१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चोरिएका मोटरसाइकल सीमापारि

अर्जुन राजवंशी

दमक — झापाका विभिन्न क्षेत्रबाट चोरी गरिएका मोटरसाइकलहरू सीमापारि भारत लाने गरिएको पाइएको छ । इलाका प्रहरी कार्यालय दमकले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । 

चोरिएका मोटरसाइकल सीमापारि

नेपाल–भारत दुवैतर्फका युवाहरूको संलग्नतामा स्थानीय बजार क्षेत्रबाट चोरी गरिएका मोटरसाइकलहरू भारततर्फ लाने गरिएको हो । इप्रका दमकले मोटरसाइकल चोरी गरेर सीमापारि भारत लाने कार्यमा संलग्न मेचीनगर नगरपालिका १० धुलाबारीका १८ वर्षीय राज रसाइली र भारत पश्चिम बंगालको दार्जिलिङका १८ वर्षीय अभिशेख (मिन्ज) उरावलाई पक्राउ गरेको छ ।

इप्रका दमकका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले उनीहरूलाई पक्राउ गरेपछि थप गिरोहबारे अनुसन्धान अघि बढाएको बताए । उनका अनुसार असार १० गते दमक ५ यलम्बर चोकस्थित युवराज विकको मे६प ६५६१ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो ।


घरमा बैवाहिक कार्यक्रम रहेकाले बरन्डामा राखेको मोटरसाइकल राति चोरी भएको थियो । उक्त मोटरसाइकल दार्जिलिङका अभिशेख उरावले चोरी गरी भारतको पानीट्यांकी पुर्‍याएको डीएसपी गिरीले बताए । तर, चोरी गरी लाँदै गरेको मोटरसाइकल बाटोमा भारतीय प्रहरीको चेकिङ टोली देखेपछि राउवले सडक किनारमै छाडेर भागेका थिए । सडकमा बेवारिसे बनेको मोटरसाइकल दमक प्रहरीले भारतीय क्षेत्रबाट बरामद गरी ल्याउन सफल भएको छ ।


असार १३ गते राति दमक ७ स्थित आत्माज्ञान टोलका रोशन पाण्डेको मे९प ५९० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । प्रहरीका अनुसार उक्त मोटरसाइकल धुलाबारीका राज रसाइलीले चोरी गरी नेपाल–भारत सीमा क्षेत्र पार गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो । रसाइलीले मोटरसाइकल पूर्वपश्चिम राजमार्गदेखि ३ किलोमिटर उत्तरबाट मेची खोला पारगर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको डीएसपी गिरीले बताए ।


डीएसपी गिरीका अनुसार चालु वर्षमा दमक क्षेत्रबाट मात्र १७ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ११ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । नियन्त्रणमा लिइएकामध्ये ९ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको डीएसपी गिरीले बताए । दुइटा अनुसन्धानकै क्रममा छ ।


चोरी भएकामध्ये ६ वटा मोटरसाइकल अझै नभेटिएको प्रहरीले जनाएको छ । डीएसपी गिरीले नेपालबाट चोरी गरिएका मोटरसाइकल सीमापारि भारतमा लगेर पार्टपुर्जा निकालेर अन्य मेसिनरी सामानमा प्रयोग गर्ने गरेको बताए ।

प्रकाशित : असार २१, २०७५ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?