८५ बस्ती बाढीको जोखिममा

अर्जुन राजवंशी

दमक — झापाका ८५ वटा बस्ती बाढीको उच्च जोखिममा रहेका छन् । रेडक्रस सोसाइटीका अनुसार जिल्लाका ८ वटा ठूला नदीमा आउने बाढीका कारण ती बस्ती जोखिममा परेका हुन् ।

८५ बस्ती बाढीको जोखिममा

बर्खा लागिसकेकाले सम्भावित विपतका बारेमा रेडक्रसले जिल्लाका १५ वटै स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रसले विशेष गरी अति जोखिममा परेका ८५ वटा बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गर्दै आएको छ ।

जिल्लामा कन्काई, बिरिङ, रतुवा, मेची, निन्दा, हडिया, टाङटिङ र कमल–बनियानी नदीले बर्सेनि ठूलो मात्रामा जनधनको क्षति पुर्‍याउने गरेको रेडक्रस जिल्ला सभापति लोकराज ढकालले जानकारी दिए । रेडक्रसले तयार पारेको सूचीअनुसार कन्काई नदीको बाढीका कारण यस वर्ष २४ वटा बस्ती अति जोखिममा छन् ।

साबिकको महाभारा गाविसमा पर्ने चौरी, टप्पु, होक्लाबारी, टुनुबस्ती, पाँचगाछीको रंगियाथान, किचकडाँगी, विश्वडुब्बा, भागाडुब्बा, टाघनडुब्बाको सिमलबारी, नयाँ बस्ती, उराउ बस्ती, टप्पु बस्ती, मदरगाछ, शिवसताक्षीको सुकुम्बासी टोल, टोपलाल बस्ती, पुरानो बजार, कोरोबारीको भाकुरमारी, हुमाडाँगी, गिनीबारी, कुमरखोदको सिमल बस्ती, सुगाबथान र नयाँ बस्ती अति जोखिममा छन् ।

बिरिङ नदीको बाढीका कारण १३ वटा बस्ती अति जोखिममा छन् । साबिक खुदुनाबारीको साधुटार, खुदुनाबारीको ३ नम्बर, बुधबारेको बिन्दली बाँध, बाङगे, अर्जुनधाराको जडुवा बस्ती, रातेखाल, मिलडाँडा पनि जोखिममा छन् ।

यस्तै, पानीकल, बाँसबारी, घैलाडुब्बाको पशु बजार, लुक्नीखाडी, लकडीगद्दी, सुकुम्बासी टोल, टाँगा गाउँ, चकचकीको सुवास बगान, राजगढको मोटापानी, घेराबारीको पिण्डालबारी, शरणामतीको राधा बस्ती र पन्तापारा बस्ती रहेको छ । यस्तै रतुवा नदीको बाढीका कारण झापाको उत्तरी सिमाना पेल्टीमारी, टुक्रे, झर्का, दमक ५, बेलडाँगी २, लखनपुरको १ र ७ को आइतबारे, बाह्रघरे, लालधन्द्रा र कोहबराको २ नम्बर रहेको छ ।

नेपाल–भारतको सिमाना भएर बग्ने मेची नदीका कारण साबिकको महेशपुरको २ र ४, पाठामारीको ४, ५ र ६, भद्रपुरको १, २ र ३, ज्यामिरगढीको ८, बाहुनडाँगीको ९, पाढापुर, केचनाको ८, निन्दा खोलाका कारण बाहुनडाँगीको ३, कृषि बजार, हिमाल बस्ती, धरधरे, पहेलेधाप, मेहेले गाउँ र ज्यामिरगढीको कचुबारी र मागामोल, हडिया खोलाका कारण बुधबारे बजारपूर्वको बस्ती, धाइजनको मंगलीको अवस्था पनि उस्तै छ ।

दुहागढीको तेलियाडाँडा र मिलडाँडा, टाङटिङ खोलाका कारण साबिकको खुदुनाबारी ८ नम्बर, कमलडाँगी, खुदुनाबारी २, मदनपुर, अर्जुनधाराको झेलेनी, सहरी बस्ती र दहीझोडा तथा कमल–बनियानी खोलाका कारण तोपगाछीको क्याम्पा बजार, सराङपाडा, महाभाराको कुन्जिबारी क्षेत्र, कोरोबारी र धरमपुर क्षेत्र कटान र डुबानको अति जोखिममा छ ।

जिल्लामा साना–ठूला गरी २७ वटा खोला/नदी छन् । तीमध्ये ८ वटा खोला/नदीले जिल्लामा बर्सेनि ठूलो मात्रामा क्षति पुर्‍याउँदै आएको छ । बाढीमा परी पछिल्लो दुई वर्षमा १७ जनाको मृत्यु भइसकेको छ । पाँच जनाको अवस्था अझै बेपत्ता छ ।

रेडक्रसको तथ्यांकअनुसार ०७३ सालमा बाढीमा परी एक जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता भएका थिए । ०७४ मा बाढीमा परी १६ जनाको मृत्यु भएको थियो । २ जना बेपत्ता भए । गत वर्षको बाढीका कारण जिल्लामा ८ सय ११ घरपरिवार पूर्ण रूपमा विस्थापित बनेका थिए । उनका अनुसार १५ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह कमल, गौरीगन्ज, झापा, कचनकवल र बाह्रदशी गाउँपालिका तथा शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा छन् ।

सम्भावित विपतका लागि झापा गाउँपालिका, गौरीगन्ज गाउँपालिकालगायत केही स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेका छन् ।

प्रकाशित : असार १४, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?