कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विश्वकप मोह: फुटबलमा रम्ने शैली

विप्लव भट्टराई

इलाम — घर, गाडी र सार्वजनिक स्थलमा झन्डा टाँग्ने, समर्थन गरेको टिमको जर्सी भिर्नु र सामाजिक सञ्जालमा समर्थन टिमको पक्षमा सक्दो वकाप लगाउनु नौलो भएन ।

विश्वकप मोह: फुटबलमा रम्ने शैली

रसिया विश्वकपको ज्वरो सर्वत्र छाएका बेला फुटबललाई संस्कृति मान्ने इलामे पनि के कम र । उनीहरूको रमाउने काइदा झन भिन्न छ । फुटबलको मज्जा लिन रंगशाला या हलमा छिर्दा टिकट काट्नु पर्ला । तर फुटबल हेराइलाई रोमाञ्चक बनाउन सदरमुकाम नजिकैको बिव्ल्याँटे बजारमा घरभित्रकै टेलिभिजनमा खेल हेर्दा पनि टिकट हातमा बोकेर हेर्ने चलन छ ।

स्थानीय दिपेश भट्टराई हातमा टिकट देखाउँदै पुरस्कार जित्ने सम्भावनामा आशावादी देखिए । ब्राजिल र स्विजरल्यान्डबीचको खेलमा उनले ३ वटा टिकट लिए । एउटा नम्बर उनको थियो ब्राजिलका जर्सी १० नेयमारको ।

अर्को थियो ११ नम्बरका फिलिप कौटिन्हो । नेयमार र कौटिन्होले गोल गरे, घाइते भएर मैदान छाडे र कार्ड खाए उनले पुरस्कार पाउने थिए । अपेक्षा गरिएका नेयमरले गोल नगरे पनि कौटिन्होको गोलले उनी १६ सय रुपैयाँ विजेता बने । फस्ट टचको टिकट पनि उनीसँग भएकाले अर्को ३ सय रुपैयाँ पनि थपियो । खेल सुरु हुँदा फस्ट टच ब्राजिलले गर्‍यो भने पनि उनीलाई पुरस्कार प्राप्त हुने अर्को टिकट थियो ।

३ सय रुपैयाँ खर्चेका दिपेशको १९ रुपैयाँ हात लाग्यो । कुनै नाफा कमाउने स्वार्थ नराखी यहाँका फुटबल पारखी युवाले नौलो ढंगले दैनिक विश्वकपको मज्जा लिने गरेका छन् । युवाहरूले राति हुने खेलका लागि दुवै टिमका २३/२३ जना खेलाडीको नम्बर अंकित टिकट बिक्री गर्छन् ।

हरेक दिन बेचिएका टिमको नाम र जर्सी नम्बर उल्लेख भएपछि विभिन्न सातवटा विधामा फरकफरक पुरस्कार राखिएको हुन्छ । सोहीअनुसार टिकट खरिद गर्नेले पुरस्कार जित्छन् । ‘विब्ल्याँटे बजारमा धेरै समूहले यस्तो खेल खेलाउँछन्,’ खेल खेलाउनेमध्येका स्थानीय पंकज राईले भने, ‘नाफारहित रमाइलोका लागि खेलाइएकाले कसैले आपत्ति जनाएको छैन ।’

एक सय रुपैयाँको टिकटमा खेलमा दोस्रो गोल गर्नेले आठ सय रुपैयाँ पुरस्कार जित्छन् । त्यस्तै पहिलो रेडकार्ड, येल्लो कार्ड र स्टेचरबाट मैदान बाहिरिने खेलाडी अंकित नम्बरले चार सयका दरले पुरस्कार पाउँछन् ।

