कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पञ्चेबाजा संरक्षण गर्दै व्राह्मण

चन्द्र कार्की

खाम्लालुङ (तेह्रथुम) — पञ्चेबाजा र यसको प्रयोग हराउन थालेपछि आठराई गाउँपालिका खाम्लालुङ सामथाङका व्राह्मणहरू संरक्षणमा जुटेका छन् ।

पञ्चेबाजा संरक्षण गर्दै व्राह्मण

बाजा बजाएकै कारण आफूहरू अपहेलित भएको भन्दै गाउँका दलित समुदायले पुर्खौली पेसाका रूपमा बजाउँदै आएका बाजा फ्याँकेर बजाउन छाडेपछि तिनै बाजाहरू संकलन गरेर व्राह्मण समुदायले संरक्षणको पहल थालेका हुन् ।

दलित समुदायले मात्र बजाउँदै आएका यी बाजाहरू अहिले यहाँका व्राहमण समुदायले बजाएर यति बेला मनग्यै आम्दानी समेत गरिरहेका छन् । ‘लोपोन्मुख लोक बाजाको संरक्षण गर्न अभियान थालिएको हो,’ शिक्षक समेत रहेका संरक्षण कार्यका अगुवा सीताराम निरौलाले भने, ‘यो कार्यले समाजमा रहेको जातीय विभेदको अन्त्य गर्न पनि ठूलो सहयोग पुर्‍याएको छ ।’

निरौला गाउँमा रहेको महेन्द्र माविका शिक्षक हुन् । स्थानीय ३० बढी व्राह्मण परिवार घरका काम छोडेर दलित समुदायले बजाउने पञ्चे र नौमती बाजा संकलन गरेर बजाउने काममा व्यस्त छन् । गाउँका यिनै व्राह्मणहरू वारिपारि गाउँसम्म पुगेर विवाह तथा अन्य शुभकार्यमा नौमती र पञ्चेबाजा बजाउने गरेका छन् । दलित समुदायले फ्याँकेका बाजाहरू संकलन गरेर बजाउन पाउँदा सिंगो समुदाय खुसी भएको शिक्षक निरौलाले वताए ।

यस्ता बाजा बजाउँदा अन्य समुदायका व्यक्तिले दलित भनेर अपहेलना गरेको भन्दै जिल्लाभरका दलित समुदायका व्यक्तिले पछिल्लो समय अन्य जातिको शुभकार्यमा समेत बाजा बजाउन छोड्दै गएका छन् । केही वर्षअघिसम्म यहाँका दलित समुदायका व्यक्तिले गाउँभरिका विवाह, पूजाआजा, व्रतवन्ध, पुराण, बेठी लगायतका शुभकार्यमा पञ्चे र नौमती बाजा बजाएर रमाइलो गर्दथे ।

तर अहिले दलितले छोडेको उक्त पेसा गाउँभरका व्राह्मण समुदायले सम्हालेका छन् । सुरुमा गाउँका केही पढेलेखेका र लोक संस्कृतिका बाजा रूचाउने दुई चार जना युवाले मिलेर सुरु गरेको बाजा बजाउने अभियानमा अहिले गाउँभरीका बुढापाका र महिलाहरू समेतले साथ दिएका छन् । ‘अहिले प्रत्येक घरका छोरी बुहारी सवैले बाजा बजाउन सिकिसकेका छन्,’ स्थानीय युवा रोहित ढुंगानाले भने, ‘बाजा बजाउँदैमा दलित होइन्छ जस्तो हामीलाई लाग्दैन ।’ नेपालीको मौलिक चिनारीका रूपमा रहेको पञ्चेबाजा दलित जातिले बजाउन छोडेपछि यसको अस्तित्व नै मेटिन लागेकाले संरक्षणका लागि गाउँभरीका व्राह्मणहरू संगठित भएर लागेको उनले बताए । बाजाको संरक्षणका लागि गाउँभरिका व्राहमण समुदायका व्यक्तिहरू मिलेर सामथाङ युथ सोसाइटी नामक संस्थाको समेत स्थापना गरेका छन् ।

दलित समुदायले फ्याँकेका लोक बाजाहरू उनीहरूले खरिद गरेर जम्मा गरेका छन् । नरसिंहा जिल्लामा नपाइएकाले संखुवासभाको चैनपुरमा पुगेर खरिद गरेर ल्याइएको सोसाइटीका सचिव कुल प्रसाद निरौलाले बताए । सोसाइटीमार्फत संगठित भएका व्राह्मण समुदायले सहनाई, झ्याम्टा, दमाहा, ढोलकी, मादल, नरसिंहा, नगरा, ट्याम्को लगायतका बाजा बजाउन चाहिने सवै प्रकारका समान खरिद गरेर ल्याएका छन् । सोसाइटीले अहिले गाउँभरिका अन्य व्राह्मण परिवारका युवायुवती तथा बुढापाकाहरूलाई समेत यी बाजा बजाउने तालिम तथा प्रशिक्षण दिइरहेको छ । गाउँभरिका व्राह्मणहरू घरको सारा काम थाती राखेर प्रत्येक दिन चार घण्टा यी बाजा बजाउने तालिम लिइरहेका छन् । सिक्न आउने सवैलाई शिक्षक निरौलाले आफ्नै घरमा सबै प्रकारका बाजा बजाउन सिकाउँछन् । व्राह्मण परिवारका उनी सवै प्रकारका बाजा बजाउन पोख्त छन् ।

अन्य गाउँका व्राह्मणहरू दलितले बजाएका लोक बाजा छुँदा समेत अछुत होइने डरले छिछी र दुरदुर गर्छन् । तर यहाँका व्राह्मणहरू भने तिनै दलितले बजाएका बाजा खोजेर ल्याएर बजाउने काममा तल्लिन छन् । लेकाली यो गाउँको व्राह्मण बस्ती प्रत्येक दिन जसो पञ्चेबाजाले गुन्जायमान हुन थालेपछि वारिपारिका गाउँलेहरू समेत रमाइलो मानेर हेर्न आउन थालेका छन् । पहिलोपटक हेर्न आउनेहरूले व्राह्मणले बाजा बजाएको देखेर अनौठो मानेर हेर्ने गरेको स्थानीय गोपी ढुंगानाले बताए । गाउँका यी व्राह्मणले बाजा मात्र बजाउँदैनन् । हेर्न आउने जति सवैलाई नाच्न लगाउँछन् । ‘हामी बाजा बजाउँछांै, हेर्न आउनेलाई नाच्न लगाउँछौं,’ सोसाइटीका अध्यक्ष डम्वरू भण्डारीले भने, ‘यो कार्यले सवैको नृत्य क्षमतामा पनि विकास गराएको छ ।’

गाउँगाउँमा छरिएर रहेका लोकबाजा, लोकसंस्कृति, लोकनृत्य लगायतका कलाको संरक्षण र जगेर्ना गर्न सरकारले सहयोग गर्नुपर्नेमा कहीं कतैबाट सहयोग नपाएको उनीहरूको गुनासो छ । जातीय रूपमा पक्षपाती रहेको समाजलाई चुनौती दिएर गरिएको यो कामका लागि सरकारले बाजा खरिद गर्न केही सहयोग गरिदिन समेत उनीहरूले माग गरेका छन् । पुराना केही बाजा लोप भएर गइसकेकाले किन्न समेत नपाइएको बाजा बजाउने काममा संलग्न मञ्जु निरौलाले बताइन् ।

प्रकाशित : असार ९, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?