१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

वामपन्थी नेता तीन वर्षदेखि अचेत

‘कसैले सोधखोज गरेनन्’

बिर्तामोड (झापा) — ऊर्जाशील समय भूमिगत राजनीतिमा पाँच दशक बिताए । वामपन्थी राजनीतिमा पार्टीको संगठन विस्तार र इमान्दार कार्यकर्ताको रूपमा आफ्नो पहिचानसमेत बनाए । चेतविहीन अवस्थामा एउटै ओछ्यानमा थलिएका छन्– ६८ वर्षीय पूर्णमान लावती ।

वामपन्थी नेता तीन वर्षदेखि अचेत

बिर्तामोड नगरपालिका ५ किरात चोकमा २०७२ चैतदेखि अचेत अवस्थामा थलिएका छन् । लावती तत्कालीन एमाले निकट बुद्धिजीवि परिषद्का केन्द्रीय उपाध्यक्ष समेत हुन् । अर्थात् उनी बहालवाला बुद्धिजीवी परिषद्का उपाध्यक्ष छन् । शरीरमा हड्डी र छालाबाहेक केही छैन ।

खानाको नाममा नाकमा राखिएको नलीबाट दिइने तरल वस्तु । त्यो पनि पेटमा जोडिएको नलीबाटै निकास हुन्छ । उनलाई भेट्न मात्र होइन, ठूला नेताहरूसँग सोधखोज गर्नेसम्म फुर्सद छैन । २०२६ सालतिर जन्मथलो पाँचथरको यासोकमा शिक्षण सेवामा रहँदादेखि भूमिगत राजनीतिमा सक्रिय थिए । २०२७ सालमा खाद्य संस्थानमा प्रवेश गरेका उनी पछिल्लो समय कृषि सामग्री संस्थानको अधिकृतबाट निवृत्त हुन् । जागिरे जीवनमा पनि उनको पार्टीगत भूमिकालाई झापाका पुराना वामपन्थी नेताहरू प्रशंसा गर्छन् ।

उनी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालका विद्यालयस्तरका सहपाठी हुन् । त्यस्तै अर्का नेता सुवासचन्द्र नेम्वाङका निकट हितैषी हुन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका समेत नजिक मानिएका लावती सक्रिय हुँदा खनाल, नेम्वाङ अनि ओलीलगायत उपल्ला दर्जाका नेतासँग बाक्लै हिमचिम हुने गथ्र्यो । तर पछिल्लो तीन वर्ष लावतीको अवस्थाबाट उनीहरू विमुख छन् । ‘कहिल्यै ठूला नेताले सोधीखोजी समेत गरेनन्,’ पत्नी पूर्णकुमारीले भनिन्, ‘उपेक्षाको पनि हद भयो ।’ पार्टीको काम भनेपछि घर, परिवार र पाकेको खानासमेत छोडेर हिँडेको उनले स्मरण सुनाइन् ।

कयौं पटक पार्टी निकट नेतालाई उपचारका लागि गुहारे पनि सुनुवाइ नभएको उनको भनाइ छ । उपचारका लागि ११ लाख बढी खर्च भएको पूर्णकुमारीले बताइन् । ‘एकातिर छोराछोरी पढाउने र अर्कोतिर श्रीमान्को उपचार खर्च जुटाउन असाध्यै कठिन भयो,’ उनले भनिन्, ‘अब त मनले हरेस खाइसक्यो ।’ २०४१ सालमा विवाह बन्धनमा बाँधिएको अवस्थामा नै पति वामपन्थी राजनीतिमा सक्रिय रहेको उनले बताइन् ।

झापाका विभिन्न स्थानमा केन्द्रीय स्तरका नेता आएको खबर सञ्चार माध्यममा सुन्दा हेर्न आउलान् भन्ने आशा लागे पनि सोधीखोजी समेत नगरिएको उनले दुखेसो पोखिन् । उनलाई स्याहारसुसार गर्ने पत्नी पूर्णकुमारी मात्र एक्ली छन् । छोरी आभा अस्ट्रेलिया तथा जेठो छोरा आवेश र कान्छो आशिष जागिरको सिलसिलामा घरबाहिर भएपछि स्याहार्ने उनी एक्लो बनेकी हुन् ।

२०७२ फागुनमा महाकालीको भीमदत्त नगरपालिकामा सम्पन्न बुद्धिजीवी परिषद्को महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष निर्वाचित भए लगत्तैदेखि उनी बिरामी परेको उनीसँगै महाधिवेशनमा सहभागी स्थानीय माधव चौलागाईंले बताए । ‘असाध्यै जिम्मेवार र इमान्दार नेताको रूपमा परिचित हुनुहुन्थ्यो’ चौलागाईंले भने, ‘महाधिवेशनबाट आएदेखि थलिनुभएको, तीन वर्षसम्म अझै होसमा आउनुभएको छैन ।’ उनको अवस्था नियाल्दा आँसु झर्ने गरेको चौलागार्इं बताउँछन् । स्नायुमा ‘ट्युमर’ पलाएकोले उनको शल्यक्रिया गरिएको थियो । धरान, काठमाडौं, बिर्तामोड लगायतका अस्पतालमा झन्डै पाँच महिना उपचारका क्रममा भर्ना गरिएको आफन्त तेजेन्द्र लावतीले बताए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नरेश खरेलले लावतीलाई चरम उपेक्षा भएको स्वीकार गरे । लावतीको अवस्था नियाल्न नियमित रूपमा जाने गरेका खरेलले यसबारे पार्टीको ‘हाइकमान्ड’ मा जानकारी गराए पनि खास चासो नदिएको बताए । ‘ऊर्जाशील समय पार्टीका नाममा बिताउने लावतीजीलाई पार्टीको हाइ कमान्डले चिन्न सकेन,’ उनले थपे, ‘यस्ता गतिविधिले लगनशील भएर लाग्ने कार्यकर्तामा निराशा पैदा गर्दछ ।’ लावतीको अवस्थाबारे स्थानीय स्तरका नेता कार्यकर्ताले भने सामान्य चासो राख्ने गरेका छन् ।

प्रकाशित : असार ७, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?