कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्प्युटर शिक्षाका लागि विद्यालयमा सोलार

अर्जुन राजवंशी

दमक — विद्यार्थीलाई नियमित कम्प्युटर शिक्षा प्रदान गर्न झापाका २५ विद्यालयमा वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको छ । विद्युत् आपूर्ति नहुने तथा भोल्टेज नपुग्ने समस्या समाधानका लागि विद्यालयमा सोलारबाट कम्प्युटर सञ्चालन गर्न थालिएको हो ।

कम्प्युटर शिक्षाका लागि विद्यालयमा सोलार

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा जिल्लाका विद्यालयहरूमा दुई चरणमा गरी सोलार प्यानल जोड्ने कार्य भइरहेको छ । केन्द्रले एउटा विद्यालयमा २ किलो ‘वाट’ विद्युत् उत्पादन हुने गरी सोलार प्यानल जडान गरिरहेको हो ।

प्रदेश १ का सांसद झलकसिंह दर्लामीको संयोजनमा ‘ग्रामीण विद्यालयमा गुणस्तर सुधार’ शीर्षकअन्तर्गत सोलार प्यानल जडान भइरहेको हो । उनका अनुसार पहिलो चरणमा १६ तथा अन्य विद्यालयमा दोस्रो चरणमा सोलार जडान गरिनेछ ।

पहिलो चरणमा शिवसताक्षी नगरपालिकाको लक्ष्मी नारायण मावि, झिलझिले मावि, राष्ट्रिय रमणीय मावि, भानु मावि र जनआदर्श मावि, गौरीगन्जको बाल कल्याण मावि, आदर्श र गौरीगन्ज मावि, झापा गाउँपालिकाको जनता मावि, कनकाई नगरपालिकाको चम्पापुर माविमा जडान गरिएको छ ।

यसैगरी, अर्जुनधाराको शनिश्चरे मावि, हल्दिबारी गाउँपालिकाको हल्दिबारी मावि, मेचीनगर नगरपालिकाको ज्यामिरगढी र जनता मावि, दमकको हिमालय मावि र लक्ष्मीप्रसाद देवकोटा माविमा सोलार प्यानल जडान गरिएको छ । विद्युत् नियमित नहुँदा तथा भोल्टेजको समस्याका कारण यी विद्यालयमा कम्प्युटर ल्याब नियमित चलाउन गाह्रो हुने गरेको थियो । सोलार प्यानल जडान भएपछि एउटा विद्यालयमा २५ वटा कम्प्युटर चलाउन सकिन्छ ।

सोलार प्यानलका लागि विद्यार्थी संख्या, कम्प्युटर ल्याब भएको, विद्यालयको भौतिक अवस्था एवं सोलार प्यानललाई नियमित संरक्षणसहित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका विद्यालयहरू छनोटमा परेको दर्लामीले बताए । ‘वैकल्पिक ऊर्जाका लागि सोलार प्यानल जडान गरिदिएपछि विद्यार्थीले नियमित रूपमा कम्प्युटर शिक्षा लिन पाएका छन् । उनीहरूलाई शिक्षकले पनि प्रोजेक्टरलगायत साधनबाट पठन पाठन गर्न सक्ने भएका छन्,’ दर्लामीले भने ।

प्रकाशित : असार २६, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?