‘पैसा खर्चने लोभभन्दा पनि चिट्ठा लिदा अनिदो बसेर फुटबल हेरेको मज्जै बेग्लै हुन्छ,’ फुटबल खेलाडीसमेत रहेका स्थानीय पूर्ण सुब्बाले भने, ‘आफ्नो नम्बर भएको खेलाडीले गोल गर्छन् कि कार्ड खान्छन् भन्ने उत्सुकताले खेल हेराइको रौनक नै बेग्लै हुन्छ ।’

रमाइलोकै लागि यहाँका युवाले सन् २००८ को युरो कपदेखि नै यो तरिका अपनाएका हुन् । समर्थन गरेको टिम र खेलाडीभन्दा विपरीत चिट्ठा काटिँदा भने दर्शकहरू द्विविधामा पर्ने गरेका छन् ।

रातभर जाग्छ धोविधारा
उसै पनि टोलका प्रतियोगितादेखि माइभ्याली गोल्डकप र ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित दैनिक चटक्कै छोडेर रम्ने यहाँका दर्शक यति बेला विश्व फुटबलको सर्वाेच्च पर्वमा नरम्ने कुरै भएन । फुटबलमा रम्न भिन्न काइदाबीच यहाँका पारखीहरू रमाइलो लुट्ने प्रतिस्पर्धामा उत्रेका छन् ।

सदरमुकामको धोविधारामा साँझ पर्नासाथ होहल्ला र चहलपहल बाक्लिन्छ । विश्वकपको मज्जा लिन सामूहिक रूपमा खेल हेर्ने व्यवस्था मिलाइएकाले आशपासका मात्र हैन टाढाबाट पनि फुटबल पारखी भेलिने गरेका हुन् ।

स्थानीयले कर कार्यालय अगाडिको व्याडमिन्टन कोर्टलाई वल्र्डकप मैदान बनाएका छन् । प्रोजेक्टरमार्फत ठूलो पर्दामा फुटबलको मज्जा लिने भएकाले रात अबेरसम्म यो टोल गुञ्जयमान हुन्छ । समर्थनको टिमलाई वकाप लगाउनेदेखि गोलको खुसीमा आवेग व्यक्त गर्नेमा बच्चादेखि पाकासम्मका भेटिन्छन् ।

टेलिभिजनमा एक्लै हेर्दा मज्जा नहुने भएपछि सपरिवार सामूहिक रूपमा फुटबलको मज्जा लुट्न उपस्थित हुन्छन् । दर्शकको भीड हुने भएकाले आशपासका किरानादेखि चटपटेपसलसम्म खुलै रहने गरेका छन् । यो रमाइलोको चाँजोपाँजो मिलाउनेमा स्थानीय युवा सक्रिय छन् । ‘चार वर्षमा आउने विश्वकपलाई स्मरीण बनाउँदै अधितम रमाइलो साट्ने उद्देश्य हो,’ स्थानीय गणेश सुवेदीले भने, ‘पहिलो दिनदेखि नै दर्शक खचाखच भएकाले पानी पर्दा पनि सहज ढंगले हेर्ने व्यवस्था मिलाएका छौं ।’

साँझपछिका सवै खेल पर्दामा देखाइन्छ । अवेरसम्म भीड जम्मा हुने भए पनि कसैले नाजायज र होहाल्ला नगरून् भनेर युवाहरूलाई भोलेन्टियर्स बनाइएको छ भने सुरक्षाकर्मी पनि आएर फुटबलको रौनकमा रमाउन छुटाउँदैनन् । स्वतस्फूर्त रमाइलो गर्ने उद्देश्यले दर्शक आउने भएकाले समूह चरण सकिनै लाग्दासम्म कुनै अप्ठेरो आएको छैन ।

इलाम नगरपालिका कार्यालयसँग अनुमति लिएर नगरपालिकाले प्रहरी र प्रशासनलाई सुरक्षाको व्यवस्था मिलाउनसमेत आग्रह गरेकाले ढुक्कसाथ फुटबलमा रम्न व्यवस्थापकहरूको आग्रह छ ।

प्रकाशित : असार ५, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?