बेकरीबाट मनग्गे

काँकडभिट्टा — मेचीनगर ६ का चन्द्र ढुंगेलले बेकरी व्यवसायबाट मनग्गे कमाइ गरिरहेका छन् । सुरुमा चार किलो मैदाबाट थालेका उनले अचेल दैनिक सय किलो मैदा प्रयोग गरेर बेकरीका विभिन्न बस्तु बनाउने गरेका छन् ।

बेकरीबाट मनग्गे

काँकडभिट्टास्थित नेहा–स्नेहा बेकरीमा केक, ब्रेड, कुकिज उत्पादन गर्छन् । अहिले उनीसँगै नौ जनाको परिवार पनि पालिएको छ । थप ९ जनाले रोजगारी पाएका छन् । थोरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्द्र भन्छन्, ‘पहिला थोरै लगानीमा सुरु गरें तर, अहिले लगानी बढ्दै गएको छ ।’


उनका अनुसार करिब ४० लाख लगानी भइसकेको छ । वार्षिक एकदेखि डेढ करोडको व्यापार गर्छन् । मासिक १ लाख आम्दानी भइरहेको उनले बताए । २०७२ को महाभूकम्पका बेला चन्द्र परिवारसँगै काठमाडौंमा बस्थे । क्यानाडेली साथीसँगको साझेदारीमा खोकनामा करिव ६५ रोपनी जमिन लिजमा लिए । करिव ५० लाख रुपैयाँ लगानी गरेर ‘मिल्कमेन्डो’ डेरी कम्पनी सञ्चालन गरेका थिए । त्यसबाट उति राम्रो कमाइ थिएन ।


मिल्कमान्डुको दुग्ध उत्पादन मूलत: काठमाडौंस्थित कूटनीतिक नियोगका कार्यालयहरूमा बढी खपत हुन्थ्यो । ‘हामी विभिन्न देशका एम्बेसीहरूलाई होम डेलिभरी गथ्र्यांै’, चन्द्रले सुनाए, ‘हाम्रो व्यापार राम्रो थियो ।’ भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कम्पनीले उत्पदन गर्न सकेन । अन्तत: बन्द गर्नुपर्‍यो । दुग्ध कम्पनी डुबेपछि चन्द्रले केही समय गेस्ट हाउस पनि चलाएर बसे । तर, त्यसले पनि चित्तबुझ्दो व्यापार नभएपछि निराश शने । भूकम्पका कारण कान्छी छोरीमा आएको मानसिक बिरामीले सपरिवार काठमाडांै छाड्न बाध्य पार्‍यो ।


आफन्तहरूको सहयोगमा चन्द्रले केही वर्षअघि काँकडभिट्टामा जमिन किनेर एउटा सानो घर बनाएर भाडामा छाडेका थिए । त्यही घरमा आएर बसे । चन्द्रले कुनै दिन काँकडभिट्टा बस्नुपर्ने दिन आएछ भने बेकरी व्यवसाय गर्ने योजना पहिल्यै बनाएका थिए ।


‘४/५ वर्षअघि नै यदी काँकडभिट्टा बसिएछ भने बेकरी व्यवसाय गर्छु भन्ने सोचेको थिएँ’, चन्द्रले सुनाए, ‘त्यही योजना मुताविक व्यवसाय सुरु गरेको हुँ ।’ काठमाडौंबाट अरू सामानसँगै ओभन र मिक्सरहरू पनि ल्याए । तर, डेढ वर्षदेखि कोठामा थन्किए । परिवारको सल्लाहमा बेकरी व्यवसाय नै गर्ने निधो भयो । काँकडभिट्टामा यसअघि बेकरी आइटम पाइँदैनथ्यो । बर्थ डे केक चाहिँदा भारतको पानीट्यांकी, सिलिगुडी जानुपर्ने बाध्यता थियो । ‘अब त्यो बाध्यता टरेको छ,’ चन्द्र भन्छन्, ‘यहाँ बेकरीको माग बढ्दो छ ।’

प्रकाशित : असार ८, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?