३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अलैंची किसानलाई भट्टीकै भर

संखुवासभा — मकालु गाउँपालिका–५ नुमका कृषक हर्कजित राईले दुई वर्षअघि आधुनिक भट्टीबाट सुकाएको अलैंचीको मूल्य पाएनन् । परम्परागत शैलीबाट सुकाएको अलैंचीको मूल्य एउटै भएपछि राई पुरानै भट्टीमा फर्किए ।

अलैंची किसानलाई भट्टीकै भर

आधुनिक भट्टीमा सुकाउँदा धूवाँ कम लाग्ने र राम्रो रंगको अलैंची निस्किए पनि सुक्न लामो समय लाग्ने उनको भनाइ छ । परम्परागत भट्टीमा सुकाउँदा करिब ३६ घण्टामा सुक्ने अलैंची आधुनिक भट्टीमा एक हप्ता लाग्छ, उनले भने, लामो समय लगाएर सुकाएको राम्रो अलैंचीको मूल्य पनि उस्तै छ । गाउँका सबै कृषक पनि परम्परागतभट्टीको प्रयोग गरेर अलैंची सुकाउने गरेको उनले बताए । मकालु गाउँपालिकामा मात्र नभएर अन्य स्थानका कृषकहरूले पनि पुरानै शैलीको भट्टीमा अलैंची सुकाउने गरेका छन् । मूल्य उस्तै भएकाले उनीहरूले पुरानै शैली छाड्न सकेका छैनन्, उनले भने, मेहनत लगाएर अलैंची सुकाए पनि मूल्य नबढ्ने हो भने कृषक थप मारमा पर्नेछन् ।

‘मैले लामो समय आधुनिक भट्टीमा सुकाएर लगेको अलैंची पनि परंम्परागत भट्टीमा सुकाएकोसँगै मिसाएर उही मूल्यमा बेचे,’ सिलिचोङ गाउँपालिका–३ ताम्कुका कृषक तुलाबहादुर कुलुङले भने, पछिल्लो समय यहाँ गुणस्तर सम्बन्धी कुनै ज्ञान नभएका बिचौलियाहरूले अलैंची संकलन गरिरहेका छन् । कृषकहरूको अलैंची वास्तविक व्यापारीसम्म पुर्‍याउन नसक्दा गुणस्तरयुक्त अलैंचीले उचित मूल्य पाउन सकिरहेको छैन, उनले भने, कृषकले संस्थागत वा सामूहिक रूपमा अघि बढाउन नसक्दा बिचौलियाले भनेकै मूल्यमा बिक्री गर्नुपर्छ । अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठले गुणस्तरको अलैंचीलाई राम्रो मूल्य दिने गरेको बताए । धूवाँरहित रातो रंगको अलैंचीलाई प्रतिमन तीनदेखि चार हजारसम्म बढी मूल्य दिन्छौं, उनले भने, स्थानीय व्यापारीले गुणस्तरयुक्त र गुणस्तरहीन अलैंचीलाई मिसाएर ल्याउँछन्, अनि एउटै मूल्य पाउछन्, आधुनिक भट्टी प्रयोग गर्न अग्रसर हुँदैनन् । कतिपय कृषकले तौल बढाउन सुकेको अलैंचीमा पानी छर्कने र ओसिलो ठाउँमा राख्छन्, उनले भने, यसो गर्दा गुणस्तर घट्छ र मूल्यमा पनि कमी हुन्छ । गुणस्तर नभएको अलैंचीले मूल्य पाउँदैनन्, उनले भने, कृषकको आफ्नै कमजोरीले समस्या छ । कृषकको व्यक्तिगत स्वार्थ खोजेर छिट्टै नाफा कमाउने उद्देश्य राखेपछि मूल्यमा कमी आएको उनको भनाइ छ । गुणस्तर कायम नभएपछि तुलनात्मक रूपमा स्वत: मूल्य घट्नु स्वाभाविक हो, उनले भने, जसका कारण कृषकसमेत मारमा परेका छन् । उत्पादन हरेक वर्ष बढे पनि गुणस्तर नहुँदा गोदाममै अलैंची थन्किएको उनले बताए ।

नेपाली अलैंचीको प्रशोधन प्रविधि र गुणस्तर पछिल्लो समय चर्चाको विषय बनेको छ, व्यापारी छत्रमणि काफ्लेले भने, कृषकले उत्पादन र प्रशोधन गरेको अलैंची गुणस्तर नभएकाले समस्या आएको छ । अलैंचीको व्यवसाय धराशायी हुने देखिएको छ, उनले भने, गुणस्तर सुधारका लागि आधुनिक भट्टी प्रयोग नभए मूल्यमा सधैं गिरावट हुने शंका उत्पन्न भएको छ ।

सरोकारवालाहरूले जति धेरै सल्लाह दिए पनि कृषकले भने परम्परागत भट्टी छाड्न सकेका छैनन् । अलैंची यहाँको प्रमुख नगदेबाली हो । जिल्लामा २ हजार ७ सय ९० हेक्टर क्षेत्रफलमा अलैंची खेती लगाइएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ७, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?