कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्थायी साधन प्रयोग घट्दै

डिल्लीराम खतिवडा

उदयपुर — पछिल्लो समय जिल्लामा परिवार नियोजनका अस्थायी साधनको प्रयोग घटेको पाइएको छ । गर्भपतनका औषधिको प्रयोग भने बढेको छ ।

अस्थायी साधन प्रयोग घट्दै

सुरक्षित गर्भपतनका नाममा जथाभावी गर्भपतनका औषधिको प्रयोगले पनि अस्थायी साधनको प्रयोग घटेको हो । त्यसैगरी मेडिकल एभर्सनले पर्ने असरको जानकारी नहुँदा महिला जोखिमा समेत परेका छन् ।

जथाभावी प्रयोगले स्वास्थ्यमा पार्ने असरको ज्ञान नहुँदा विशेष गरेर ग्रामीण महिलामा समस्या हुने गरेको छ ।


त्रियुगा नगरपालिकको दुर्गम खाँबुमा एउटी महिला र ३ पुरुषले मात्रै अस्थायी साधनको प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ । त्यो तथ्यांकलाई आधार मान्दा पनि अस्थायी साधनको प्रयोग घटदै गएको देखिन्छ ।


खाँबु क्षेत्रको बालबालिकासम्बन्धी बस्तुगत विवरण (प्रोफाइल) मा एउटी महिलाले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । ‘यो तथ्यांकले पनि साधनको प्रयोग घटदै गएको देखाउँछ,’ स्थानीय कुलबहादुर मगरले भने, ‘दुई वर्षअघिसम्म अस्थायी साधनको प्रयोग गर्नेको संख्या सयको हाराहारी थियो ।’ तर अहिले एक जना मात्रैले प्रयोग गरेको देखिनु भनेको झन्डै शतप्रतिशत घटेको उनले बताए ।


त्रियुगा नगरपालिका १५ खाँवुमा ४ हजार ९ सय ३१ जनसंख्यामध्ये १९ वर्षमाथिका १ हजार ३ सय ३३ महिला र २ हजार ४ सय ५२ पुरुष छन् ।

१९ वर्षमाथिका जनसंख्या मात्रै हेर्दा पनि १ सय १८ ले मात्रै अस्थायी साधन प्रयोग गर्नु भनेको घटदै जानु नै रहेको जनस्वास्थ्य अधिकारी बताउँछन् । अस्थायी साधनको प्रयोगप्रतिको सोचमा आएको परिर्वतनले पनि असर पारिरहेको ती अधिकारीको दाबी छ ।


त्रियुगामात्रै होइन चौडण्डिगढी, कटारी र वेलका नगरपालिकको अधिकांश वडामा समेत अस्थायी साधनको प्रयोग घटेको छ ।

नगरपालिकाको भन्दा चार गुणाले गाउँपालिकामा स्थायी साधन प्रयोग नगर्नेको संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डमा देखिन्छ । लिङचुवाङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकामध्ये लिङचुवाङ र रौतामाईमा अस्थायी साधनको प्रगोग गर्नेको संख्या नगन्य रहेको छ ।


अस्थायी साधन प्रयोग गर्नेको संख्या घटदै गएको छ । सहर बजारको तुलनामा पहाडी क्षेत्रमा यो संख्या घटदै जानुमा गर्भपतनका औषधिको प्रयोग बढेको छ । सर्वसुलभ तरिकाले ग्रामीण क्षेत्रमा समेत गर्भपतन गराउने औषधिको उपलव्धता पनि हो । ग्रामीण क्षेत्रमा स्वास्थ्य शिक्षाको पहुँच नहुँदा पनि साधन प्रयोग घटनुको असर भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बैदेशिक रोजगारीले पनि अस्थायी साधनको प्रयोग घटदै गएको विज्ञ बताउँछन् । खाँबुलाई मात्रै हेर्दा पनि २ सय ८६ भन्दा बढी युवा बैदेशिक रोजगारमा गएका छन् । त्यसैले पुरुष विदेश गएपछि अस्थायी साधन प्रयोग पनि घटेको स्वास्थ्यकर्मी बताउँछन् ।


‘अस्थायी साधनको प्रयोग घटने क्रममा छ,’ जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भने, ‘घटनुको कारण गर्भपत औषधिको अधिक प्रयोग, बैदेशिक रोजगारी, गर्भ निरोधकको पद्धतिको प्रयोगले पनि हो ।’

तर घटेको देखिनुको अर्को कारण निजी क्षेत्र र गैरसरकारी संस्थाले वितरण गर्ने अस्थायी साधन प्रयोग गर्ने बारे स्वास्थ्य कार्यालयलाई तथ्यांक नदिनु पनि एउटा कारण रहेको उनले बताए ।


बैदेशिक रोजगार, गर्भपतनका औषधि, चेतनामा कमी, साधनको सयममै उपलब्धता नहुनुजस्ता कारण भए पनि घटनुको कराण अध्ययन गर्नुपर्ने आवश्यक रहेको छ ।

अस्थायी साधनको प्रयोग कम हुँदै गए पनि जनसंख्या दर बढेको छ कि छैन, बढेको भए त्यसेपछि पार्ने असर र भविष्यमा अपनाउनुपर्ने रणनीतिका लागि अध्ययन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

प्रकाशित : असार २१, २०७५ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?