१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डायर मेसिन नहुँदा किसान मारमा

अर्जुन राजवंशी

भद्रपुर (झापा) — डायर मेसिनको अभावमा जिल्लाका किसानलाई चैते धान बिक्री गर्न समस्या भएको छ । चैते धानको उत्पादनमा वृद्धि भए पनि डायर मेसिनको अभावमा किसानले समयमै धान बिक्री गर्न पाएका छैनन् ।

डायर मेसिन नहुँदा किसान मारमा

किसानले चैते धान काटेलगत्तै बेच्नुपर्ने हुन्छ । तर, धान खरिद गरेपछि सुकाउने उचित व्यवस्था नहुँदा व्यापारी र मिल सञ्चालकहरूले धान खरिद गर्न मानिरहेका छैनन् । समयमै धान बिक्री नभएपछि चैते धान उत्पादन गरेका किसान मर्कामा परेका छन् ।

जिल्लामा यो वर्ष चैते धान रोपाइँको क्षेत्रफल बढेको थियो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाश डाँगीका अनुसार यो वर्ष २० हजार ६ सय ५० हेक्टरमा चैते धान रोपिएको थियो । जसबाट एक लाख ९ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षभन्दा १ दशमलव ७२ प्रतिशतले वृद्धि भई यो वर्ष जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ५ दशमलव ३ मेट्रिक टन रहेको छ ।

चैते धान सुकाउने डायर मेसिन भएका मिलहरूको संख्या न्यून रहेको छ । जिल्लामा रहेकामध्ये पाँचवटा राइस मिलसँग मात्रै धान सुकाउने डायर मेसिन छ । तर, मिलहरूको क्षमताभन्दा बढी धान उत्पादन भएकाले किसानको मागअनुसार व्यापारी र मिलहरूले धान खरिद गर्न नसकेका हुन् ।

‘मैले जेठ १५ देखि नियमित रूपमा धान खरिद गरिरहेको छु,’ भद्रपुरस्थित गणेश एग्रोका सञ्चालक उज्वल श्रेष्ठले भने, ‘तर, किसानहरूको माग मेरो मिलको क्षमताभन्दा बढी आइरहेको छ । चैते धान खरिद गर्दा केही सावधानी अपनाउन जररी रहेकाले किसानको मागअनुसार धान खरिद गर्न सकिरहेको छैन ।’ उनको मिल जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन क्षेत्र नजिक पर्ने एक मात्र मिल हो । उनको मिलमा ३० टन क्षमताको एउटा डायर मेसिन छ । उक्त मेसिनले ८ घण्टामा ३० टन चैते धान सुकाउने गरेको सञ्चालक श्रेष्ठले बताए ।

दिनमा दुईपटक गरी ६० टन धान सुकाउने गरेको उनले बताए । उनले दुई/दुई दिनको फरकमा धान खरिद गर्ने गरेको बताए । ‘फरक राखिएन भने खरिद गरेको धान सुकाउन सकिँदैन । अहिलेको धान दुई दिनभित्र सुकाइएन भने बिग्रिने सम्भावना उच्च हुन्छ,’ उनले भने ।

जिल्लामा श्रेष्ठको सहित सूर्य एग्रो धाइजन, मित्तल एग्रो चारआली, नुतन राइस मिल लखनपुर र गोल्छा राइस मिल गौरीगन्जमा मात्र डायर मेसिन छ । सुपर जोन कार्यक्रम सञ्चालनमा आएपछि जिल्लामा चैते धानको उत्पादनमा वृद्धि भएको हो । विगतमा भद्रपुर, धाइजन, चारआलीका मिलहरूले टाढाबाट धान खरिद गरेर ल्याउनु पर्दथ्यो । डायर मेसिन नभएका जिल्लामा एक सय ५० बढी राइस मिल छन् । तर, मौसम अनुकूल नभएकाले ती मिलहरूले चैते धान खरिद गरेका छैनन् ।

