कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विराटनगर विमानस्थललाई जग्गा अधिग्रहण सुरु

विनोद भण्डारी

विराटनगर — विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा विकास गर्न नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पूर्वको जमिन अधिग्रहण सुरु गरेको छ ।

विराटनगर विमानस्थललाई जग्गा अधिग्रहण सुरु

अधिग्रहणमा परेका सर्वसाधारणले जमिनको मुअब्जा चित्त बुझ्दो पाएपनि घरको मुअाब्जा मूल्याङ्क‌न अत्यन्तै न्यून भएको भन्दै असन्तृष्टी जनाएका छन् । उनीहरुले घरको मुअाब्जा अहिलेको महंगी र बजार मूल्यका आधारमा नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


प्राधिकरणले पहिलो चरणमा विमानस्थलको उत्तर र दक्षिणको तारजाली पूर्वको ४ विघा ८ कठ्ठा जमिन अधिग्रहण गरी प्रति धुर ३ लाखदेखि ४ लाख २५ हजार रुपैयाँसम्म मुअाब्जा वितरण सुरु गरेको छ ।

तर त्यस क्षेत्रमा पर्ने सर्वसाधारणका २६ वटा घरको मुअब्जा मूल्याङ्कन अत्यन्तै न्यून भएको भन्दै पीडित परिवारले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घरको मुअाब्जा मूल्याङ्कनमा पुर्नविचार गर्न आग्रह गरेका छन् ।

अधिग्रहणमा परेका २६ परिवारले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाउँदै मुअाब्जामा पुर्नविचार नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


प्राधिकरणले जमिनको मुअब्जा उचित दिएको हो । पीडित रामप्रसाद नेपालका अनुसार घरको मूल्याङ्कन कौडीको भाउमा गरेपछि आफूहरु संघर्षमा उत्रने तयारी गरेको बताए ।


घर मुअाब्जाको मूल्याङ्कंन प्रति इस्क्वायर फुट १ हजार ६ सय ५० रुपैयाँका दरले गरिएको छ । यो मूल्याङकनले ९ सय इस्क्वायर फिटमा पिलरसहित निर्माण भएको डेढ तले ६ कोठे घरको मुअब्जा करिब साढे १६ लाख रुपैयाँमात्र पर्न आउँछ ।


अर्का पीडित चन्द्रकुमार पराजुलीले अहिलेको महंगी अनुसार घरको मुअाब्जा नपाए न्यायकालागि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताए । गत वर्ष २५ लाखको लागतमा घर निर्माण गरेका लक्ष्मण गुरुङले घरको मुअाब्जा १५ लाख पाउन लागेको बताए ।


विमानस्थल प्रमुख टेकनाथ सिटौलाले ४ विघा ८ कठ्ठा जमिनको मुअाब्जा वितरण सुरु भएको बताए । नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलको उत्तरपूर्व १ सय ५० मिटर र दक्षिणपूर्व १ सय ५० मिटरमा पर्ने ४ विघा ८ कठ्ठा जमिन अधिग्रहण गरी ६९ करोड मुअाब्जा वितरण कार्य सुरु गरेको हो । सिटौलाले भने, ‘उक्त जमिन अधिग्रहण गरेपछि विमानस्थलको स्वामित्वमा १ सय २० विघा जमिन हुने छ । ’


जमिन मात्र भएकाले २५ प्रतिशतले मुअाब्जा लगेको विमानस्थल प्रमुख सिटौलाले बताए । घर भएकाहरुलाई पनि वितरण गरिदै गरेको उनले जानकारी दिए ।

भवन विभागको सिफारिसका आधारमा अधिग्रहणमा परेका घरको मुअाब्जा तय गरिएको उल्लेख गर्दै प्रमुख सिटौलाले भने, ‘जमिनको मुअाब्जा राम्रो पाएका उनीहरुले घरको पनि त्यस्तै मुअाब्जाको आश गरेका तर त्यो सम्भव नभएपछि घरको मुअाब्जामा सामान्य विवाद र असन्तुष्टी भएको हो ।’


विमानस्थलको हालको धावन मार्ग १ हजार ५ सय मिटर लामो छ । क्षेत्रीय विमानस्थलका लागि कम्तिमा पनि २ हजार ४ सय मिटर लम्बाई भएको धावन मार्ग आवश्यक पर्छ । त्यसकालागि प्राधिकरणले विमानस्थल पश्चिमतर्फको करिब सय विघा जमिन अधिग्रहण गर्ने माष्टर प्लान बनाएको छ । ४ विघा ८ कठ्ठा जमिन अधिग्रहण गरेपछि यो विमानस्थलको क्षेत्रफलको कुल लम्बाई २ हजार १ सय मिटर पुग्ने प्राधिकरणले जनाएको छ ।


राष्ट्रिय हवाई नीति २०६३ मा विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउने उल्लेख छ । अर्थमन्त्री युवराज खतिवडाले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले पनि यो विमानस्थललाई क्षेत्रीय स्तरमा परिणत गरी छिमेकी मुलुकमा उडान भर्ने उल्लेख गरेको छ ।


२०२५ सालमा भारतको लगानीमा स्थापना भएको विराटनगर विमानस्थलको क्षेत्रफल हाल १ सय १५ विघा र धावनमार्ग १ हजार ५ सय मिटर छ । क्षेत्रीय विमानस्थलका लागि कम्तीमा २ हजार ४ सय मिटर धावन मार्ग चाहिन्छ ।

प्रकाशित : असार १७, २०७५ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?