एन्फा एकेडेमीहरू सञ्चालन गरिने

सुनसरी — अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले धरानसहित बुटवल र काठमाडौंको एन्फा एकेडेमी आगामी वर्षदेखि पुन: सञ्चालनमा ल्याउने बताएका छन् । एन्फाको सात जनाको टोली पूर्वको फुटबलको अवस्था बुझ्न आउने क्रममा उनले फुटबल विकासका लागि जसरी पनि एकेडेमी सञ्चालन गर्ने बताएका हुन् ।

एन्फा एकेडेमीहरू सञ्चालन गरिने

अध्यक्ष शेर्पाले पहिले सञ्चालनमा आएका तर बीचमा विभिन्न कारणले रोकिएका ३ वटा एकेडेमीहरू चाँडै सञ्चालन हुने जानकारी दिए । फिफाद्वारा एकेडेमी सञ्चालनका लागि २२ करोड रुपैयाँ रकम निकासा भएको बताइएको छ ।

धरानको एन्फा एकेडेमी निरीक्षण अवलोकनपछि उनले भने, ‘तीनवटै स्टेडियमहरू पुन: मर्मत र सञ्चालनका लागि प्राविधिक स्टीमेट स्वीकृत भएको छ । आगामी सालदेखि एकेडेमी सञ्चालन हुनेछ ।’ उनले संघीय संरचनाअनुसार एन्फाको विधान मस्यौदा तयार गर्नुपर्ने भएकाले सातै प्रदेशका एन्फा पदाधिकारीसँग आवश्यक छलफल गरिरहेको बताए ।


उनले अनुशासित र व्यावसायिक खेलाडी उत्पादन र भौतिक पूर्वाधारका लागि १० वटा पहाडी जिल्लामा १० लाख रुपैयाँ र ३५ जिल्लामा फिफा ग्रासवुड प्रोगामअन्तर्गत ५ लाख रुपैयाँका दरले बजेट निकासा गर्ने बताए । एन्फाको संघीय संरचनालाई थप बलियो र मजबुत बनाउन जिल्ला कार्यसमितिको दायित्व, प्रतियोगिता, आर्थिक व्यवस्थापन, जिल्लाव्यापी प्रशासनलाई चुस्त र दुरुस्त बनाउने र पारदर्शीताका विषयमा प्रशिक्षणको कार्यक्रम असार मसान्तभित्र सम्पन्न गर्ने पनि शेर्पाले बताए ।

एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्षसमेत रहेका एन्फा एकेडेमी सञ्चालन संयोजक किशोर राईले एन्फा नेतृत्वले बनाएको रोड म्यापअनुसार अघि बढ्ने बताए । उनले भने, ‘यो आउँदो साउनदेखि तीनवटै एन्फा एकेडेमीको मर्मत सम्भार सुरु हुनेछ ।’ उनले धरानको एन्फा टेक्निकल सेन्टरलाई प्रदेशको खेलकुदका लागि केन्द्रबिन्दु बनाउन स्थानीय सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार यसपालि नेपालले ९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएको छ । प्रतियोगितामा सहभागी गराउन राष्ट्रिय टिमहरू बनाउँदै सम्भावित खेलाडीहरू छनोट गरिएको उनले बताए । उनले भने, ‘एन्फाको अल्पकालीन र दीर्घकालीन योजना विषयमा जिल्लामा जानकारी गराउने काम भइरहेको छ ।’ उनले नेपाली फुटबलमा महिलाको आकर्षण बढेको बताउँदै महिला खेलाडीहरूको खेल क्षमता बढाउन अन्डर १५, १६, १९ हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टिम बनाउने तयारीमा एन्फा जुटेको बताए ।

प्रकाशित : असार २०, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?