कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पार्टीलाई नेतामुखीभन्दा नीतिमुखी बनाउन प्रदेश १ का कांग्रेसीको सुझाव

मोरङ — विराटनगरमा आइतबार आयोजित प्रदेश १ स्थित १४ वटै जिल्लाका कांग्रेस सभापतिहरुको बैठकले हेटौडामा हुने जिल्ला सभापतिहरुको भेलामा पार्टीलाई नेतामुखीभन्दा नीतिमुखी बनाउन सामूहिक सुझाव दिने निर्णय गरेको छ ।

पार्टीलाई नेतामुखीभन्दा नीतिमुखी बनाउन प्रदेश १ का कांग्रेसीको सुझाव

मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बुले पार्टीलाई मजबुत बनाएर अहिलेको समय समापेक्ष बनाउन पार्टी नेतृत्वले कन्जुस्याइँ गर्न नहुने बताए । ‘प्रदेश १ बाट जिल्लागत नभई सामूहिक सुझाव दिने सहमति भएको छ,’ उनले भने, ‘महासमिति बैठकले पार्टीको विधान संशोधनबारे सुझाव संकलनका लागि आयोजित भेलामा पार्टीलाई मुलुकमा रहेको राज्य संरचना अनुसारको तीन तहको संरचनामा लग्ने प्रदेश १ को सुझाव रहनेछ ।’


तेह्रथुमका कांग्रेस सभापति गोविन्द ढुंगानाले सबै कांग्रेसीहरुको एउटै भावना बनाउने गरी संविधान संशोधन गर्ने हाम्रो सुझाव रहने बताए । ‘पार्टी सभापतिहरुको भेलामा विधान संशोधनमा सबैको भावना समेटिनका लागि प्रदेश १ ले सामूहिक सुझाव राख्ने छ,’ उनले भने, ‘निर्वाचनमा पार्टीले किन हार व्यहोरेको र त्यसको जिम्मेवारी कसले लिने विषयमा बहस गर्नुभन्दा पनि अबको दिनमा कसरी एकमत भएर अघि बढ्ने बारेमा हाम्रो सुझाव रहन्छ ।’


यस्तै, ओखलढुंगाका कांग्रेस सभापति प्रदिप सुनुवारले पार्टीको मजबुत सांगठनिक संरचनाका लागि विधान संशोधन र नेतामुखीभन्दा नीतिमुखी भएर पार्टीलाई अघि बढाउनु पर्ने सुझाव प्रदेश १ बाट सामूहिक रुपमा राखिने बताए ।


प्रदेश १ का कांग्रेसका संसदीय दलका नेता तथा सुनसरी कांग्रेसका सभापति राजिव कोइरालाले पार्टीलाई सुदृढीकरण गरेर सही नेतृत्व प्रदान गर्न सहमति र विधान अनुसार अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिने बताए ।


उनले स्वेच्छाचारी भएर एकल निर्णयमा पार्टीलाई अघि बढाउँदा अहिले जस्तै स्थितिमा पुगिने भएकोले अब पनि सबैको भावनालाई समेटेर अघि बढने सुझाव प्रदेश १ ले जिल्ला सभापतिहरुको भेलामा दिने बताए ।

प्रकाशित : असार ३, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?