मिल स्थापनको माग
धान सुपर जोन क्षेत्रका किसानले धान सुकाउने डायर मेसिनसहितको राइस मिल स्थापनको माग गरेका छन् । उनीहरूले सरकारको योजना र कार्यक्रमअनुसार धान उत्पादनमा वृद्धि भएकाले त्यसको सही सदुपयोगका लागि सुपर जोन क्षेत्रमै आधुनिक मेसिनसहितको राइस मिल स्थापना गर्नुपर्ने माग गरेका छन् ।

सरकारले राइस मिल स्थापना नगरे धान सुपर जोन कार्यक्रम विस्तारै प्रभावहीन बन्ने धान सुपर जोन सञ्चालक समिति अध्यक्ष नवराज भट्टराईले बताए । ‘सरकारको कार्यक्रम र लक्ष्यअनुसारै यहाँका किसानले धान खेती गर्न थालेका छन् । त्यसबाट उत्पादन पनि राम्रै भएको छ,’ उनले भने,‘अब यो उत्पादनको उचित बजारीकरणका लागि सुपर जोन क्षेत्रमै कम्तीमा एउटा आधुनिक राइस मिल जरूरी भएको छ । नभए किसानले उत्पादन गरेका धान खेर जाने अवस्था भइसकेको छ । त्यो अवस्था आए, त्यसको जिम्मेवारी कसले लिने ?’

सुपर जोन कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिनाले मिलको अभावमा किसानले धान बिक्री नगर्न नपाएको बताए । ‘सुपर जोनको सहयोगले किसानले जुन हिसाबमा धान रोपेर उत्पादन बढाए । अहिले त्यो हिसाबले धान बिक्री भइरहेको छैन । यसबाट धेरै किसान निराश देखिन्छन्,’ उनले भने । सुपर जोन क्षेत्रमा यो वर्ष साढे ७ सय बिघा क्षेत्रफलमा चैते धान रोपिएको थियो । त्यहाँ प्रतिबिघा एक सयदेखि एक सय २० मनसम्म धान उत्पादन भएको छ ।

मेसिन किन्ने बजेट फ्रिज
डायर मेसिनको अभावमा किसानले उत्पादन गरेका चैते धान बिक्री नभइरहेको अवस्थामा मेसिन खरिदका लागि सरकारले विनियोजन गरेको बजेट भने वर्षेनी फ्रिज हुने गरेको छ । उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विभागबाट जिल्लामा आउने गरेको बजेट दुई वर्षदेखि नियमित रूपमा फ्रिज भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका अनुसार सुपर जोन क्षेत्रमा धानमा आधारित अर्ध वा पूर्ण प्रशोधन गर्ने उद्योग स्थापना वा स्थापित उद्योगलाई क्षमता वृद्धिका लागि ५० प्रतिशत अनुदानमा मेसिनरी उपकरण खरिदका लागि गत वर्ष ३ करोड र चालु वर्षमा ८४ लाख रूपैयाँ आएको थियो । तर, उक्त रकम कार्यान्वयन गर्न नसकिएकाले फ्रिज भएर गएको कार्यालयका उद्योग अधिकृत गोपाल लिम्बूले बताए । उनका अनुसार मन्त्रालयले गत जेठ १० गते मात्रै रकम पठाएकाले बजेट फ्रिज भएर जान लागेको हो ।

मिलको क्षमता वृद्धिका लागि भद्रपुरको गणेश एग्रो र कचनकवल गाउँपालिकाको ज्योति राइस मिलले निवेदन दिएका थिए । तर, सार्वजनिक खरिद ऐनअनुसार चालु वर्षको असार २५ गतेसम्ममा बजेट कार्यान्वयन गर्न नसकिने भएकाले दुवै निवेदनमाथि कारबाही अघि नबढाएको लिम्बूले बताए ।

प्रकाशित : असार ६, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?