कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘प्रदेशकै नमुना नगर बन्नेछ’

काठमाडौँ — सर्वोच्च शिखर सगरमाथाको द्वारका रूपमा परिचित कटारीबजार कटारी नगरपालिकाको मुख्य व्यापारिक केन्द्र हो ।

‘प्रदेशकै नमुना नगर बन्नेछ’

विकास निर्माणका दृष्टिले पछि परेको कटारीको विकास गर्न बृहत्तर योजना अघि सारिएको छ । चुरे र महाभारत पर्वत शृंखलामा फैलिएको कटारी नगरपालिकालाई हरेक दृष्टिकोणले सुन्दर, सफा, हरियालीसँगै पर्यटकीय नगरीका रूपमा विकास गर्ने नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको योजना छ । यही सेरोफेरोमा श्रेष्ठसँग कान्तिपुरकर्मी डिल्लीराम खतिवडाले गरेको कुराकानी :

एक वर्षको अवधिमा केके काम भए ?
एक वर्षभित्र अपेक्षाकृत रूपमा विकासका कार्यक्रमहरू पूरा गर्न नसके पनि प्राप्त स्रोतसाधनको प्रयोग गर्दै सडक, ढल, ग्रामीण बाटो निर्माणका कामहरू गरेका छांै । नयाँ संरचना भएका कारण कतिपय संरचनाहरूको व्यवस्थापनमा पनि लाग्नुपर्ने अवस्था रह्यो ।


प्रत्येक वडा कार्यालयसम्म पुग्ने कच्ची भए पनि सडक सञ्जालको विस्तार गरेका छांै । निर्वाचनपछि नगरको विकासमा हामीले दीर्घकालीन, अल्पकालीन र तत्काल गर्नुपर्ने योजनाहरूको सूची बनाएर क्रमागत रूपमा विकासलाई अगाडि बढाउने गरी काम सुरु गरेका छांै । तत्कालै नगरपालिकाको समग्र विकासको निमित्त सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासका न्यूनतम पूर्वाधारको विकास गर्ने र दीर्घकालमा समृद्ध नगरपालिका निर्माण गर्ने योजनमा लागिपरेका छौं ।


नगरमा विकासको सम्भावना कस्तो छ ?
समृद्ध नगर बनाउने लक्ष्यसाथ अघि बढिरहेका छांै । पर्याप्त सम्भावना छन् । सगरमाथाको प्रवेश द्वारका रूपमा परिचित यस क्षेत्रमापर्यटनको प्रचुर सम्भावना छ । तराईदेखि माथिल्लो सगरमाथासम्मको नाकाका रूपमा यो नगर छ । हरेक १५ मिनेटको पैदल दूरीमा फरकफरक मौसमको अनुभव लिन सकिने अवस्था छ । प्रशस्त चुन ढुंगा खानी रहेकाले राजस्वको पनि राम्रै प्रक्षेपण गर्न सकिने अवस्था छ । औद्योगिक क्षेत्रको समेत सम्भावना छ ।


विकासमा कुन क्षेत्रलाई प्राथमिकता दिइएको छ ?
१४ वटै वडालाई सडक सञ्जालले जोड्ने, नगरपालिकामा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, कृषिमा आधुनिकीकरण गरी नगरको परनिर्भरता हटाउने, वैज्ञानिक खेती र नगदेबाली उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउने, अन्तरनगर तथा गाउँपालिका स्तरीय सडक सञ्जालको विकास गर्ने, पर्यटनको सम्भावना रहेका क्षेत्रहरूमा पर्यटनसम्बन्धी विभिन्न योजनाहरू सञ्चालन गर्ने, नगरका सबै वडाका बस्तीहरूलाई वडा कार्यालयसग जोड्न सडक सञ्जालको विस्तार गर्ने, नदी नियन्त्रण र बस्ती विकासको सम्भावनालाई दृष्टिगत गरी नदी किनारमा सडकहरू निर्माण गर्ने, सबै विद्यालयहरूमा पर्याप्त भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गर्ने, सबै वडामा विद्युत् विस्तार गर्ने कामको थालनी गरिसकेका छौं ।


चुनौती के देख्नुहुन्छ ?
नगर क्षेत्रमा राजमार्गसँग जोड्ने सिद्धिचरण लोकमार्गको विकास र मर्मत नहुँदा समस्या छ । पडाडी क्षेत्रमा खानेपानी मुहान अभाव छ । सिँचाइको व्यवस्थापन चुनौतीपूर्ण छ । तल्लो क्षेत्रमा नदी नियन्त्रणका समस्याहरू छन् । वर्षेनी खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको छ । आन्तरिक स्रोतको व्यवस्थापन गर्न पनि चुनौती छ, जनताका
सबै अपेक्षाहरू पूरा गर्न कठिन पनि छ । तथापि हामी यी चुनौतीहरूको सामना गर्दै जन अपेक्षाअनुसारको विकास गर्न प्रतिबद्ध भएर लागिपर्ने छांै ।


के–के नियमकानुन निर्माण भए ?
स्थानीय तहको विनियोजन ऐन, स्थानीय तहको आर्थिक ऐन, नगर कार्यपालिका कार्यसम्पादन नियमावली, नगरपालिकाको आर्थिक कार्यविधि नियमित, स्थानीय तहको सरकारबाट गरिने बजार अनुगमन, एफ/एम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि, स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन कार्यविधि,घ वर्गको निर्माण व्यवसायी इजाजत पत्रसम्बन्धी कार्यविधि, नगर विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि, स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्न कार्यविधि, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, स्थानीय तह सहकारी ऐन,संस्था दर्ता लगायत कानुन निर्माण गरिसकिएको छ ।


अरू दलसँग कसरी समन्वय भइरहेको छ ?
अरू दलसँग राम्रै सम्बन्ध छ । कार्यपालिकाको सदस्यका रूपमा अन्य दलका साथीहरू पनि हुनुहुन्छ । विभिन्न विषयगत समितिमा पनि अन्य दलका साथीहरूको समेत उपस्थिति रहेको छ । हामीले निर्माण गरेका नीति नियमहरू, योजना तथा बजेट बाँडफाँडमा समेत सर्वसहमतिका आधारमा निर्णय भएका छन् । समन्वय तथा सुझावहरू आदानप्रदान हुने गरेको छ ।


तपार्इंको कार्यकालमा नगरको स्वरूप कस्तो हुन्छ ?
हामीले ‘समग्र कटारी नगरको समृद्धिको आधार शिक्षा स्वास्थ्य रोजगारी र पर्यटन पूर्वाधारसहितको कटारी नगर’ भन्ने नगरपालिकाको नारा बनाएका छांै । यसैलाई पूरा गर्दा प्रदेशकै नमुना बन्नेछ । कटारी नगरपालिकालाई नमुना नगरपालिकाका रूपमा विकास गर्ने छांै । यसका लागि नगर क्षेत्रमा साना तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना गरिने छ । नगरपालिका क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रबन्ध गरिने छ । स्वास्थ्यमा सबै नागरिको पहँुच हुनेछ । यसका लागि हामीले नगरपालिकाको माथिल्लो महाभारत क्षेमा १५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र निर्माण सुरु गरेका छांै । कृषिमा आत्मनिर्मर बनाउन बैज्ञानिक कृषि प्रणालीको व्यवस्थापन गर्नेछौं । यी कामहरूको सुरुवात भइसकेको छ ।

प्रकाशित : असार ८, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?