घरले जोडियो सामाजिक सद्भाव

देवनारायण साह

मोरङ — जगमा कलेजी रंग, पर्खाल फिक्का हरियो र निलो रंगको छाना भएको लहरै मिलेको घर भएको बस्तीले जो कोहीको ध्यान तान्छ । यो धनपालथान ६ स्थित विराटनगर–रंगेली सडकसँग जोडिएको कदमहा टोल हो ।

घरले जोडियो सामाजिक सद्भाव

त्यहाँका १४ हिन्दु र ६६ घरधुरी मुस्लिमको घर उस्तै छन् । प्रत्येक घरमा शौचालय निर्माण गरिएको छ । सबैको घरमा नेपाल र कुबेतको झन्डासहित उर्दु भाषामा कुवेत–नेपाल पिस भिलेज अंकित शिलालेख राखिएको छ ।

कुबेतको रहमा इन्टरनेशनलको सहयोगमा नेपाल डेभ्लपमेन्ट सोसाइटी काठमाडौंले बस्ती निर्माण गरेको हो । कदमहाबासीले उपलब्ध गराएको १० कठ्ठा जग्गामा शसेसाइटीले स्वास्थ्य चौकीका लागि तीन कोठे, ४ कोठे विद्यालय भवन र मस्जिद निर्माण गरिदिएको छ । उक्त जग्गा खरिदका लागि हिन्दु र मुस्लिम प्रत्येक परिवारले सहयोग गरेको स्थानीय मानोदेवी यादवले बताइन् ।

‘घरजस्तै समाजमा हामी हिन्दु–मुस्लिम मिलेर बसेका छौं,’ उनले भनिन्, ‘समाजका दुबै समुदायले एक अर्काको सुखदु:खमा साथ हुन्छौं र एक अर्काको धर्मको सम्मान गर्छौं ।’ उनले समाजमा दुबै समुदायले एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्दै संरक्षण र संवद्र्धन गर्दै आएको बताइन् ।

उनले गाउँमा गरिवका लागि मुस्लिम संस्थाको सहयोग आएपछि सबै मिलेर सहमतिमा उपयोग गरेको बताइन् । संस्थाले घर बनाइदिए बापत नेपाल र कुबेतको झन्डासहित उर्दु भाषामा कुबेत–नेपाल पिस भिलेज र संस्थाको नाम अंकित शिलालेख राखेकोमा हामीलाई कुनै आपत्ति नभएको उनी भन्छिन् ।

स्थानीय राजकुमार साहले मुलुकमा बोलिन सबै भाषालाई सरकारले मान्यता दिएको अवस्थामा सहयोगी संस्थाले आफ्नो भाषामा आफूले गरेको काम लेखेर सामाजिक सदभाव अझै मजबुत भएको बताए । यसअघि बाह्रै महिना वर्षायाममा पानी चुहिने फुसको घरमा बस्दै आएको तर अब जस्ताको छाना भएको पक्की घरमा बस्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । उनले गाउँका सबै समुदाय घरसँगै स्वास्थ्य चौकी, विद्यालय र धार्मिक संस्थाको निर्माणले हर्षित र उत्साहित भएको सुनाए ।

स्थानीय मोहम्मद कौसरले समाजमा अधिकांश सुकुम्बासी र गरिव परिवार रहेकाले मर्दापर्दा सबै साथमा हुने गरेको बताए । ‘बिपन्न गरिव यस बस्तीका १० परिवार भुसको व्यापार र बाँकी नजिकैको लोहन्द्रा खोलामा बालुवा चालेर बिक्री गर्दै गुजारा गरिरहका छन्,’ उनले भने, ‘गाउँमा मुस्लिम, यादव, सतार, सोनार, तेली र बनिया जातिको बस्ती रहेको तर कसैले कसैलाई कुनै किसिमको भेदभाव गर्दैनौं र सबै मिलेर बस्दै आएका छौं ।’

सोसाइटीका अध्यक्ष मौलाना नजरुल हुसेनका अनुसार बस्ती लगायतका सम्पूर्ण संरचना निर्माण गर्न २ करोड २० लाख खर्च भएको बताए । स्थानीयले उपलब्ध गराएको जग्गामा सोसाइटीले भौतिक संरचना निर्माण गरेर हस्तान्तरण गरेको उनले बताए ।

स्वास्थ्य चौकी, विद्यालय र मस्जिद निर्माण भएको जग्गा खरिदका लागि स्थानीय हिन्दु र मुस्लिम ८० घरपरिवारका प्रत्येक परिवारले ३०/३० हजार सहयोग गरेर २४ लाखमा १० कठ्ठा जग्गा खरिद गरेको सोसाइटीका जिल्ला सदस्य अबदुल हुसैन गुलजारले बताए ।

पिस भिलेज निर्माण समितिका अध्यक्ष सरिफ आलमले सोसाइटीले दिएको जिम्मेवारी ९ महिनामा पूरा गरेको बताए । ‘दिनरात मिहिनेत गरेर ८० घर निर्माण गरेका छौं,’ उनले भने, ‘प्रत्येक परिवारलाई इँटाको पर्खाल र जस्ताको छाना भएको दुई कोठे घर र शौचालय निर्माण गरेका छौं ।’ बालिका विद्यालय निर्माणका लागि सरिफले दुई बिघा जग्गा नि:शुल्क उपलब्ध गराएको बताए ।

उक्त जग्गामा सोसाइटीलाई विद्यालय निर्माणका लागि पहल गरिदिन आग्रह गरेको उनले सुनाए । मुख्यमन्त्री शेरधन राईले उक्त बस्तीको मंगलबार उद्घाटन गरे । उनले मुलुकमा हजारौं संघसंस्था करोडौं रुपैयाँ खर्च गरिरहेको कसैले जानकारी पाउँदैन तर यस संस्थाले बस्तीको स्वरूप नै फेरिने गरी गरेको काम प्रशंसनीय र प्रेरणादायी भएको बताए ।

‘प्रदेश १ को गरिवी घटाउने र हटाउने अभियानमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने, ‘प्रदेशभरिका सुकुम्बासी समस्या समाधानका साथै अव्यवस्थित बस्तीलाई व्यवस्थित बस्तीमा परिणत गर्ने अभियानमा सबैलाई हातेमालो गर्न आग्रह छ ।’

कुबेतका रहमा इन्टरनेशनलका निर्देशक अबुअलीद अलसएलमले यहाँका बस्तीवासीको अनुहार हेरेर आफू उत्प्रेरित भएको र यस क्षेत्रको विकासका लागि अझै लगानी गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सांसद तथा पूर्वमन्त्री शिवकुमार मण्डल, प्रदेश सांसद ज्ञानेश्वर राजबंशी र लिलाबल्लभ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : असार ६, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?