१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गुठीमा अनियमितताको छानबिन सुरु

दिङ्ला (भोजपुर) — जिल्ला प्रशासन कार्यालय भोजपुरले दिङ्लास्थित षडानन्द सीताराम गुठीमा भएको अनियमितताबारे छानबिन प्रक्रिया अघि बढाएको छ ।गुठीका प्रमुख संरक्षक तथा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले निवर्तमान कार्य समिति अध्यक्षलाई पत्राचार गरी ५ दिनभित्र वर्तमान कार्य समितिले मागेका कागजपत्र बुझाउन पत्राचार गरेकी छन् ।

गुठीमा अनियमितताको छानबिन सुरु

३ वर्षदेखि गुठी नवीकरण तथा लेखा परीक्षण समेत नगराएको गुनासोका आधारमा उक्त कदम अघि सारिएको पौडेलले बताइन् । गुठीको अवस्था अन्योलग्रस्त रहेकोबारे ध्यानाकर्षण भएको प्रजिअ पौडेलले बताइन् ।

यसैगरी वर्तमान कार्य समितिलाई अघिल्लो समितिले गुठीको अत्यावश्यक कागजपत्र नबुझाएकोबारे प्रशासनसमक्ष जनगुनासो पुगेपछि आफूले सहजीकरण प्रक्रिया थालेको जानकारी दिइन् । ‘प्रशासनले पहिलो चरणमा सहजीकरणको भूमिका निर्वाह गरेको छ’, उनले भनिन्, ‘पत्र पाएको ५ दिनभित्र वर्तमान कार्य समितिसमक्ष अघिल्ला समितिले बरबुझारथ गर्नुपर्नेछ ।’ अघिल्लो समितिका अध्यक्ष किशोर किरातीले गुठीको हितका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए । तीन वर्षसम्म संस्थाको नवीकरण तथा लेखा परीक्षण नगरिएकोबारे उनले ‘समय अभाव’ रहेकाले यस्तो अवस्था रहेको जानकारी दिए ।

यसैगरी प्रशासनले उक्त कार्यालयका अधिकृत विजय राईलाई गुठीको अवस्थाबारे स्थलगत रूपमा बुझ्न समेत खटाउने भएको छ । प्रजिअ तथा गुठीका संरक्षक पौडेलका अनुसार दिङ्लास्थित इलाका प्रशासन कार्यालयमार्फत गुठीको लगत संकलन थालिएको जनाइन् । ‘गुठीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सोचमा लागेकी छु, उनले भनिन्, ‘तत्काल मालपोत र नापीमा गुठी जग्गाबारे लगत संकलन गरेर अगाडि बढिने छ ।’ दुई हप्तामा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन आउने प्रजिअ पौडेलले बताइन् ।

गुठीको वर्तमान तदर्थ समिति अध्यक्ष प्रकाश पौडेलले असार मसान्तसम्म लेखा परीक्षण तथा नवीकरण लगायत काम सम्पन्न गर्न जरुरी रहेको बताए । तीन वर्षदेखि नवीकरण तथा लेखा परीक्षणसमेत नभएको गुठीको अन्य संस्थागत तथा भौतिक पक्ष समेत डामाडोल बन्दै गएको स्थानीय दिलकुमार राईले बताए । आबाल ब्रह्मचारी षडानन्द अधिकारीले करिब डेढ सय वर्ष पहिले स्थापना गरेको गुठी पछिल्लो अवस्था आइपुग्दा अव्यवस्थित बन्दै गएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको हो । गुठीभित्रका संरचना मासेर व्यक्तिगत घर बनाइएका छन् ।

गुठीको १८ सय रोपनीमध्ये करिब ७ भन्दा बढी रोपनी जग्गाको अवस्था नै अन्योलमा छ । षडानन्द संस्कृति विद्यालय सञ्चालनका लागि अधिकारीले १८ सय रोपनी जग्गा गुठीका रूपमा व्यवस्थापन गरेका थिए । दिङ्लास्थित केउरेनीपानी, मूलपानी र तुंगेछा क्षेत्रमा अधिकांश गुठीका जग्गा छन् । हाल मालपोतको स्रेस्तामा भने ११ सय ७२५ रोपनी जग्गा मात्र गुठीको नाममा रहेको तदर्थ समिति अध्यक्ष पौडेलले बताए ।

प्रकाशित : असार ४, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?