा अत्यधिक समस्या रहेको चालक सुजन राईले बताए । हिलेबाट संखुवासभाको खाँदबारीसम्म यात्रु लिएर जाँदा सडक निर्माण भइरहेको स्थानमा वैकल्पिक मार्गसमेत व्यवस्थित नगरिँदा दैनिक घण्टौंसम्म यातायात साधन जाम हुने गरेको उनले जनाए । सडक निर्माणका क्रममा थुपारिएको माटो वर्षाले हिलाम्य बनाउँदा पैदलयात्रु समेत हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको स्थानीयले बताए ।

हिले पाख्रिबाससम्म ११ वटा पुल निर्माण हुँदै गरेको छ । पुल निर्माण भइरहेका स्थानमा बनाइएका वैकल्पिक मार्ग व्यवस्थित नगरिँदा अधिकांश सवारी साधन फस्ने गरेका छन् । कम्तीमा ७ किमि सडकमा यातायात अस्तव्यस्त हुने गरेको चालक श्याम राईले बताए । ‘विकल्पका रूपमा निर्माण गरिएको ट्रयाक देखावटी खनिएको छ’, उनले भने, ‘घण्टौंसम्म गाडी फस्ने र यात्रुको बिचल्ली हुने गरेको छ ।’

उक्त सडकको निर्माणमा संलग्न प्राविधिकले भने क्षमताभन्दा बढी भारका सवारी तथा ढुवानी साधन सञ्चालन भएका कारण समस्या उब्जिएको दाबी गरेका छन् । कञ्चनजंघा निर्माण सेवाका साइड इन्चार्ज टेन्डी शेर्पाले अत्यधिक भारका सवारी साधन भासिने गरेको बताए । तर हिलेदेखि भोजपुर तथा संखुवासभातर्फ चल्ने हल्का यात्रुवाहक सवारी साधन समेत भासिने गरेका छन् ।


सातायता उक्त स्थानमा अत्यधिक समस्या उब्जिने गरेको छ । हिलाम्य सडकमा निर्माणको जिम्मेवारी लिएका व्यवसायीले हिलो पन्छाउने मेसिन समेत प्रयोग गर्दै आएको बताएका छन् । रात दिनै जेसीबी लगायत मेसिनले हिलो पन्छाउने गरेको कञ्चनजंघा निर्माणका शेर्पाले जनाए । अझै कम्तीमा दुई साताभन्दा बढी समय पुलको काम हुने भएकाले यातायात प्रभावित हुने उनले बताए  ।

प्रकाशित : असार ३, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?